२०८२ भाद्र २५ गते बुधवार
म्यान्मारका सेनाले किनमा क्षेत्रको एउटा गाउँमा आगो लगाइदिएका छन् ।
बीबीसीका अनुसार सेनाले आगो लगाउँदा २ सयदेखि २४० घर जलेर नष्ट भएका छन् । सो क्रममा दुई वृद्ध भाग्न नसक्दा डढेर उनीहरुको मृत्यु भएको जनाइएको छ ।
सैन्य शासनको विरुद्धमा सो गाउँमा रहेका केही संख्याका बन्दुकधारीसँग गोलाबारी भएपछि सेनाले रुष्ट हुँदै गाउँमै आगजनी गरेका हुन् । म्यान्मारका लागि बेलायती राजदूत डान चुगले सेनाको यो दमनको घोर निन्दा गरेका छन् ।
उनले फेसबुकमा भनेका छन्,‘जुन्ताले मागवेको एउटा गाउँ पुरै जलाएको खबर छ । वृद्ध मानिसको हत्या हुनुले सेनाले गम्भीर अपराध गरिरहेको पुष्टि हुन्छ ।’
गत फेब्रुअरी १ देखि म्यान्मारमा सैन्य शासन लागू भएको छ । लोकतान्त्रिक नेतृ आङ साङ सुचीको पार्टी एनएलडीले नोभेम्बरमा सम्पन्न चुनावमा धाँधली गरेर बहुमत ल्याएको आरोप लगाउँदै सेनाले सत्ता हत्याएको थियो ।
यतिबेला सूची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरु नजरबन्दमा छन् । सुचीलाई जेल हाल्ने हेतुका साथ सेनाले विभिन्न आरोपहरु लगाएका छन् । त्यो मुद्दाहरुमा यतिबेला अदालतमा बहस भइरहेको छ ।
सेनाका अनुसार आरोपहरु पुष्टि भएमा सुची १५ वर्षसम्म जेल जान सक्छिन् । जनताकै हितको लागि र देशको प्रणाली व्यवस्थित बनाउँछौं भन्दै सेनाले सत्ता हातमा लिएका थिए । तर यतिबेला सेनाले त्यहाँका जनतामाथि गोली हानिरहेका छन्, उनीहरुको घर जलाईरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij