२०८३ आश्विन ७ गते बुधवार
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस ऐतिहासिक रूपमै युवाहरूको पार्टी रहेको बताएका छन्।
नेपाली कांग्रेस बुटवल नगरसमितिको अधिवेशन उद्घाटन समारोहमा बोल्दै खाणले कांग्रेसको इतिहास र निर्माण प्रक्रियाबारे जानकारी नभएकाहरूले मात्र पार्टीलाई ‘वृद्धहरूको पार्टी’ भन्ने गरेको टिप्पणी गरे।
उनले कांग्रेसको स्थापना नै ऊर्जावान् युवाहरूको वैचारिक तथा क्रान्तिकारी आन्दोलनबाट भएको दाबी गरे। कांग्रेसका संस्थापक नेता बीपी कोइराला देशको गृहमन्त्री बन्दा ३६ वर्षको रहेको र कृष्णप्रसाद भट्टराई २५ वर्षकै उमेरमा संसद्को पहिलो सभामुख बनेको उदाहरण उनले प्रस्तुत गरे।
खाणका अनुसार पार्टीको नेतृत्वमा विभिन्न समयमा वृद्ध नेताहरू देखिए पनि कांग्रेसको संगठन र भुइँतहमा युवाहरूको भूमिका सधैँ महत्वपूर्ण रहँदै आएको छ।
पछिल्लो समय कांग्रेसभित्र देखिएको रूपान्तरणको बहस उल्लेख गर्दै उनले पार्टीको नेतृत्व स्वाभाविक रूपमा युवाको काँधमा पुग्ने क्रम सुरु भएको बताए। यो प्रक्रिया अब नरोकिने उनको दाबी छ।
उनले गतिशील नेतृत्व, स्पष्ट नीति र आन्तरिक एकताका आधारमा गगन थापाको नेतृत्वमा कांग्रेस फेरि देशको बलियो र भरोसायोग्य राजनीतिक शक्ति बन्ने दाबीसमेत गरे।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij