२०८३ बैशाख ६ गते आइतवार
काठमाडौं । उत्तर कोरियाले आइतबार समुद्रतर्फ लक्षित गर्दै छोटो दूरीका धेरै ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेपछि कोरियाली प्रायद्वीपमा पुनः तनाव चुलिएको छ ।
दक्षिण कोरियाली सेनाका अनुसार उत्तर कोरियाको सिन्पो क्षेत्रबाट प्रहार गरिएका ती मिसाइलहरू करिब १४० किलोमिटर उडेर देशको पूर्वी समुद्री क्षेत्रमा खसेका थिए । यस घटनापछि दक्षिण कोरियाले कुनै पनि सम्भावित उक्साहटको जवाफ दिन पूर्ण तयारीमा रहेको जनाउँदै संयुक्त राज्य अमेरिका र जापानसँग सूचनाको आदानप्रदान तीव्र बनाएको छ ।
अमेरिकी र जापानी सेनाले पनि प्रक्षेपण पत्ता लगाएको पुष्टि गरेका छन् । अमेरिकी इन्डो-प्यासिफिक कमान्डले क्षेत्रीय सुरक्षा र आफ्ना सहयोगीहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ । जापानको रक्षा मन्त्रालयले भने उत्तर कोरियाको यो कदमले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय शान्तिलाई जोखिममा पारेको र संयुक्त राष्ट्र सुरक्षा परिषद्का प्रस्तावहरूको उल्लङ्घन गरेको भन्दै कडा विरोध जनाएको छ ।
मिसाइल प्रक्षेपण गरिएको सिन्पो क्षेत्र उत्तर कोरियाको पूर्वी तटस्थित महत्त्वपूर्ण सहर हो । यहाँ पनडुब्बी निर्माणका लागि प्रमुख शिपयार्ड रहेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार यो प्रक्षेपण पनडुब्बीबाट गरिएको हो कि जमिनबाट वा दुवै प्लेटफर्म प्रयोग गरिएको हो भन्नेबारे विश्लेषण भइरहेको छ । जापानका रक्षामन्त्री मासाहिसा मियाजाकीले पनि यस विषयमा अमेरिका र दक्षिण कोरियासँग समन्वय भइरहेको बताएका छन् ।
यदि पनडुब्बीबाट प्रक्षेपण गरिएको पुष्टि भएमा यो चार वर्षपछि उत्तर कोरियाले गरेको पहिलो पनडुब्बी-आधारित ब्यालेस्टिक मिसाइल परीक्षण हुनेछ । यस्तो क्षमता विकास हुनु प्रतिद्वन्द्वी राष्ट्रहरूका लागि थप चुनौतीपूर्ण मानिन्छ, किनकि पानीमुनिबाट हुने प्रक्षेपण पहिचान गर्न कठिन हुन्छ । गत वर्ष उत्तर कोरियाले निर्माणाधीन आणविक पनडुब्बी सार्वजनिक गरेको थियो, जसले यस दिशामा उसको महत्त्वाकांक्षा झल्काएको थियो ।
यस वर्ष मात्र उत्तर कोरियाले पटक-पटक हतियार परीक्षण गरिरहेको छ । गत साता नेता किम जोङ उनले युद्धपोतबाट गरिएको क्षेप्यास्त्र परीक्षणको निरीक्षण गरेका थिए । त्यसअघि पनि तीन दिनसम्म विभिन्न नयाँ हतियार प्रणालीसहितका परीक्षणहरू गरिएको दाबी गरिएको थियो । गत महिना प्योङयाङले अमेरिकासम्म पुग्न सक्ने मिसाइलका लागि ठोस इन्धन इन्जिन परीक्षण गरेको जनाएको थियो ।
सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक वार्ता विफल भएपछि किम जोङ उनले आफ्नो आणविक तथा मिसाइल कार्यक्रम विस्तारमा जोड दिँदै आउनुभएको छ । यद्यपि ट्रम्पले पुनः वार्ताको इच्छा व्यक्त गरिरहनुभएको छ र उत्तर कोरियाले पनि संवादका लागि सङ्केत दिएको छ, तर प्योङयाङले पूर्वशर्तका रूपमा आणविक निःशस्त्रीकरणको माग हटाउन अमेरिकालाई आग्रह गरिरहेको छ ।
आगामी मे महिनामा ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच हुने भनिएको शिखर सम्मेलनलाई पनि उत्तर कोरियासँगको कूटनीतिक सम्भावनासँग जोडेर हेरिएको छ । केही विश्लेषकहरूका अनुसार उत्तर कोरियाको पछिल्लो परीक्षण गतिविधि भविष्यका वार्तामा आफ्नो मोलतोल शक्ति बढाउने रणनीति हुन सक्छ ।
यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले हालै उत्तर कोरियामा आणविक उत्पादन गतिविधिमा ‘तीव्र वृद्धि’ भएको पुष्टि गर्नुभएको छ । उहाँका अनुसार यी गतिविधिहरूले उत्तर कोरियाको आणविक हतियार उत्पादन क्षमतामा उल्लेखनीय विस्तार भएको सङ्केत गर्छ ।
बाह्य विश्लेषकहरूले पनि उत्तर कोरियाले आफ्नो प्रमुख योङब्योन आणविक परिसर विस्तार गरिरहेको र थप युरेनियम संवर्धन केन्द्रहरू निर्माण गरिरहेको बताएका छन् । गत वर्ष दक्षिण कोरियाका एकीकरण मन्त्री चुङ डोङ–युङले उत्तर कोरियाले चार वटा युरेनियम संवर्धन केन्द्र सञ्चालन गरिरहेको जानकारी दिनुभएको थियो, जसले यस क्षेत्रको सुरक्षा अवस्थालाई अझ जटिल बनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij