२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । दूधलाई खाद्यवस्तुका रूपमा मात्र नभई शुद्धता, शक्ति र पोषणको अकाट्य स्रोतका रूपमा लिइन्छ । हरेक दिन बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एक गिलास दूध पूर्ण आहार मानेर ढुक्कसँग पिउन दिइने गरिन्छ ।
घर मात्रै नभई साना चियापसलदेखि ठूला क्याफे तथा तारे होटलसम्म पनि ठूलो परिमाणमा दूध प्रयोग र खपत हुन्छ । तर, पछिल्लो समय सरकारी निकायका प्रतिवेदन र प्रयोगशालाका परीक्षणहरूले बाहिर ल्याएको तथ्यले दूधका माध्यमबाट हाम्रो भान्सामा ‘मन्द विष’ भित्रिरहेको देखाउँछ ।
अनुगमन क्रममा दूध लामो समयसम्म नफाटोस् भन्ने उद्देश्यले सोडा लगायत घातक रसायन मिसाइएको पाइएको थियो । बुटवलका विभिन्न डेरीमा दूध आपूर्ति गर्ने १२ वटा सप्लायर्समध्ये १० वटाको दूधमा यस्ता रसायन मिसावट पुष्टि भएको थियो । साथै, परीक्षण गरिएका नमुनामा दूधमा हुनुपर्ने आवश्यक फ्याट र एसएनएफको मात्रा समेत निकै कम पाइएको थियो ।
बजारमा उपलब्ध दूध धेरै समयसम्म नबिग्रिने बनाउन र अत्यधिक नाफा कमाउनका लागि केही दुग्ध उद्योगी र संकलकहरूले मानव स्वास्थ्यमाथि गम्भीर अपराध गरिरहेका छन् । नेपाली बजारमा प्राकृतिक दूधको बदलामा कृत्रिम दूध तयार गरी बिक्री–वितरण भइरहेको भेटिएको छ ।
बजारमा प्याकेटको दूधभन्दा खुल्ला वा टुप्पी बाँधेर आउने दूध शुद्ध हुन्छ भन्ने भ्रम फैलाएर उपभोक्तालाई झनै विष खुवाउने काम भइरहेको उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनको आरोप छ ।
‘अहिले बजारमा प्याकेटमा होइन, टुप्पी बाँधेर आउने र खुल्ला दूध प्रशस्त मात्रामा बिक्री हुन थालेको छ,’ उनी भन्छन्, ‘प्याकेटको दूध खराब हुन्छ भनेर खुला दूधलाई शुद्ध भन्दै प्रचार गरिन्छ, तर वास्तवमा ती दूधमा झनै घातक तत्त्वहरू मिसाइएका हुन्छन् ।’
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र स्थानीय सरकारहरूले प्रभावकारी नियमन गर्न नसक्दा दूध माफियाहरूको मनोबल बढेको महर्जनको आरोप छ । उनका अनुसार ३ वर्षअघि नै यसबारे उजुरी दिँदा पनि कारबाहीमा तदारुकता देखाइएको छैन ।
‘यो खाद्य विभागको एक किसिमको लापरबाही नै हो, स्थानीय सरकारहरूले पनि अनुगमनलाई प्राथमिकता दिएका छैनन्,’ उनी भन्छन्, ‘ठूला उद्योगहरू समेत यस्तो अनियमित कार्यमा संलग्न भएको भेटिएका छन्, यस्तालाई एकाध पटक अनुगमन गरेरमात्र हुँदैन, नियमित नियन्त्रण र कडा कारबाहीको खाँचो छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij