२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली फायर हुँदा बुटवलका एक युवक घाइते भएका छन् । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पेस्तोल र गोलीसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार देवदह नगरपालिका–५ मा ४२ वर्षीय दीपक खरेलले पेस्तोलबाट एक राउन्ड गोली फायर गरेका थिए ।
गोली फायर हुँदा बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन् । गोली लाग्दा उनको दाहिने गालाको छाला च्यात्तिएको प्रहरीले जनाएको छ । घाइते खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी खैरेनीबाट खटिएको टोलीले खरेलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा ४२ वर्षीय दीपक खरेल, ३८ वर्षीय कमल शर्मा र १८ वर्षीय अमृत खरेल रहेका छन् ।प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij