२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । उपचारका क्रममा १४ वर्षीया दीपिका तामाङको मृत्यु भएपछि आक्रोशित आफन्तले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड गरेका छन्।
धरान उपमहानगरपालिका–१५ की दीपिका पेट दुख्ने समस्या भएपछि मंगलबार बिहान प्रतिष्ठानमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा मंगलबार राति साढे ८ बजे उनको मृत्यु भएको थियो। मृत्युको खबरपछि आफन्तले उपचारमा संलग्न चिकित्सकको लापरबाहीका कारण घटना भएको आरोप लगाउँदै निर्देशक कार्यालय, बिल काउन्टर र आर्थिक प्रशासन शाखामा तोडफोड गरेका हुन्।
दीपिकाका दाजु भूपेन्द्र तामाङले बच्चा वार्डमा कार्यरत चिकित्सकको लापरबाहीका कारण बहिनीको मृत्यु भएको आरोप लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्।
तर प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले स्वास्थ्य प्रोटोकलअनुसार नै उपचार गरिएको दाबी गरेका छन्। उनका अनुसार चिकित्सकको उपचारका कारण नभई बिरामीमा देखिएको जटिल स्वास्थ्य समस्याका कारण मृत्यु भएको हो। उपचारका क्रममा दीपिकाको मुटुमा समस्या देखिएको र सिटी स्क्यान गर्नसमेत कठिनाइ भएको उनले बताए।
घटनापछि प्रतिष्ठान परिसरमा तनाव उत्पन्न भएपछि मृतकका आफन्त र प्रशासनबीच वार्ता भएको थियो। वार्तामा प्रतिष्ठानका निर्देशक इन्द्र लिम्बू, उपचारमा संलग्न चिकित्सक तथा नर्सलगायत सहभागी थिए।
आफन्तले उपचारमा संलग्न चिकित्सक टोलीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, सम्पूर्ण उपचार खर्च प्रतिष्ठानले व्यहोर्नुपर्ने, तोडफोडमा संलग्नलाई कारबाही नगर्नुपर्ने र मृतकका परिवारलाई आजीवन निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
मागका विषयमा थप छलफल गर्ने सहमति भएपछि तत्कालका लागि वार्ता टुंगिएको छ। दिउँसो २ः३० बजे पुनः वार्ता गर्ने सहमति भएको जनाइएको छ।
प्रतिष्ठानले दीपिकाको मृत्युको कारण र उपचारमा चिकित्सकीय लापरबाही भए–नभएकोबारे छानबिन समिति गठन गर्ने जनाएको छ। छानबिनपछि मात्रै घटनाको वास्तविक अवस्था स्पष्ट हुने प्रतिष्ठानको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij