२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । सन् २०२६ को सेप्टेम्बरमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२.१ प्रतिशतले बढेको छ। नेपाल पर्यटन बोर्डले अध्यागमन विभागको तथ्याङ्कमा आधारित भएर सार्वजनिक गरेको विवरणअनुसार सेप्टेम्बरमा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन्।
सन् २०२५ को सेप्टेम्बरमा ७८ हजार ७११ पर्यटक नेपाल आएका थिए। गत वर्षको तुलनामा यस वर्ष ९ हजार ५३७ पर्यटक बढी आएका हुन्।
क्षेत्रगत रूपमा दक्षिण एसियाली बजारबाट पर्यटक आगमन उल्लेख्य बढेको छ। सेप्टेम्बरमा सार्क राष्ट्रबाट ३० हजार ८५ पर्यटक आएका छन्, जुन कुल आगमनको ३४.०९ प्रतिशत हो। यो अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशत बढी हो। भारतबाट मात्रै १७ हजार ४२५ पर्यटक आएका छन् भने श्रीलङ्काबाट ७ हजार १०८ र बङ्गलादेशबाट ३ हजार ९६४ पर्यटक आएका छन्।
सार्कबाहेकका एसियाली मुलुकबाट आउने पर्यटकमा पनि उल्लेख्य वृद्धि भएको छ। यस क्षेत्रबाट १९ हजार ८८८ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ५८ प्रतिशत बढी हो। चीनबाट ११ हजार २१२ पर्यटक आएका छन्। गत वर्ष सोही महिनामा चीनबाट ५ हजार २३७ पर्यटक आएका थिए।
तर, युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटक घटेका छन्। युरोपबाट १५ हजार १४८ पर्यटक आएका छन्, जुन ८.७ प्रतिशतले कमी हो। अमेरिकाबाट १० हजार १०७ र ओसियानाबाट ५ हजार ४२२ पर्यटक आएका छन्। अमेरिकाबाट आउने पर्यटक १२.३ प्रतिशत र ओसियानाबाट आउने पर्यटक २९ प्रतिशतले घटेका छन्।
मध्यपूर्वबाट भने ११.९ प्रतिशत वृद्धि हुँदै २ हजार ६०६ पर्यटक नेपाल आएका छन्। अफ्रिकाबाट ४२४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.३ प्रतिशत बढी हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij