२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभर पालिका तहका अधिवेशनको प्रक्रिया अघि बढेको छ। पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ५८ जिल्लाका ५१२ पालिकामा अधिवेशनसम्बन्धी प्रक्रिया सुरु भइसकेको छ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार पालिका तहको अधिवेशन वडा तहको तुलनामा बढी जटिल हुने भएकाले निर्वाचन तथा नतिजा सार्वजनिक गर्न केही समय लाग्नेछ। पालिका तहमा विभिन्न समूहबीच सहमति जुटाउन कठिन हुने भएकाले धेरै स्थानमा निर्वाचनमार्फत नेतृत्व चयन हुने सम्भावना रहेको समितिको भनाइ छ।
उनका अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि सबै पक्षबीच सहमति कायम गर्न समय लाग्ने गरेको छ। निर्वाचन हुने स्थानमा मतदान, मतगणना तथा परिणाम सार्वजनिक गर्ने प्रक्रिया पूरा गर्नुपर्ने भएकाले सबै ठाउँको नतिजा एकैपटक आउन सम्भव नहुने उनले बताए।
समितिले अधिकांश स्थानमा अधिवेशनको तयारी अघि बढाइरहेको जनाएको छ। केही जिल्ला तथा पालिकामा प्राविधिक र प्रशासनिक कारणले प्रक्रिया बाँकी रहेकाले त्यस्ता स्थानमा पनि आवश्यक तयारी तीव्र पारिएको छ।
निर्वाचन समितिका अनुसार अधिवेशन सम्पन्न भएसँगै क्रमशः नतिजा सार्वजनिक हुँदै जानेछ। कांग्रेसको १५औँ महाधिवेशनका लागि वडा तहपछि अहिले पालिका तहका अधिवेशनलाई प्राथमिकताका साथ अघि बढाइएको हो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij