२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । स्वपाका सांसद ज्ञानेन्द्रसिंह महताले संसद बैठकमा कञ्चनपुर दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिको बिषय उठाएका छन् ।
बुधबार बसेको बैठकमा कञ्चनपुर–३ बाट निर्वाचित सांसद महताले मंगलबारराती करिब ११ बजे महाकाली नदीमा आएको बाढीको भँगालोले पुलको बीच भागमा रहेको टावर ब्लक तथा स्पर क्षेत्रमा क्षति पुर्याउँदा करिब ७५ मिटर भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको बताए ।
उक्त झोलुङ्गे पुलमा क्षति भएपछि पुलबाट हुने दुईतर्फी आवागमन पूर्ण रूपमा बन्द भएको उनले बताए । उनले तत्काल प्राविधिक टोली खटाई पुलको विस्तृत अध्ययन, पुनर्निर्माण तथा संरचनागत सुरक्षाको जाँच गरी यथाशीघ्र आवागमन सञ्चालन गर्न माग गरे ।
साथै सांसद महताले भविष्यमा महाकाली नदीको बाढी र कटानबाट पुल तथा आसपासका संरचनालाई जोगाउन आवश्यक तटबन्ध, नदी नियन्त्रण तथा दीर्घकालीन कार्यका लागि बजेट र प्रक्रिया सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराए ।
कञ्चनपुर–३ अन्तर्गत पर्ने दोधारा चाँदनीका नागरिकले सदरमुकाम महेन्द्रनगर पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता अन्त्य गर्न २०६१ सालमा झोलुङ्गे पुल निर्माण गरिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij