२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत जवान थापाको हत्या आरोपमा प्रहरीले सुकेधारा क्षेत्रबाट थप दुई जनालाई पक्राउ गरेको हो ।
आरोपीहरूले जवान उत्तम थापालाई कुटपिट गरेको सीसीटीभी फुटेजमा देखिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताएका छन् । आन्दोलनकारीको कुटपिटबाट प्रहरी जवान थापाको मृत्यु भएको थियो ।
सोमबार पक्राउ परेका दुवै जना आरोपीलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याएर थप अनुसन्धान थालिएको छ ।
जेनजी आन्दोलनमा प्रदर्शनकारीको आक्रमणबाट महाराजगन्जमा असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाएका थिए । प्रहरी हत्यामा संलग्न आरोपमा यसअघि पक्राउ परेका ५ जना काठमाडौं प्रहरीको हिरासतमा रहेका छन् । थुनामा हुनेहरूमा सोम गुरुङ, राजीव गुरुङ, युनिक श्रेष्ठ, सुमित तितुङ र दीपक मगर रहेका छन् ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टिकाराम बिक छन् ।
प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij