२०८३ श्रावण १० गते आइतवार
काठमाडौँ । विश्वकप लिग–२ मा बुधबार तालिकाको शीर्ष स्थानका अमेरिका र स्कटल्यान्ड भिड्दै छन् । अमेरिका र स्कटल्यान्डको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ः३० बजे सुरु हुँदैछ ।
२६ खेल खेलेको अमेरिका ३६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने ३१ खेल खेलेको स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ । उपाधि होडमा रहेका अमेरिका र स्कटल्यान्ड दुवै देशका लागि आजको खेल महत्त्वपूर्ण छ ।
यस खेलमा स्कटल्याण्डले जित्दा तल्लो स्थानमा रहेका क्यानडा, नेपाल, नामिबिया, यूएईलगायत टिमलाई राहत हुनसक्छ।
३८ अंक जोडिसकेको स्कटल्याण्ड शीर्ष चारमा पर्ने पक्का छ। उसले अब लिग–२ मा पाँच खेल खेल्न बाँकी छ। २६ खेल खेलेको अमेरिकाले भने अझै १० खेल खेल्न बाँकी छ।
२७ खेल खेलेको नेपालको भने २२ अंक मात्र छ । नेपाल अहिले पाँचौं स्थानमा छ । अर्को खेलमा नेपालले त्रिवि मैदानमा अमेरिकासँग शुक्रबार प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदानमा अमेरिकाविरुद्ध लगातार जित निकाल्दै नेपाल दुई अंक जोड्ने दाउमा छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij