Logo

२०८२ फाल्गुण ५ गते मंगलवार

२०८२ फाल्गुण ५ गते मंगलवार

निर्वाचन नजिकीदै गर्दा वैदेशिक रोजगारीमा जान साढे ७० हजारले लिए श्रम स्वीकृति

निर्वाचन नजिकीदै गर्दा वैदेशिक रोजगारीमा जान साढे ७० हजारले लिए श्रम स्वीकृति


  • 162
    Shares

    निर्वाचन नजिकीदै गर्दा वैदेशिक रोजगारीमा जान साढे ७० हजारले लिए श्रम स्वीकृति

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन दुई साता पनि छैन । मतदान गर्ने दिन नजिकिँदै गर्दा वैदेशिक रोजगारीमा जान साढे ७० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । 

    उनीहरूले माघमा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएका हुन् । विभागका अनुसार २०८२ माघमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ७० हजार ५०३ छ । माघमा १०७ देशमा जान श्रम स्वीकृति लिनेमा ६२ हजार १६२ जना पुरुष र आठ हजार ३४१ जना महिला छन् ।
     
    विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ सुरु भए यताको सात महिना (साउनदेखि माघसम्म)मा वैदेशिक रोजगारीमा जान कुल चार लाख ७२ हजार ५७७ जनाले श्रम स्वीकृति लिएका छन् ।
     
    अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो सात महिनामा वैदेशिक रोजगारीमा जान विभागबाट चार लाख ६५ हजार ५०८ जनाले श्रम स्वीकृति लिएका थिए । 

    अघिल्लो आर्थिक वर्ष पहिलो सात महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या सात हजार ६९ ले बढी छ । अर्थात् अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो सात महिनामा श्रम स्वीकृति लिनेको संख्या १.५१ प्रतिशतले बढेको छ ।
     
    विभागको तथ्यांक अनुसार ०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ र माघ ७० हजार ५०३ जनाले श्रम स्वीकृति लिएका छन् ।
     
    माघमा युनाइटेड अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, रोमानिया, जापान, साइप्रस, ओमान, बहराइन र क्रोएसिया जान सबैभन्दा ठूलो संख्याले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

    माघमा यूएई जान १५ हजार १३७, साउदी जान ११ हजार ५९२, कतार जान ११ हजार ५८०, मलेसिया जान १० हजार ३४१, कुवेत जान ५ हजार ४४३, रोमानिया जान ३ हजार ९४०, जापान जान एक हजार ७६०, साइप्रस जान एक हजार २५५, ओमान जान एक हजार २०५, बहराइन जान एक हजार १२७ जना र क्रोएसिया जान ८४८ जनाले श्रम स्वीकृति लिएका छन् ।
     
    विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८ र माघमा ७२ हजार ४४१ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

    प्रकाशित मिति :फाल्गुण ५ २०८२ मंगलवार - १५:२२:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij