२०८३ आश्विन १८ गते आइतवार
काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकाबाट १० वर्षीया बालिकालाई अपहरण गरी जंगलमा लुकाएर राखेको आरोपमा प्रहरीले युवकलाई गोली हानेर नियन्त्रणमा लिएको छ । तिलोत्तमा नगरपालिका–१७, दरखसवाका २७ वर्षीय विशाल भनिने युवराज थारुलाई आइतबार राति जंगलबाट पक्राउ गरिएको हो ।
बालिका अपहरणपछि फरार थारुलाई खोजी गर्ने क्रममा प्रहरीले उनलाई तिलोत्तमाकै कान्छी बजारस्थित जंगलबाट नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा थारुले प्रहरीमाथि नै आक्रमण गर्न खोजेपछि एक राउन्ड गोली चलाइएको थियो । गोली लागेर उनको खुट्टामा चोट लागेको छ । उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
थारुमाथि बुधबार राति तिलोत्तमाकी १० वर्षीया बालिकालाई घरभित्र सुतिरहेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ । राति करिब २ बजेतिर बालिकालाई कपडा ओढाइदिन उनकी हजुरआमाले खोज्दा नभेटाएपछि हल्लाखल्ला भएको थियो । परिवारमा हल्ला भएपछि छिमेकीले तत्काल प्रहरीलाई खबर गरिदिएको थियो ।
बालिका हराएको सूचना पाएलगत्तै प्रहरीले बिहीबार बिहानदेखि गाउँ आसपास तथा स्थानीय जंगल क्षेत्रमा खोजी सुरु गरेको थियो । खोजीका क्रममा अपहरणमा संलग्न व्यक्तिको पहिचान गर्ने आधार प्रहरीले फेला पारेको थियो ।
प्रहरीले शुक्रबार साँझ ७ बजे कान्छी बजारस्थित जंगलबाट बालिकालाई अपहरण भएको करिब ३८ घण्टापछि सकुशल उद्धार गरेको थियो । बालिका उद्धार गरिए पनि घटनामा संलग्न थारु भने त्यसबेलासम्म फरार थिए ।
बालिका उद्धार गरिएको स्थानमा भेटिएको मोबाइल फोनका आधारमा प्रहरीले अपहरणमा संलग्न व्यक्तिको पहिचान गरेको जनाएको छ । त्यसपछि थारुको खोजी तीव्र बनाइएको थियो । जंगलमै लुकेर बसेको आशंकामा प्रहरीले निरन्तर खोजी गरिरहेको थियो । सोही क्रममा आइतबार राति करिब १ बजे थारुलाई जंगलबाट नियन्त्रणमा लिइएको हो । प्रहरीले बालिका सकुशल रहेको र हाल आफ्नो सुरक्षामा रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाका काका जितेन्द्र मल्लाहका अनुसार भतिजीका बुवाआमा सामान्य मजदुरी हुन् । ‘दाइ घरको मजदुरी काम गर्छन्, भाउजू घरमै काम गर्छन्, बच्चा हजुरबुवाआमा .मेरो बुवाआमा) सँग बस्ने गर्दथे । दाइभाउजूका एक छोरा र चार छोरी हुन् । अहिले अपहरणमा पर्ने जेठी हुन्,’ उनले भने, ‘दाइ लेबर काम गर्ने र भाउजू गृहिणी हुन् । म पनि काममा गएको थियो । भारतमा आफन्त बितेर परिवार भेट्न गएकाले अपहरणमा पर्ने दिन ढिलो आएको थियो, राति सुतेको बेला मेरो आमाले बच्चा हराएको सूचना पाएपछि कराउनुभयो । गाउँको केटाहरु २ जना आएको रहेछ । तन्नासहित नै लगेका रहेछन् । त्यो केटाहरु यस्तै लुटेर खाने, अपराध गर्ने खराब सोच भएको मान्छे हो ।’
त्यसो त अपराधीको कब्जाबाट सकुशल मुक्त भएकी बच्चीले नेपाली भाषा राम्रोसँग बोल्न सक्दिनन् । त्यति सानो उमेरमा ३८ घन्टा जंगलमा बस्दा उनको स्वभाव नै फेरिएको छ । प्रहरी सुरक्षामा रहेको आश्रयस्थलमा बसेकी उनको स्वास्थ्यको अन्य समस्या केही छैन । उनले आफ्नै भाषामा जंगलमा लगेका ती मान्छेलाई आफूले नचिनेको र कपडा खोलेर नराम्रो काम गरेको बताइन् । प्रहरीले उनलाई फेला पारेपछि स्वास्थ्य जाँच पनि गराएको र त्यति धेरै समस्या नदेखिएको जनाएको छ ।
घटनाको अध्ययन गरेका इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवले निकै ठूलो मेहनतले बालिकालाई सकुशल उद्दार गरेको जनाएका छन् ।
‘हामीले सूचना पाएपछि पहिलो ध्यान नै बालिकाको सकुशल उद्दारमा दिएका थियौं, अपहरणकारी आपराधिक सोचको भएकाले गलत निर्णय गर्नसक्ने डर धेरै थियो, त्यसमाथि मादक पदार्थ सेवन गरेकाले पनि जंगलमा पुगेपछि उ निदाएको आंकलन गरियो, प्रहरीलाई स्थानीयले पनि साथ दियो,’ उनले भने, ‘सबैतिरबाट घेराउ गरेपनि बालिका छाडेर भाग्यो तर उसलाई शुक्रबार पक्राउ गर्न सकिएन, शनिबार पनि उसको सबै लोकेसन खोजेर पक्राउ गर्न खोज्दा भागेपछि गोली हानेर पक्राउ गरिएको हो, अहिले उपचारकै क्रममा छ, सबैको साथले यो सफलता पाएका हौँ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij