२०८३ आश्विन १४ गते बुधवार
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन्। बुधबार सिंहदरबारमा बसेको बैठकमा कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानव अधिकार अवस्थासम्बन्धी उपसमितिको प्रतिवेदनमाथि छलफल भइरहेका बेला उनी बैठकबाट बाहिरिएकी हुन्।
सांसद सिद्धिकीले बैठक सञ्चालनमा सभापतिले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको भन्दै असहमति जनाएर बाहिरिएको बताइन्। उनका अनुसार बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद स्मृति सेञ्चुरीले आफ्नो नाम लिएर गालीगलौज गरे पनि सभापतिले त्यसलाई रोक्न नसकेपछि उनले बैठक बहिस्कार गरेकी हुन्।
सिद्धिकीले उपसमितिको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा गम्भीर अपराध गरेका बाहेक अन्यलाई कानुनी प्रक्रियाअनुसार थुनामुक्त गर्ने विषयमा पनि असहमति जनाएकी छन्। अपराधमा संलग्न व्यक्तिलाई सजायको व्यवस्था नगरी छाड्दा भविष्यमा समस्या आउन सक्ने उनको भनाइ छ।
सहकारी ठगीमा संलग्न व्यक्तिलाई जेलबाहिर राखेर पीडितको रकम फिर्ता गराउने विषयमा पनि उनले प्रश्न उठाएकी छन्। त्यस्तै, कारागारमा कैदीबन्दीबाटै नाइके चयन गर्ने प्रस्तावप्रति पनि आफ्नो असहमति रहेको उनले बताएकी छन्।
बैठकमा प्रतिवेदनका विभिन्न विषयमा छलफल भइरहेका बेला सिद्धिकीले आफ्ना असहमति राखेर बाहिरिएपछि बैठकको छलफल भने निरन्तर अघि बढेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij