२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद् बैठकमा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र संघीय संसद् सचिवालयमा पठाएका छन् ।
संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य रिपोर्टसहितको पत्र पठाएको पुष्टि गरेका छन् ।
यसअघि सभामुख डोलप्रसाद अर्यालले संसद् बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन प्रमुख सचेतक र सचेतकमार्फत सांसदहरूलाई आग्रह गरेका थिए । तर स्वास्थ्य कारणले आवश्यक भए परीक्षण रिपोर्ट पेश गर्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री शाहले सोहीअनुसार स्वास्थ्य परीक्षण रिपोर्टसहित पत्र बुझाएका हुन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुँदैछ । उक्त कार्यक्रममा प्रधानमन्त्री शाहलाई ११ जना सांसदले प्रश्न गर्ने तयारी छ ।
प्रतिनिधिसभा नियमावलीको नियम ५६ अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने व्यवस्था छ ।
त्यसैगरी नियमावलीले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था गरेको छ । प्रधानमन्त्रीलाई प्रश्न गर्न इच्छुक सांसदले बैठक सुरु हुनुभन्दा तीन दिनअघि सभामुखलाई लिखित जानकारी दिनुपर्ने व्यवस्था छ ।
सोही प्रक्रियाअनुसार ११ जना सांसदले प्रश्न दर्ता गरेका छन् । अब प्रधानमन्त्री शाह संसद् उपस्थित हुँदा स्वास्थ्य कारण देखाउँदै कालो चस्मा लगाउने भएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij