Logo

२०८३ आश्विन १३ गते मंगलवार

२०८३ आश्विन १३ गते मंगलवार

प्रभु बैंकको वित्तीय अवस्था कमजोर, निष्क्रिय कर्जाले बढायो जोखिम

प्रभु बैंकको वित्तीय अवस्था कमजोर, निष्क्रिय कर्जाले बढायो जोखिम


  • 1.3K
    Shares

    प्रभु बैंकको वित्तीय अवस्था कमजोर, निष्क्रिय कर्जाले बढायो जोखिम
    images

    काठमाडौं । प्रभु बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार बैंकको वित्तीय अवस्था कमजोर बन्दै गएको देखिएको छ।

    बैंक असार मसान्तसम्म २४ करोड १२ लाख ४३ हजार रुपैयाँ खुद घाटामा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ८७ करोड २३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

    बैंक घाटामा जानुको मुख्य कारण निष्क्रिय कर्जा (एनपीएल) मा भएको तीव्र वृद्धि देखिएको छ। अघिल्लो वर्ष ७.०१ प्रतिशत रहेको निष्क्रिय कर्जा बढेर १५.५५ प्रतिशत पुगेको छ। निष्क्रिय कर्जा उच्च भएपछि बैंकले सम्भावित जोखिम व्यवस्थापनका लागि ४ अर्ब ९४ करोड रुपैयाँ नोक्सानी व्यवस्था (प्रोभिजन) गर्नुपरेको छ। यही कारण बैंकको नाफा ऋणात्मक भएको हो।

    प्रभु बैंकको सञ्चित नोक्सानी पनि बढेर ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षसम्म यस्तो नोक्सानी २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

    यद्यपि बैंकको खुद ब्याज आम्दानीमा भने सुधार देखिएको छ। अघिल्लो वर्ष ७ अर्ब १९ करोड ७८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर ९ अर्ब २६ करोड ५७ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंकको खुद शुल्क तथा कमिसन आम्दानी २ अर्ब २१ करोड रुपैयाँ रहेको छ।

    तर प्रोभिजन रकममा आएको ठूलो वृद्धिले बैंकको वित्तीय परिणाममा नकारात्मक असर पारेको छ। अघिल्लो आवमा २ अर्ब ४० करोड रुपैयाँ प्रोभिजन गरेको बैंकले गत आवमा करिब ५ अर्ब रुपैयाँ छुट्याउनुपरेको छ।

    बैंक घाटामा गएसँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। अघिल्लो वर्ष ३.७१ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यस वर्ष १.०२ रुपैयाँ ऋणात्मक बनेको छ। बैंकको प्रतिसेयर नेटवर्थ भने १४०.९२ रुपैयाँ कायम भएको छ।

    बैंकको आधार दर ६.६७ प्रतिशतबाट घटेर ४.९९ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ३.७३ प्रतिशतबाट घटेर ३.२८ प्रतिशत कायम भएको छ। पुँजी कोष अनुपात पनि १२.५० प्रतिशतबाट घटेर ११.८३ प्रतिशतमा आएको छ। प्राथमिक पुँजी अनुपात ८.८३ प्रतिशत रहेको छ।

    त्यस्तै, बैंकको सीडी रेसियो ७०.७८ प्रतिशतबाट घटेर ६७.८६ प्रतिशत पुगेको छ। कस्ट अफ फन्ड पनि घटेर ३.२५ प्रतिशतमा सीमित भएको छ।

    प्रभु बैंकले गत आर्थिक वर्षमा निक्षेप संकलन बढाएर ३ खर्ब ४८ अर्ब रुपैयाँ पुर्‍याएको छ। तर कर्जा प्रवाह भने घटेर २ खर्ब १४ अर्ब रुपैयाँमा सीमित भएको छ।

    बैंकले चौथो त्रैमासमा मात्रै २ अर्ब १७ करोड रुपैयाँ प्रोभिजन थप गरेको छ। बक्यौता ब्याज तथा गैरबैंकिङ सम्पत्ति बढ्दा बैंकको वितरणयोग्य नाफा पनि प्रभावित भएको छ। सञ्चित घाटासहित बैंकको कुल रिटेन्ड अर्निङ ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।  

    प्रकाशित मिति :श्रावण २९ २०८३ शुक्रवार - १४:४१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij