२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । लक्जरी चिनियाँ विद्युतीय सवारी ब्रान्ड ‘स्काईवेल’को बीई ११ मोडल नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ। नेपालका लागि आधिकारिक वितरक एलआरआर मोटर्सले नाडा अटो शो २०२६ को अवसर पारेर मंगलबार यस गाडीलाई सार्वजनिक गरेको हो।
यसअघि सोमबार कम्पनीले स्काईवेलको नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको थियो। ४ सय १० किलोमिटर रेन्ज दिने मोडलको बजार मूल्य इन्ट्री भेरियन्टको ४९ लाख ९९ हजार, कम्फर्टको ५५ लाख ९९ हजार र लक्जरीको ५६ लाख ९९ हजार तोकिएको छ। त्यस्तै ५ सय २० किलोमिटर रेन्ज दिने प्रिमियम भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
एलआरआर मोटर्सले नाडा अटो शो अवधिभरका लागि ग्राहकलाई आकर्षक छुट अफर ल्याएको छ। मेलामा ४ सय १० किमी रेन्जको इन्ट्री मोडल ४६ लाख ९९ हजार, कम्फर्ट ५३ लाख ९९ हजार र लक्जरी ५४ लाख ९९ हजार रुपैयाँमै खरिद गर्न सकिनेछ।
यसैगरी ५ सय २० किमी रेन्ज दिने भेरियन्टमा ५ लाख रुपैयाँ छुट दिँदै ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ। कम्पनीले अटो शोभरिका लागि मोडल अनुसार ३ देखि ५ लाख रुपैयाँसम्मको विशेष छुट उपलब्ध गराएको हो।
स्काईवेल बीई ११ मा ७१.९८ किलोवाट आवरको एनएमसी र ५१.९१ किलोवाट आवरको एलएफपी ब्याट्री विकल्प दिइएको छ। १ सय ५० किलोवाट क्षमताको मोटर र ८ सय भोल्टको हाई-भोल्टेज आर्किटेक्चर रहेको यो गाडी डिसी फास्ट चार्जरबाट केवल ३५ मिनेटमा ७० प्रतिशतसम्म चार्ज हुन्छ।
नेपाली सडकको भौगोलिक बनावटलाई ध्यानमा राख्दै यसमा १ सय ९८ एमएमको उच्च ग्राउन्ड क्लियरेन्स राखिएको छ। गाडीमा प्यानारोमिक सनरुफ, ३ सय ६० डिग्री क्यामेरा र भेन्टिलेटेड सिट जस्ता आधुनिक तथा लक्जरी सुविधा समावेश छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij