२०८३ आश्विन १९ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले नेपाली कांग्रेसका सभापति गगन थापालाई जवाफ दिएका छन्।
सिंहले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत थापालाई नयाँ पार्टीका सभापति भन्दै आफूसहित पार्टी छाडेर जानेहरू यत्तिकै बाहिरिएका नभई पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि बाध्य भएर बाहिरिएको दाबी गरेका छन्। गत प्रतिनिधि सभा चुनावअघि अमरेशले कांग्रेस परित्याग गरेका थिए ।
सिंहले लेखेका छन्, ‘नयाँ पार्टीका सभापति ज्यू, यत्तिकै पार्टी छोडेर गएका होइनन्,’ ‘तपाईंहरूले पार्टीको जिम्मा ठग, भ्रष्टाचारी र ठेकेदारहरूको हातमा सुम्पिएपछि नै उनीहरू बाहिरिन बाध्य भएका हुन्।’
उनले कांग्रेसले आफूलाई ‘लोकतन्त्र ल्याउने पार्टी’ भन्दै गर्व गर्ने गरेको उल्लेख गर्दै अहिले पार्टीको यो अवस्थाको जिम्मेवारी कसले लिने भन्ने प्रश्न गरेका छन्।
सिंहले इतिहासको गौरव गाएर मात्र नहुने भन्दै वर्तमानको अवस्थाको जिम्मेवारी पनि लिन सक्नुपर्ने बताएका छन्। लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने र त्यही पार्टीको जग आफैँ भत्काउने कार्यलाई विडम्बना भएको टिप्पणी गरेका छन्।
‘लोकतन्त्र ल्याएको पार्टीको नाम बेचेर राजनीति गर्ने, अनि त्यही पार्टीको जग आफैँ भत्काउने– योभन्दा ठूलो विडम्बना अरू के होला रु’ सिंहले लेखेका छन्। कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा थापाले राखेको धारणामा अमरेशले जवाफ फर्काएका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij