२०८३ आश्विन २४ गते शनिवार
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर सरकार जोगाउन बहुमत जुटाउने अन्तिम प्रयासमा लागेका छन् । विश्वासको मत लिन सोमबार असफल भएपछि मुख्यमन्त्री थापाले मंगलबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकबाट पुनः विश्वासको मत लिने तयारी गरेका हुन् ।
सोमबार सत्ता गठबन्धनभित्रको विवादका कारण विश्वासको मतसम्बन्धी प्रस्ताव अघि बढ्न सकेन । प्रदेशसभा बैठक तीन पटकसम्म सारेर अन्ततः मंगलबारका लागि स्थगित गरिएको थियो ।
मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि १०४ सदस्यीय प्रदेशसभामा कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ । उनले यसअघि एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ सांसदको समर्थन रहेको दाबी गर्दै आएका थिए ।
तर गठबन्धनभित्रै देखिएको विवादले मुख्यमन्त्री थापाको चुनौती बढेको छ । राप्रपाभित्र सरकारलाई समर्थन गर्ने विषयमा मतभेद देखिएको छ भने नेकपाका केही सांसद मन्त्री चयनप्रति असन्तुष्ट छन् ।
प्रदेशसभामा एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद छन् । बहुमतका लागि थप दुई सांसदको समर्थन आवश्यक पर्ने अवस्थामा राप्रपा, नेमकीपा र अन्य दलको भूमिकाले सरकारको भविष्य निर्धारण गर्नेछ ।
भदौ ४ गते मुख्यमन्त्री नियुक्त भएका थापाले संवैधानिक व्यवस्थाअनुसार आगामी असोज ३ गतेभित्र विश्वासको मत लिनुपर्नेछ । कांग्रेससहित केही दल भने उनको विपक्षमा उभिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij