२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी आवागमनलाई सुरक्षित, प्रविधिमैत्री र व्यवस्थित बनाउन अत्याधुनिक ट्राफिक लाइट जडानको कामले तीव्रता पाएको छ । सडक डिभिजन कार्यालयको प्राविधिक सहयोग र बजेटमा अगाडि बढेको यस आयोजनाको हालसम्म ५० प्रतिशतभन्दा बढी काम सकिएको छ ।
असोज २० गतेभित्रै बत्ती बालेर केही चोकमा लाइट सञ्चालनमा ल्याउने लक्ष्य राखिएपनि लगातारको वर्षाका कारण उच्च भोल्टेज (हाइटेन्सन) लाइनको विद्युतीय काम प्रभावित हुँदा केही ढिलाइ भएको छ । यद्यपि, मौसममा सुधार आएसँगै दसैँअघि नै ६ वटै चोकका बत्ती पूर्ण रूपमा बालेर सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।
आयोजनाका मुख्य प्राविधिक एवं साइट इन्जिनियर धिरज राउतका अनुसार कुल ६२ देखि ६६ वटा पोलहरूमध्ये हालसम्म ५० प्रतिशतभन्दा बढीमा काम सम्पन्न भइसकेको छ । नारायणगढको मुख्य प्रवेशद्वार पुल्चोकमा भने चाँडै बत्ती बालेर परीक्षण सञ्चालन गर्ने तयारी छ ।
६ मिटर आर्म भएका ७ मिटर अग्ला ‘भेक्युलर पोल’ र पैदलयात्रीका लागि सीधा ‘पेडेस्ट्रियन पोल’ प्रयोग गरिएको छ । यस आयोजनामा पारस बसपार्क क्षेत्रको काम सकिएलगत्तै बाँकी करिब ३० वटा पेडेस्ट्रियन पोल जडानको काम दुईदेखि तीन दिनभित्र भरतपुरभर नै सक्ने लक्ष्य छ । हाल मिटर हाल्ने, काउन्टर र कन्ट्रोल बक्स जोड्ने जस्ता अन्तिम चरणका काम भइरहेका छन् ।
यस आयोजनाअन्तर्गत भरतपुरका ६ वटा मुख्य चोकहरू पुल्चोक, सहिदचोक, चौबिसकोठी, हाकिमचोक, पारस बसपार्क र मालपोत चोक समेटिएका छन् । काउन्टर प्रणालीमा आधारित यी अत्याधुनिक बत्तीहरूले सीधा, दायाँ र बायाँ मोड्ने सवारीसाधनका साथै पैदलयात्रीका लागि समेत स्पष्ट सङ्केत प्रदान गर्नेछन् । यी बत्तीहरूको सञ्चालन र अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालयको कन्ट्रोल रुमबाटै कम्प्युटर प्रविधिको सहायताले गरिनेछ र कुन चोकमा कति सेकेन्ड बत्ती बाल्ने भन्ने कुराको नियन्त्रण र नियमन मिलाइनेछ।
कुल १ करोड २३ लाख रुपैयाँमा एभरेस्ट टु सी – अमरज्योति जेभीले २०८२ साउन २० मा ठेक्का पाएको थियो । सम्झौताअनुसार चैत २० सम्ममा काम सक्नुपर्ने थियो । तोकिएको म्यादभित्र काम सम्पन्न हुन नसकेपछि नियमअनुसार गत वैशाखदेखि निर्माण कम्पनीलाई दैनिक ५ हजार रुपैयाँका दरले जरिवाना समेत तिराउँदै कामलाई अगाडि बढाइएको सडक डिभिजन कार्यालयअन्तर्गत सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख इन्जिनियर राकेश महर्जनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij