२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगर जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुलमा भएको क्षतिबारे सरकारले प्राविधिक अध्ययन थालेको छ। पुलको एउटा स्पान र बीचको टावर नदीमा खसेपछि पुलमा पूर्णरूपमा आवतजावत बन्द गरिएको छ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार बुधबार बिहान पुल ‘डिसब्यालेन्स’ भएको सूचना पाएपछि सुरक्षाकर्मी परिचालन गरी तत्काल आवतजावत रोकिएको थियो। करिब ८ बजेतिर पुलको एउटा भाग नदीमा खसेको उनले बताए।
क्षतिको कारण पत्ता लगाउन सुदूरपश्चिम प्रदेशको यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार निर्देशनालयबाट प्राविधिक टोली बोलाइएको छ। टोलीले स्थलगत निरीक्षण गरी पुल क्षतिग्रस्त हुनुको कारणबारे अध्ययन गर्नेछ।
प्राविधिक प्रतिवेदनपछि पुलको मर्मत तथा पुनः सञ्चालनको प्रक्रिया अघि बढाइने जनाइएको छ। प्रदेशको क्षमताभित्र रहे प्रदेशबाटै काम अघि बढाउने र आवश्यक परे संघीय सरकारसँग समन्वय गरिने प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए।
पुलको अवस्था जोखिमपूर्ण रहेकाले सर्वसाधारणलाई घटनास्थलमा गएर पुल हेर्न वा भिडियो खिच्न नजान प्रशासनले आग्रह गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij