२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्काशन सम्पन्न गरेपछि कम्पनीले आईपीओको दोस्रो चरणअन्तर्गत सर्वसाधारणतर्फ बिक्री खुलाएको हो।
कम्पनीले कुल १ अर्ब ४ करोड रुपैयाँको जारी पुँजीमध्ये २० प्रतिशत बराबरको सेयर निष्काशन गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम गरिएको यस निष्काशनबाट कुल २० लाख ८० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ।
जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १० करोड ४० लाख कित्ता स्थानीय बासिन्दा र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ४ हजार कित्ता विदेशमा रहेका नेपाली, २ प्रतिशत अर्थात् २० हजार ८०० कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् ५२ हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँड गरिसकेको छ ।
अब बाँकी रहेको ८ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरिएको हो। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। तोकिएको अवधिभित्र मागअनुसार सेयर बिक्री नभएमा आवेदनको म्याद असोज ५ गतेसम्म थप गर्न सकिनेछ।
बेनी हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले लिएको छ। लगानीकर्ताले सीआस्बा प्रणालीमा आबद्ध नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो सेयर’ अनलाइन प्रणालीबाट समेत आईपीओमा आवेदन गर्ने सुविधा उपलब्ध छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij