Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

सरकारले सिफारिस गरेका १३ राजदूत, को कस्ता ?

सरकारले सिफारिस गरेका १३ राजदूत, को कस्ता ?


  • 729
    Shares

    सरकारले सिफारिस गरेका १३ राजदूत, को कस्ता ?
    images

    सरकारले भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस गरेको छ। 

    डा. निश्चलनाथ पाण्डे: 

    भारतका लागि राजदूत सिफारिश भएका डा. पाण्डे वैदेशिक नीतिका अग्रणी प्राज्ञिक व्यक्तित्व हुन्। उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक छन्। 

    उनले यसअघि परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशक (सन् १९९८-२००६) र पर्यटन तथा नागरिक उड्डयन विषयमा राष्ट्रिय योजना आयोगको सल्लाहकार (सन् १९९६-९७) का रूपमा काम गरिसकेका छन्। उनी नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगका विज्ञ (सन् २०१६) र नेपाल सरकारको उच्चस्तरीय परराष्ट्र नीति कार्यदलका सदस्य (सन् २०१७) थिए।

    डा. पाण्डेले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा विद्यावारिधि र कानुनमा स्नातक गरेका छन्। उनी नेशनल इन्स्टिच्युट अफ एडभान्स स्टडिज, बेंगलोरका मानार्थ सह-प्राध्यापक र नेशनल युनिभर्सिटी अफ सिंगापुरको इन्स्टिच्युट अफ साउथ एशियन स्टडिजका नन-रेजिडेन्ट सिनियर फेलो हुन्, जहाँ उनी पहिले भिजिटिङ रिसर्च फेलो थिए।

    उनले जर्मनीको बर्लिन र युनिभर्सिटी अफ हल, बेलायतमा भिजिटिङ फेलोशिप पूरा गरेका छन् भने क्षेत्रीय रणनीतिक अध्ययन केन्द्र, कोलम्बो (सन् २०११-२०१९) को सञ्चालक समितिमा रहेर काम गरेका छन्। 

    सेज र मनोहर पब्लिशर्समार्फत तीन वटा पुस्तक र नेपालको परराष्ट्र नीति तथा क्षेत्रीय सहकार्यबारे एक दर्जन सम्पादित कृतिहरू प्रकाशित गरिसकेका डा. पाण्डेले सन् २०१५ मा हार्भरर्ड केनेडी स्कूलबाट साउथ एशिया लिडर एक्जिक्युटिभ प्रोग्राम पूरा गरेका छन्।

    डा. कल्याणराज शर्मा: 

    चीनका लागि प्रस्तावित राजदूत डा. कल्याणराज शर्मा नेपाल-चीन मामला विज्ञ, सिनोलोजिस्ट र अर्थशास्त्री हुन्। प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ। उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।

    डा. शर्मा हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल-चीन फ्रेन्डशिप फोरम (सन् २०१३ देखि) र काउन्सिल अफ सिनोलोजिस्ट्स-नेपालको अध्यक्ष छन्। साथै, उनी काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कॉलरका रूपमा कार्यरत छन्। उनले ‘डुइङ बिजनेस इन चाइना’ पाठ्यक्रम तयार गरी अध्यापन गराउँदै आएका छन्। 

    उनी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवर्द्धनमा क्रियाशील छन् भने एपेक्स फन्ड्स लिमिटेड र विभिन्न जलविद्युत तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा रहेका छन्। नेपाल-चीन सम्बन्धमा पुर्‍याएको योगदानको कदरस्वरूप उनलाई राष्ट्रपतिबाट नेपाल भूषण (सन् २०१६) र सिल्क रोड फ्रेन्डशिप अवार्ड (सन् २०२१) प्रदान गरिएको थियो।

    यो पुरस्कार पाउने उनी विश्वभरका १२ जनामध्ये एक हुन्। उनी नेपाल-चीन आर्थिक कूटनीति, व्यापार र ‘बेल्ट एन्ड रोड’ सहकार्यका विश्लेषक हुन्।

    चिरनजंग थापा: 

    अमेरिकाका लागि राजदूत सिफारिश चिरनजंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुन्। सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ। उनले कोलम्बिया युनिभर्सिटीको स्कूल अफ इन्टरनेशनल एन्ड पब्लिक अफेयर्सबाट अन्तर्राष्ट्रिय मामलामा स्नातकोत्तर र जेनेसियोबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातक गरेका छन्। 

    सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशहरूमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन्।

    यसअघि उनले सेफरवर्ल्डमा एसियाका लागि क्षेत्रीय सुरक्षा तथा न्याय सल्लाहकार (सन् २०१३-२०१६) र द एसिया फाउन्डेसनमा सुरक्षा क्षेत्र रनागरिक-सैन्य सम्बन्ध सल्लाहकार (सन् २०१०-२०१३) का रूपमा काम गरेका थिए। यस क्रममा उनले नेपालको रक्षा मन्त्रालय, राष्ट्रिय सुरक्षा परिषद, नेपाली सेना र नेपाल प्रहरीलाई परामर्श दिँदै आएका थिए भने नेपाली सेनाको पहिलो नागरिक-सैन्य सम्बन्ध पाठ्यक्रम तयार पारेका थिए। 

    आफ्नो करियरको सुरुवाती चरणमा उनले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि सिङ्गापुर र नेपालका स्थायी नियोगहरूमा काम गरेका थिए। उनी हार्भरर्ड केनेडी स्कूलको ुलिडरशिप इन होमल्यान्ड सेक्युरिटी कार्यक्रम पूरा गर्ने पहिलो गैर-सैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति हुन्। 

    उनलाई भारतीय सेनाले सन् २०२३ को उद्घाटन ‘चाणक्य डिफेन्स डाइलग’मा नेपालका तर्फबाट प्रमुख वक्ताका रूपमा आमन्त्रण गरेको थियो। उनलाई नेपाल, अमेरिका, बेलायत र दक्षिण तथा दक्षिणपूर्वी एसियाका धेरै मुलुकमा काम गरेको अनुभव छ।

    गौरव शम्शेर राणा: 

    बेलायतका लागि राजदूत सिफारिश भएका पूर्वप्रधानसेनापति राणा विशिष्ट सैन्य नेता र रणनीतिकार हुन्। नेपाली सेनामा चार दशकभन्दा बढी सेवा गरी प्रधानसेनापति (सन् २०१२-२०१५) का रूपमा आफ्नो कार्यकाल पूरा गरेका थिए। उनले विस्तृत शान्ति सम्झौताअनुसार पूर्व माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्ने कार्यको निर्देशन दिएका थिए। 

    नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रमा रूपान्तरणको समयमा सेनाको नेतृत्व गरेका थिए। सेनाको ‘१० वर्षे दीर्घकालीन योजना’ तथा ‘सैन्य सिद्धान्त २०१३’ लागू गरेका थिए। प्रधानसेनापतिको रूपमा उनले सन् २०१५ को भूकम्पपछि नेपालको सैन्य उद्धार कार्य ‘अपरेशन संकट मोचन’को नेतृत्व गर्दै राहत कार्यमा १८ वटा विदेशी सैन्य टोलीको सहभागिताको समन्वय गरेका थिए।

    यसअघि उनले दक्षिण लेबनानमा नेपालको युनिफिल शान्ति सेना बटालियनको कमान्ड सम्हालेका थिए। उनले पाकिस्तानको कायदे-आजम युनिभर्सिटीबाट रक्षा तथा रणनीतिक अध्ययनमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट इतिहास तथा राजनीतिशास्त्रमा स्नातक गरेका छन्। 

    उनी रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्ट (बेलायत), यूएस आर्मी कमान्ड एन्ड जनरल स्टाफ कलेज (फोर्ट लिभनवर्थ) र पाकिस्तानको नेशनल डिफेन्स युनिभर्सिटीका स्नातक हुन्। उनी हाल कन्जर्भेसन एलायन्स नेपालको अध्यक्ष छन् र हार्भरर्ड युनिभर्सिटी, इन्टरनेशनल इन्स्टिच्युट फर स्ट्र्याटेजिक स्टडिज (लन्डन) तथा संयुक्त राष्ट्रसंघको पहिलो डिफेन्स चीफ्स कन्फरेन्सजस्ता संस्थाहरूमा नियमित वक्ताका रूपमा सहभागी हुँदै आएका छन्।

    जिग्यानकुमार थापा: 

    जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नेपाल-जापान सम्बन्ध अभिवृद्धिमा दुई दशकभन्दा बढी समय समर्पित गरेका छन्। योकोहामा नेशनल युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सम्बन्ध र कानुनमा स्नातकोत्तर तथा शुमेई युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सहकार्यमा स्नातक गरेका उनले सन् २००९ देखि कानागावा इन्टरनेशनल फाउन्डेसनमा अन्तर्राष्ट्रिय सहकार्य, सार्वजनिक नीति तथा बहुसांस्कृतिक मामला विज्ञका रूपमा काम गर्दै आएका छन्। 

    सन् २००५ देखि उनले उच्चस्तरीय नेपाल-जापान द्विपक्षीय कार्यक्रमको संयोजकका रूपमा दुवै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरूको भ्रमण तथा आदानप्रदानमा सहजीकरण गर्दै आएका छन्। उनले सन् २०२६ मा नेपाली राष्ट्रपतिको जापानको औपचारिक भ्रमणका क्रममा आयोजित नेपाल-जापान व्यापार संवादको आयोजना गरेका थिए। 

    उनले अन्तर्राष्ट्रिय सहकार्य र आप्रवासन सुशासनका पहलहरूमा जाइका, युनिसेफ र जापानी स्थानीय सरकारहरूसँग नजिक रहेर काम गरेका छन्। उनी नेपालस्थित जापानी उद्योग वाणिज्य संघका सल्लाहकार, गैरआवासीय नेपाली संघ (जापान) का पूर्वमहासचिव र जापानस्थित नेपाली विद्यार्थी संघका पूर्वअध्यक्ष हुन्। 

    उनले सुकुबा, ओयामा गाकुइन र निहोन युनिभर्सिटीलगायतका जापानी विश्वविद्यालयमा सह-प्राध्यापकका रूपमा अध्यापन गराउँदै आएका छन्। उनले नेपाल-जापान सम्बन्ध र तुलनात्मक सार्वजनिक प्रशासनका विषयमा व्यापक लेखन गरेका छन्।

    सुरेशकुमार कर्ण: 

    इजरायलका लागि प्रस्तावित राजदूत कर्ण सूचना प्रविधि, बैंकिङ र आर्थिक नीति क्षेत्रका वरिष्ठ व्यक्तित्व हुन्। कर्णलाई कार्यकारी नेतृत्वमा ३० वर्षभन्दा बढीको अनुभव छ। कुमारी बैंकको प्रमुख सूचना तथा विपणन अधिकृत (सन् २००३-२०१५) को रूपमा उनले नेपालको पहिलो मोबाइल वालेट ‘कुमारी मोबाइल क्यास’को अवधारणा तयार गरी सञ्चालनमा ल्याएका थिए। 

    पछि उनले नेपाल बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृत (सन् २०१५-२०१९) का रूपमा एकीकृत कोर बैंकिङ सिस्टममा रूपान्तरण गर्ने कार्यको नेतृत्व गरे। सन् २०२४ देखि उनले वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७९ अन्तर्गत नेपालको पहिलो जापानी प्रत्यक्ष वैदेशिक लगानीको प्रविधि संस्था कुमो ल्याब्स प्रालिको अध्यक्षता गर्दै आएका छन्।

    उनले कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) को लगातार दुई कार्यकाल अध्यक्षका रूपमा सेवा गरे। उनी नेपालको आईटी काउन्सिल र सूचना प्रविधि उच्चस्तरीय आयोगको पदझेन सदस्य थिए भने नेपालको पहिलो राष्ट्रिय आईटी नीति (सन् २०००) को मस्यौदा तयार गर्न योगदान दिएका थिए। 

    उनी इन्स्टिच्युसन अफ इन्जिनियर्स (इन्डिया) का फेलो हुन्। उनले आफ्नो करियरको सुरुवात नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट गरेका थिए, जहाँ उनी राष्ट्रिय एकेडेमी टोलीमा प्रथम भएका थिए।

    प्राप्ति शेरचन: 

    स्पेनका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन नेपाली अन्तर्राष्ट्रिय विकास तथा साझेदारी क्षेत्रकी नेतृत्वकर्ता हुन्। दक्षिण एसिया, दक्षिणपूर्वी एसिया र अफ्रिकामा १५ वर्षको अनुभव छ। सन् २०१५ देखि विश्व बैंक समूहअन्तर्गतको इन्टरनेशनल फाइनान्स कर्पोरेसनमा लैंगिक समाधान र प्रभावका लागि सञ्चालन अधिकृतका रूपमा कार्यरत उनले इन्डियाको जेन्डर कन्ट्री प्रोग्रामको नेतृत्व गर्दै आएकी छन्।

    उनले नेपाल, बंगलादेश र श्रीलंका समेट्ने बहुदेशीय वाणिज्य बैंकिङ अनुसन्धान पहलको निर्देशन गरेकी थिइन्। आसियान इन्स्योरेन्स काउन्सिलसँग मिलेर १० देशीय क्षेत्रीय अध्ययनको नेतृत्व गरिन्, जसले अनिवार्य लैंगिक-विभाजित कार्यबल प्रतिवेदन अपनाउन सहयोग पुर्‍यायो। उनले ब्रान्डिस युनिभर्सिटीको हेलर स्कूलबाट दीगो अन्तर्राष्ट्रिय विकासमा एमबीए र नेशनल युनिभर्सिटी अफ सिंगापुरबाट समाजशास्त्रमा स्नातक गरेकी छन्। 

    उनले विश्व बैंक समूह-आईएमएफ वसन्तकालीन बैठकहरूलगायत उच्चस्तरीय मञ्चहरूमा आईएफसीको प्रतिनिधित्व गरिसकेकी छन्। उनी वुमेन लिड नेपालको यूएस बोर्ड सह-अध्यक्ष र आईएफसी मिलेनियल प्लेस रिसोर्स ग्रुपकी सह-संस्थापक हुन्। उनी नेपाली, अंग्रेजी, हिन्दी र उर्दू भाषामा पोख्त छिन्।

    शरू जोशी: 

    जर्मनीका लागि प्रस्तावित राजदूत शरू जोशी वैदेशिक रोजगार सुशासन, लैंगिक समानता र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएकी वरिष्ठ नीति विज्ञ हुन्। वैदेशिक रोजगार ऐन २०६४, वैदेशिक रोजगार नियमावली २०६४ र वैदेशिक रोजगार नीति २०६८ सहित नेपालको आधारभूत आप्रवासन ढाँचा निर्माणमा योगदान पुर्‍याएकी छन्। 

    उनले युएन वुमेनमा एक दशक (२००२-२०१२) दक्षिण एसियाका लागि क्षेत्रीय कार्यक्रम प्रबन्धक र श्रम कूटनीति प्रमुखका रूपमा काम गरेकी छन्। पछि यूएन वुमेन नेपालको कार्यक्रम विज्ञ तथा महिला आर्थिक सशक्तिकरण एकाइ प्रमुख (सन् २०१२-२०१६) र रणनीतिक साझेदारी विज्ञ (सन् २०१६-२०१८) का रूपमा काम गरेकी थिइन्। 

    सन् २०१८ देखि उनले स्वतन्त्र वरिष्ठ नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध परामर्शदाताका रूपमा यूएन वुमेनको राष्ट्रिय परामर्शदाता, कोभिड पश्चात आप्रवासीहरूको पुनर्मिलनबारे विश्व बैंकको सल्लाहकार र ग्लोबल फोरम अन माइग्रेसन एण्ड डेभलपमेन्ट तथा कोप-२८ मा नेपालको प्रतिनिधित्व गरिसकेकी छन्। सन् २०२४ देखि नेपाल पोलिसी इन्स्टिच्युटको कार्यकारी बोर्ड सदस्यका रूपमा उनले नेपाली आप्रवासी श्रमिकहरूको मताधिकारका लागि राष्ट्रिय वकालतको नेतृत्व गरिरहेकी छन्। 

    उनले इन्स्टिच्युट अफ सोसल स्टडिज, द हेगबाट महिला तथा विकास विषयमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उनी ‘एउटा सिन्को भाँचेर हेर्दा’ पुस्तककी लेखिका हुन् भने वैदेशिक रोजगार र लैंगिक विषयमा उनका ६० भन्दा बढी लेखहरू प्रकाशित छन्।

    डा. पद्माक्षी राणा: 

    ओमानका लागि प्रस्तावित राजदूत डा. राणा नेपाल, एसिया र युरोपभर दिगो विकास, समावेशी नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभव भएकी विकास तथा उद्यमी नेता हुन्। सन् २०२२ देखि उनले इम्प्याक्ट हब काठमाडौँको कार्यकारी निर्देशक र सह-संस्थापकका रूपमा इम्प्याक्ट हब ग्लोबल एसोसिएसन र यसको एसिया-प्रशान्त क्षेत्रीय क्लस्टरभित्र नेपालको प्रतिनिधित्व गर्दै यूकेएड/एफसीडीओ, युरोपेली युनियन, यूएनडीपी, युनिसेफ, विश्व बैंक र रोयल एकेडेमी अफ इन्जिनियरिङसँग साझेदारी निर्माण गरिरहेकी छन्। 

    उनले क्याम्ब्रिज विश्वविद्यालयको इन्स्टिच्युट फर म्यानुफ्याक्चरिङबाट खाद्य उत्पादनमा कर्पोरेट सामाजिक उत्तरदायित्व विषयमा विद्यावारिधि, क्याम्ब्रिजबाटै वातावरण, समाज र विकासमा एमफिल र वेबस्टर युनिभर्सिटी थाइल्यान्डबाट एमबीए गरेकी छन्। इम्प्याक्ट हबअघि उनले क्याम्ब्रिज विश्वविद्यालयमा अनुसन्धान तथा अध्यापन पद सम्हालेकी थिइन् भने सिंगापुरस्थित दिगोपन नवप्रवर्तन परामर्श संस्था द इन्सेप्टरीको सह-स्थापना गरेकी थिइन्। 

    अन्तर्राष्ट्रिय प्राज्ञिक साख भएकी अनुसन्धाताका रूपमा उनले हिन्दू कुश हिमालय क्षेत्रमा दिगो व्यावसायिक मोडल र विपद्पश्चात पर्यटन पुनरुत्थानबारे समकक्षी-समीक्षित अनुसन्धान प्रकाशित गरेकी छन्। उनी अंग्रेजी र नेपाली भाषामा निपुण छिन्।

    चूडामणि खरेल: 

    मलेसियाका लागि प्रस्तावित राजदूत खरेल मानविकी, अंग्रेजी, राजनीतिशास्त्र र कानूनको प्राज्ञिक पृष्ठभूमि भएका शिक्षा तथा सार्वजनिक प्रशासन क्षेत्रका विज्ञ हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातक र स्नातकोत्तर, राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन्। 

    उनी हाल नेपाल योग खेलकुद संघको महासचिवका रूपमा कार्यरत छन्। यसअघि उनले नेपाल स्केटिङ तथा स्केटबोर्ड संघको महासचिव र राष्ट्रिय खेलकुद परिषदअन्तर्गत सातौ राष्ट्रिय खेलकुद उप-समितिको सदस्य सचिवका रूपमा काम गरिसकेका छन्। उनले कसमस कलेज र जोन बाउर कलेजमा अंग्रेजी विषयको प्राध्यापकका रूपमा काम गरेका छन्। 

    प्रा.डा. सङ्गम श्रेष्ठ: 

    दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत प्राध्यापक डा. श्रेष्ठ अन्तर्राष्ट्रिय सहकार्य, जलवायु उत्थानशीलता र जल-सुरक्षा कूटनीतिमा २५ वर्षभन्दा बढीको अनुभव भएका अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त प्राज्ञिक नेता तथा वैश्विक नीति विज्ञ हुन्। उनी हाल एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी थाइल्यान्डको स्कूल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीका प्राध्यापक एवं पूर्व डिन तथा ग्लोबल वाटर एन्ड स्यानिटेसन सेन्टरका संस्थापक सह-निर्देशक हुन्।

    उनले एसियाली विकास बैंक, विश्व बैंक, गेट्स फाउन्डेसन, संयुक्त राष्ट्रसंघका एजेन्सीहरू, युरोपेली युनियन र युनेस्कोसँगको साझेदारीमा लाखौँ डलरको अन्तर्राष्ट्रिय अनुदान र सहकार्य जुटाएका छन्। उनले ३० भन्दा बढी देशका सरकार र कूटनीतिक नियोगहरूसँग नजिक रहेर काम गरेका छन्। 

    उनले यामानाशी युनिभर्सिटी, जापानबाट एकीकृत नदी बेसिन व्यवस्थापनमा विद्यावारिधि गरेका छन्। त्यस्तै, ५२ एच-इन्डेक्ससहित दुई सयभन्दा बढी अनुसन्धान पत्रहरू प्रकाशित गरेका छन्। उनी स्ट्यान्फोर्ड युनिभर्सिटीको शीर्ष २५ वैज्ञानिकहरूको सूचीमा पटक-पटक पर्न सफल भएका छन्। 

    डा. श्रेष्ठ बेइजिङ नर्मल युनिभर्सिटी र नेशनल युनिभर्सिटी अफ लाओसमा आमन्त्रित प्राध्यापक हुन्।। उनले एसियाभरका २० भन्दा बढी पीएचडी र १५० भन्दा बढी स्नातकोत्तर विद्यार्थीको मार्गदर्शन गरिसकेका छन्।

    डा. मञ्जला झा: 

    श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. झा सुशासन तथा सार्वजनिक नीति विज्ञ हुन्। नेपालको सत्य निरूपण तथा मेलमिलाप आयोगको आयुक्त (स्न २०१५-२०१९) का रूपमा सेवा गर्दै सत्य, न्याय र मेलमिलापसम्बन्धी राष्ट्रिय प्रयासहरूमा योगदान दिएकी थिइन्। 

    उनले संक्रमणकालीन न्यायसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा आयोगको प्रतिनिधित्व गर्दै श्रीलंकामा नेपालको आयोगको अनुभव प्रस्तुत गरेकी थिइन्। उनी त्रिभुवन विश्वविद्यालयमा सह-प्राध्यापक हुन्, जहाँ उनले सुशासन तथा भ्रष्टाचार निवारण स्नातकोत्तर कार्यक्रममा अध्यापन (सन् २०२१-२०२४) समेत गरेकी थिइन्।

    उनले बीआर अम्बेडकर युनिभर्सिटी, भारतबाट हिन्दी साहित्यमा विद्यावारिधि र त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्र (परराष्ट्र नीति तथा कूटनीति विषयमा विशेषज्ञता) र हिन्दी साहित्यमा स्नातकोत्तर गरेकी छन्। उनले संयुक्त राष्ट्रसंघको इस्तानबुल प्रोग्राम अफ एक्शन (सन् २०११-२०२०) का लागि राष्ट्रिय कार्यान्वयन तथा अनुगमन समितिको आमन्त्रित विज्ञ सदस्यका रूपमा काम गरेकी थिइन्। 

    निर्वाचन पर्यवेक्षक तथा नेपाली राजनीति र सुशासनकी सञ्चार विश्लेषक डा. झालाई तत्कालीन राजा वीरेन्द्रबाट महेन्द्र विद्याभूषण (सन् १९९६) प्रदान गरिएको थियो। उनी नेपाली, हिन्दी, अंग्रेजी र मैथिली भाषामा निपुण छिन्।

    गिरीबहादुर सुनार: 

    साउदी अरबका लागि प्रस्तावित राजदूत सुनार समाजशास्त्री तथा विकास नेता हुन्। अन्तर्राष्ट्रिय विकास, नीतिगत सल्लाह र बहु-सरोकारवाला सुशासनका क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव छ। उनको प्राविधिक दक्षता सामाजिक संरक्षण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण मूलप्रवाहीकरण, समुदायमा आधारित जलवायु अनुकूलन र गुनासो सुनुवाइ संयन्त्रमा रहेको छ, जुन उनले विश्व बैंक र एडीबीका ठूला पूर्वाधार तथा खानेपानी क्षेत्रका कार्यक्रमहरूमा प्रयोग गरेका छन्।

    उनी त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा विद्यावारिधि शोधार्थी हुन्। उनी ‘स्कॉलर्स प्रेस, जर्मनी’ पुस्तकका लेखक हुन् भने ‘द हिमालयन टाइम्स’, ‘द अन्नपूर्ण एक्सप्रेस’ र ‘रिपब्लिका’ जस्ता राष्ट्रिय दैनिकमा सयभन्दा बढी नीतिगत लेखहरू प्रकाशित गरिसकेका छन्। 

    उनले सामाजिक, वातावरण तथा ग्रामीण विकास नेपालको सचिवका रूपमा सेवा गरिरहेका छन्। उनी नेपाली, अंग्रेजी र हिन्दी भाषामा निपुण छन्।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १७:१८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij