२०८३ भाद्र ५ गते शुक्रवार
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।
अधिकारकर्मी र मृतकका आफन्तले आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड बोकेर दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
गरिमाका परिवारले भने बारामै न्यायको माग गर्दै प्रदर्शन जारी राखेका छन्। उनका आमा–बुवासहित स्थानीयवासी सडकमा धर्नामा बसेका कारण वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध रहेको छ।
बिहीबार राति प्रशासनले स्थानीयसँग सहमति गरे पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना सहमति गरिएको भन्दै त्यसलाई अस्वीकार गरेका छन्।
गरिमाका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम घटनास्थलमा आएर पीडित परिवारसँग छलफल गर्नुपर्ने तथा नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।
परिवारले बालबालिकामाथि हुने यस्ता जघन्य अपराध रोक्न कडा कानुनी व्यवस्था र दोषीलाई कडा सजायको माग गर्दै आएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij