२०८२ कार्तिक ११ गते मंगलवार
काठमाडौं । नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्ने उद्देश्यले द हिमालयन स्विङ ओपन गल्फ २०२५ आयोजना हुने भएको छ । रोटरी क्लब अफ हिमालयन गल्फर्सले कोष संकलनका लागि द हिमालयन स्विङ ओपन आयोजना गर्न लागेको हो ।
उक्त प्रतियोगिता आगामी कात्तिक १५ गते गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । गल्फ फर अल परियोजनाका लागि कोष संकलन यो प्रतियोगिता गर्न लागिएको हो । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै कोषबाट युवाहरू र महिलाको सहभागिता प्रवर्धन गर्ने आयोजकले जनाएको छ । गल्फ फर अल अभियान पहिलोपटक सुरु हुँदै छ । रोटरी क्लब अफ हिमालयन गल्फर्सले सेवा र खेललाई एकसाथ जोड्दै अवसर सिर्जना गर्ने उद्देश्यअनुरूप रहेको उल्लेख गरेको छ ।
यस प्रतियोगिताबाट रोटेरियन, व्यवसायी, कूटनीतिज्ञ र गल्फप्रेमीलाई एकै ठाउँमा ल्याउने आयोजकले जनाएको छ । प्रतियोगिताबाट संकलन हुने रकम गल्फ फर अल अभियानका लागि खर्च गरिने गरिने भएको छ । यो रकमबाट सबैभन्दा पहिला प्रतिभाशाली १५ वर्षीया गल्फर अवानी राई लाभान्वित हुने आयोजकले उल्लेख गरेको छ ।
भारतको कर्नाटकस्थित तरुण सरदेसाई गल्फ एकेडेमीमा अवानीको अध्ययनका खर्च गरिने भएको छ । अवानीको अध्ययनका लागि रोटरी क्लब अफ हिमालयन गल्फर्सले ८० प्रतिशत र बाँकी २० प्रतिशत उनको परिवारले खर्च गर्नेछ । क्लबका अध्यक्ष रोटेरियन दमन घलेले अवानीको छनोटप्रति खुशी व्यक्त गर्दै उनी प्रतिभाशाली र अनुशासित खेलाडी रहेको उल्लेख गरेका छन् ।
युवा खेलाडी अवानीले पनि आफूलाई विश्वास गर्दै ठूलो अवसर दिएकोमा रोटरी क्लब अफ हिमालयन गल्फर्सलाई धन्यवाद दिइन् । साथै देशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने आफ्नो सपनाको नजिक पु¥याइदिएको उनले उल्लेख गरिन् ।
रोटरी क्लब अफ हिमालयन गल्फर्सकी सदस्य आरतीराज्य राणाले यस वर्ष करिब ५० लाख रुपैयाँ सम्म रकम संकलन गर्ने अपेक्षा रहेको र त्यो रकम गल्फ फर अलका लागि खर्च गरिने उल्लेख गरिन् । रकम संकलनका लागि हुने प्रतियोगितामा कुल एक सय २० गल्फरले चुनौती प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
विजेताले दुबईको राउन्ड ट्रिप टिकट र एक विजेतालाई युरोपको राउन्ड ट्रिप टिकट पुरस्कार पाउनेछन् । दशौं होलमा होल इन वान गर्ने गल्फरले बिवाइडी एट्टो थ्री पुरस्कार पाउने आयोजकले उल्लेख गरेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij