२०८३ आश्विन १५ गते बिहिवार
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले बाढीपहिरोले बागलुङ र म्याग्दीमा निम्त्याएको अकल्पनीय क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा असोज ८ देखि ११ गतेको भीषण बाढीले बागलुङमा मात्र १३ जनाको ज्यान गएको छ भने भौतिक संरचना ध्वस्त हुँदा हजारौं नागरिक आधारभूत सेवाबाट वञ्चित भएका छन् । संसदको शुन्य समयमा बोल्दै सांसद शर्माले प्राकृतिक विपत्तिबाट बागलुङ र म्याग्दीका विभिन्न पालिका नराम्ररी प्रभावित भएको बताएका छन् । विशेषगरी ताराखोला, निसीखोला, तमानखोला, ढोरपाटन, बडिगाड र गल्कोट क्षेत्रमा बाढी र हावाहुरीले भौतिक संरचना पूर्ण रूपमा क्षति पु¥याएको छ ।
उनकाअनुसार सयौं घर, गोठ र खेतीयोग्य जमिन बगरमा परिणत भएका छन् । विपत्तिपछि पाँच दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा टेलिफोन, विद्युत, खानेपानी र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छन् । सञ्चार सम्पर्क टुटेका कारण धेरै स्थान अझै पनि सम्पर्कविहीन अवस्थामा रहेको सांसद शर्माले जानकारी गराएका छन् । स्थानीयस्तरमा दैनिक उपभोग्य वस्तुको अभाव चुलिएकाले जनजीवन कष्टकर बनेको छ ।
उनले सरकारले भोटेकोशी बाढीको समयमा उपलब्ध गराएको जस्तै राहत प्याकेज बागलुङका लागि पनि घोषणा गर्नुपर्नेमा जोड दिएका छन् । तत्काल सडक र सञ्चार पुनस्र्थापना गर्दै प्रभावितलाई राहत उपलब्ध गराउन उनले सरकारसँग माग गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij