Logo

२०८३ आश्विन २४ गते शनिवार

२०८३ आश्विन २४ गते शनिवार

आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने समीर पुर्पक्षका लागि थुनामा

आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने समीर पुर्पक्षका लागि थुनामा


  • 1.1K
    Shares

    आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने समीर पुर्पक्षका लागि थुनामा
    images

    सुर्खेत ।  आफूलाई ‘पाथीभरा माता’ भनेर दाबी गर्ने सुर्खेतका समीर थापालाई जिल्ला अदालत सुर्खेतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। 

    झारफुकका नाममा महिलामाथि अमानवीय व्यवहार तथा कुटपिट गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले थापालाई पक्राउ गरेको थियो। वीरेन्द्रनगर नगरपालिका–३, एरिचोकका २४ वर्षीय थापा साउन १३ गते पक्राउ परेका थिए।

    न्यायाधीश तीर्थराज भट्टको एकल इजलासले थापालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। घटनाको भिडियो खिच्ने अर्का व्यक्तिलाई भने अदालतले ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला अदालत सुर्खेतका सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

    थापासहित घटनाको भिडियो खिच्ने व्यक्तिविरुद्ध बोक्सी आरोपसम्बन्धी कसुरमा साउन ८ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरिएको थियो। थुनछेक बहसपछि अदालतले मुख्य अभियुक्त थापालाई पुर्पक्षका लागि थुनामा राख्ने र घटनामा सहयोगीको भूमिकामा रहेका व्यक्तिलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

    झारफुकका नाममा महिलामाथि भएको दुर्व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो। भिडियोमा झारफुक गर्ने बहानामा महिलामाथि अमानवीय तथा हिंसात्मक व्यवहार गरिएको देखिएको भन्दै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    मुलुकी अपराध संहिता, २०७४ ले धामी–झाँक्री, झारफुक वा अन्य यस्तै बहानामा व्यक्तिमाथि अमानवीय वा अपमानजनक व्यवहार गर्न निषेध गरेको छ।  संहिताको दफा १६८ अनुसार अमानवीय वा अपमानजनक व्यवहार गरेको ठहर भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ। पीडितलाई कसुरदारबाट मनासिब क्षतिपूर्ति भराउन सकिने कानुनी प्रावधानसमेत छ।

    त्यस्तै, झारफुकका क्रममा कुटपिट, हातपात वा अश्लील तथा अपशब्द प्रयोग गरिएको अवस्थामा कुटपिट तथा अभद्र व्यवहारसम्बन्धी कसुरमा समेत थप कानुनी कारबाही हुन सक्ने व्यवस्था छ।

    प्रकाशित मिति :भाद्र १० २०८३ बुधवार - ०६:५७:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij