२०८२ पौष १६ गते बुधवार
काठमाडौँ । सिनामंगलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरणको परिसर बुधबार वर्षगाँठको औपचारिक कार्यक्रमले सजिएको थियो । अवसर थियो– प्राधिकरणको २७औँ वार्षिकोत्सव । मञ्चमा मन्तव्यहरू क्रमशः अघि बढिरहेका थिए । नेपालको उड्डयन क्षेत्रका उपलब्धिका सूचीहरू सुनाइँदै थिए ।
तर कार्यक्रमले त्यतिबेला फरक मोड लियो, जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले लिखित मन्तव्य पन्छाएर आफ्नै भोगाइ सुनाउन थाले । ‘आज मैले केही थप बोल्नै पर्ने भयो,’ मन्त्री सिन्हाको यो वाक्यसँगै औपचारिक भाषण यात्रुका असहज अनुभवका कथातर्फ मोडियो ।
मन्त्री हुनुअघिका दिनहरू सम्झँदै उनले आफू पद र हैसियत नदेखाई सामान्य नागरिकसरह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थल प्रयोग गर्दा पाएको अनुभूति सुनाए । त्यो अनुभूति गौरवको होइन, पीडाको थियो ।
उनका शब्दमा, विमानस्थलमा देखिएको सुधार गहिरो छैन– देखावटी मात्र छ । ‘सुधार भएको जस्तो देखिन्छ, तर त्यो कस्मेटिक मात्रै हो,’ उनले भने । मन्त्री सिन्हाले विमानस्थल प्रवेश गर्ने क्षणदेखि जहाज चढेर बाहिर निस्कँदासम्मको यात्रालाई सहज भन्न सकेनन् । ‘विमानस्थलमा पसेदेखि आफ्नो गाडी, ट्याक्सी वा बसमा निस्कँदासम्म असहजता भोगेको छु,’ उनले स्पष्ट शब्दमा भने ।
यो असहजता केवल उनको व्यक्तिगत अनुभव थिएन । उनका अनुसार, सामान्य नेपाली नागरिकदेखि विदेशी पर्यटकसम्मले विमानस्थलमा सुखद अनुभूति पाउँदैनन् । सेवा, व्यवस्थापन र व्यवहार–तीनै तहमा समस्या देखिएको उनको निष्कर्ष थियो ।
मञ्चमा उपस्थित उड्डयन क्षेत्रमा सरोकार राख्ने, पर्यटन सचिव, पाइलट, वायुसेवा सञ्चालक र कर्मचारीमाझ उनले एक किसिमको दुख व्यक्त गर्दै भने, ‘विमानस्थलमा नागरिक र पर्यटकले पैसा तिरेर पाउनु पर्ने सेवा हो तर त्यही ठाउँबाट नकारात्मक अनुभूति बोकेर फर्कनुपर्ने अवस्था दुःखद छ ।’
कार्यक्रममा उनीअघि निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले प्राधिकरणका एक वर्षका उपलब्धिका सूची सुनाएका थिए । तर मन्त्रीको दृष्टिमा, सूचीभन्दा धेरै लामो छ– अझ गर्न बाँकी कामको फेहरिस्त रहेको छ । ‘उपलब्धिभन्दा ठूलो सूची तपाईंहरू सम्बोधन गर्न चुकिरहनुभएको छ,’ उनको टिप्पणी थियो ।
चुनावी सरकारका मन्त्रीका रूपमा आफू करिब दुई महिनामात्र रहने उल्लेख गर्दै उनले यही छोटो समयलाई परिवर्तनको अवसर बनाउन निर्देशन दिए । कर्मचारीलाई बहाना नचल्ने स्पष्ट सन्देश दिँदै उनले भने, ‘फलाना मन्त्री, फलाना सचिव वा राजनीतिक दबाब थियो भन्ने छुट अब हुँदैन ।’
उनले उडान सुरक्षालाई केन्द्रमा राख्दै कर्मचारीहरूको सहयोग बिना सुधार असम्भव हुने पनि बताए । ‘दुई महिना धेरै ठूलो समय हो,’ भन्दै उनले देशका लागि जिम्मेवार भएर काम गर्न आग्रह गरे ।
मन्त्री सिन्हाको मन्तव्य केवल आलोचनामा मातरै । सीमित रहेन । उनले विगतमा आफूले संयोजन गरेको उच्चस्तरीय नागरिक उड्डयन अध्ययन आयोगको प्रतिवेदनलाई मार्गचित्रका रूपमा प्रयोग गर्न निर्देशन दिए । उक्त प्रतिवेदवयनलाई उनले यात्रुले विमान चढ्दा सुरक्षित महसुस गर्न सक्ने गरी बदल्ने दस्तावेज भएको बताए ।
कार्यक्रममा उनले हालै आफू २५ मिनेट आकाशमा होल्डमा परेको व्यक्तिगत अनुभव पनि सुनाए । पोखराबाट काठमाडौं फर्कँदा २०–२५ मिनेट आकाशमै होल्ड हुनुपरेको घटना उल्लेख गर्दै उनले समय तालिकाको पालना कति महत्त्वपूर्ण छ भन्ने कुरा एयर ट्राफिक कन्ट्रोलरहरूसँग प्रत्यक्ष जोडेर भने । मन्त्रीको यो मन्तव्य औपचारिक भाषणभन्दा फरक थियो । यो यात्रुको आँखाबाट देखिएको विमानस्थलको कथा थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij