Logo

२०८३ आश्विन १५ गते बिहिवार

२०८३ आश्विन १५ गते बिहिवार

दशैँमा १५ लाख यात्रु व्यवस्थापनको चुनौती, सडकदेखि सवारीसम्म तयारी तीव्र

दशैँमा १५ लाख यात्रु व्यवस्थापनको चुनौती, सडकदेखि सवारीसम्म तयारी तीव्र


  • 393
    Shares

    दशैँमा १५ लाख यात्रु व्यवस्थापनको चुनौती, सडकदेखि सवारीसम्म तयारी तीव्र
    images

    काठमाडौं । यस वर्षको दशैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप व्यवस्थापन सरकारका लागि चुनौतीपूर्ण देखिएको छ। पछिल्ला चार–पाँच महिनादेखि सवारी दर्ता प्रक्रियामा आएको अवरोधका कारण विगतका वर्षमा जस्तो नयाँ सार्वजनिक सवारी थपिन नसकेपछि मौजुदा सवारीसाधनबाटै यात्रु व्यवस्थापन गर्नुपर्ने अवस्था आएको हो।

    प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले तयार गरेको ‘२०८३ दशैँ पर्वका लागि सार्वजनिक यातायातको यात्रा व्यवस्थापन सम्बन्धी प्रतिवेदन’ अनुसार दशैँमा सार्वजनिक यातायातबाट मात्रै उपत्यकाबाट ६ लाख ५० हजारदेखि ९ लाख ७५ हजार यात्रु बाहिरिने अनुमान गरिएको छ। निजी तथा अन्य सवारीसमेत जोड्दा यात्रुको संख्या १० देखि १५ लाखसम्म पुग्न सक्ने प्रतिवेदनमा उल्लेख छ।

    समितिका अनुसार यात्रुको चाप फूलपातीदेखि अष्टमीसम्म सबैभन्दा बढी हुनेछ। उक्त तीन दिनमा दैनिक २ देखि ३ लाख यात्रु उपत्यकाबाट बाहिरिने अनुमान छ। तीमध्ये करिब ५५ प्रतिशत सवारी नागढुंगा हुँदै नारायणगढतर्फ जानेछन्। यात्रुको चाप व्यवस्थापनका लागि अधिकतम ६५ हजार ३ सय ६१ ट्रिपसम्म सार्वजनिक सवारी सञ्चालन गर्नुपर्ने देखिएको छ।

    सडक पूर्वाधार मुख्य चुनौती

    बाढीपहिरोका कारण भोटेकोशी, रोशी खोला, झाप्ले खोला लगायतका सडक तथा पुलमा पुगेको क्षतिले दशैँ यात्रा थप जोखिमपूर्ण बनेको समितिको निष्कर्ष छ। अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, गल्छी–त्रिशूली र नागढुंगा–मुग्लिन सडकखण्डका संवेदनशील स्थानमा २४ घण्टा उद्धार टोली र हेभी उपकरण तयारी अवस्थामा राख्न समितिले सुझाव दिएको छ।

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले सडकको अवस्था भरपर्दो नभएसम्म अग्रिम टिकट खोल्न कठिन हुने बताएका छन्। उनका अनुसार लामो समयदेखि सवारी सञ्चालन प्रभावित हुँदा व्यवसायीहरू आर्थिक दबाबमा छन्। उनले कर्जा पुनर्तालिकीकरण र पुनर्कर्जाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

    १० स्थानमा सहायता कक्ष

    दशैँको भीड व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका १० स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ। नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा, कोटेश्वर, बल्खु, जगाती, चापागाउँ, फर्पिङ र चाबहिलमा स्थापना हुने सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी, यातायात व्यवस्था विभाग र व्यवसायीका प्रतिनिधि रहनेछन्।

    समितिले बढी भाडा असुली, दोहोरो टिकट, ओभरलोडिङ तथा यात्रुका गुनासा तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। यात्रुको चाप अत्यधिक भए नगर बस, विद्यालय तथा कलेजका बस र सुरक्षा निकायका सवारीसाधनसमेत वैकल्पिक रूपमा परिचालन गर्न सुझाव दिइएको छ।

    लामो दूरीका सवारीमा दुई चालक, मेकानिकल परीक्षण र चालकको स्वास्थ्य जाँच अनिवार्य गर्नसमेत समितिले सिफारिस गरेको छ। प्रतिवेदन बुझ्दै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दशैँअघि सडक मर्मतलाई तीव्र बनाउँदै सम्बन्धित निकायबीच समन्वय गरेर सुरक्षित यात्रा सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन्।

    प्रकाशित मिति :आश्विन १५ २०८३ बिहिवार - ११:१३:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij