२०८३ श्रावण २८ गते बिहिवार
काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक र एनएमसी मल्टिपर्पस को–अपरेटिभ लिमिटेडबीच रणनीतिक सहकार्य भएको छ । सहकार्यसँगै एनएमसी–कोअपका सदस्यले एउटै डिजिटल प्लेटफर्ममार्फत मोबाइल बैंकिङ, डिजिटल भुक्तानी तथा डिजिटल कर्जालगायतका सेवा प्राप्त गर्ने भएका छन् ।
एमबैंक र एनएमसी–कोअपबीच जेठ २९ गते सम्झौता भएको थियो । सम्झौताअनुसार साउन ७ गतेदेखि सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो । डेढ लाखभन्दा बढी सदस्य र ५७ वटा सेवा केन्द्रमार्फत सेवा दिँदै आएको एनएमसी–कोअपसँगको सहकार्यलाई डिजिटल वित्तीय सेवा विस्तारको महत्वपूर्ण कदमका रूपमा लिइएको छ ।
सहकार्यपछि एनएमसी–कोअपका सदस्यले मोबाइल एपमार्फत बचत तथा बैंकिङ सेवासँगै क्यूआर भुक्तानी, अन्तरसंस्था रकम स्थानान्तरण, उपयोगिता शुल्क भुक्तानी, डिजिटल भुक्तानी तथा केवाईएम अद्यावधिकलगायतका सुविधा लिन सक्नेछन् ।
एमबैंकले परम्परागत मोबाइल बैंकिङ सेवाभन्दा माथि उठ्दै बैंकिङ, भुक्तानी र कर्जालाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्य राखेको जनाएको छ । यसअन्तर्गत सदस्यले खाताको विवरण हेर्न, रकम स्थानान्तरण गर्न, बिल भुक्तानी गर्न तथा अन्य वित्तीय सेवा मोबाइलबाटै लिन सक्नेछन् ।
सहकार्यको अर्को महत्वपूर्ण पक्ष डिजिटल कर्जा सेवा रहेको छ । नेपाल राष्ट्र बैंकले प्रवर्द्धन गरिरहेको डिजिटल वित्तीय सेवाको अवधारणाअनुसार एमबैंक र एनएमसी–कोअपले चरणबद्ध रूपमा डिजिटल कर्जा सेवा विस्तार गर्ने योजना बनाएका छन् ।
यसअन्तर्गत मुद्दती निक्षेप धितोमा कर्जा, आवधिक खाताविरुद्ध कर्जा, कर्जा भुक्तानी, कर्जा विवरण हेर्ने तथा नयाँ कर्जाका लागि आवेदन दिनेसम्मका सेवा मोबाइल एपमार्फत उपलब्ध गराइनेछ ।
एनएमसी मल्टिपर्पस को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए । उनले एमबैंकसँगको सहकार्यले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै, एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले डिजिटल वित्तीय पहुँच विस्तार गर्ने दीर्घकालीन योजनाअनुसार सहकार्य अघि बढाइएको बताए । उनले यो केवल मोबाइल बैंकिङ सेवा विस्तार गर्ने सम्झौता नभई सहकारी क्षेत्रलाई डिजिटल प्रणालीमा जोड्ने अभियान भएको उल्लेख गरे ।
एमबैंकले बैंकिङ, भुक्तानी र डिजिटल कर्जालाई एकीकृत गर्दै सदस्यलाई सरल र सुरक्षित वित्तीय अनुभव प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ । कम्पनीका अनुसार एनएमसी–कोअपको ठूलो सदस्य आधारलाई आधुनिक डिजिटल वित्तीय सेवासँग जोड्दा नेपालको डिजिटल वित्तीय प्रणाली थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
एमबैंकले विगत एक दशकदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, डिजिटल कर्जा र अन्य डिजिटल समाधान उपलब्ध गराउँदै आएको जनाएको छ भने एनएमसी–कोअपले बचत तथा ऋण, कृषि, दुग्ध, चिया, विप्रेषणलगायतका क्षेत्रमा डेढ लाखभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij