२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । कांग्रेस नेता अभिषेक गिरी थुनामा पुगेका छन् । उनलाई काठमाडौं जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिएको थियो । तर, गिरीले धरौटीबापतको पाँच लाख रुपैयाँ बुझाउन नसकेपछि थुनामा पुगेका हुन् ।
विराटनगर महानगरपालिका–८, मधुमाराका ४८ वर्षीय अभिषेकविरुद्ध निर्माण व्यवसायी सुवास श्रेष्ठले विभिन्न प्रभावका आधारमा ठेक्का पारिदिने भन्दै रकम असुल गरेको आरोपमा उजुरी दिएका थिए ।
सोही उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गिरीलाई गएको असार २३ गते मोरङबाट पक्राउ गरेको थियो । सुवासको उजुरीका आधारमा अनुसन्धान गरेको सीआईबीले गिरीविरुद्ध २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ ठगी गरेको भन्दै पीडितलाई भराउने गरी मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।
सीआईबीकै रायका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले गिरीविरुद्ध साउन १५ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । सोही मुद्दामा काठमाडौं जिल्ला अदालतले गिरीलाई पाँच लाख रुपैया धरौटीमा छाड्न आदेश गरेको थियो । तर, आदेशअनुसारको रकम नतिरेपछि गिरीलाई डिल्लीबजार कारागार पठाइएको छ ।
श्रेष्ठले पाएको ठेक्का आरसी सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालिमार्फत सम्पन्न गरिदिने भन्दै अभिषेकले ठगी गरेको प्रहरीको अनुसन्धानले देखाएको थियो । गिरीविरुद्ध मोरङमा समेत अनुसन्धान जारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij