२०८३ आश्विन ८ गते बिहिवार
काठमाडौं । नेकपा एमालेको चार दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले २२ बुँदे समसामयिक निर्णय गरेको छ। ललितपुरको भनिमण्डलमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गर्दै पार्टी संगठनदेखि समसामयिक राजनीतिक विषयसम्मका निर्णय गरेको हो।
बैठकले पूर्वराष्ट्रपति तथा पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरेको छ। यस्तै, ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र देवराज घिमिरेसहित सात जनालाई स्थायी कमिटी सदस्य तथा २० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको छ।
एमालेले भोटेकोशीमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावकारी उद्धार, राहत र पुनर्स्थापनाको माग गरेको छ। सुरुङमा फसेका प्राविधिकको उद्धारमा विदेशी सहयोग नलिने सरकारी नीतिको समेत बैठकले आलोचना गरेको छ।
बैठकले नयाँ सरकार गठनपछि अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलमाथि राजनीतिक प्रतिशोधका आधारमा कदम चालिएको आरोप लगाउँदै त्यसको भर्त्सना गरेको छ। भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन तथा विगतका प्रतिवेदन सार्वजनिक गर्न माग गरिएको छ।
त्यसैगरी, सुकुम्बासी बस्तीमा डोजर चलाएर नागरिक विस्थापित गर्ने कार्य रोक्न, संविधान संशोधनका नाममा आधारभूत संरचना कमजोर नबनाउन तथा ट्रेड युनियन, स्ववियु र सञ्चारमाध्यमको स्वतन्त्रता कायम राख्न एमालेले आग्रह गरेको छ।
महँगी, ग्यास अभाव र चर्को करको विषयमा समेत सरकारको ध्यानाकर्षण गराउँदै बैठकले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति चिन्ता व्यक्त गरेको छ।
पार्टीभित्र भावनात्मक एकता सुदृढ भएको निष्कर्ष निकाल्दै बैठकले पोलिटब्युरो, सल्लाहकार परिषद् र विभाग गठनको अधिकार केन्द्रीय सचिवालयलाई दिएको छ। साथै, समग्र पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न आह्वान गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij