२०८२ भाद्र १८ गते बुधवार
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणको अन्तिम सुनुवाइ सुरु भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश धुव्रराज कार्कीको इजलासमा पेसी तोकिएको छ । यो प्रकरणमा ३३ जना प्रतिवादी छन् । ३० जेठ २०७६ मा गृहमन्त्री रामबहादुर थापा बादलको पालामा पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वमा भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै कार्यदल गठन भएको थियो ।
पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रुपमा गणेशबहादुर केसी र सदस्य सचिवको रुपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए । कार्यदल बनेदेखि नै ठगीको प्रक्रिया सुरु भएको अनुसन्धानबाट खुलेको थियो ।
उक्त कार्यदलको प्रतिवेदनमा नक्कली भुटानी शरणार्थीको समेत नाम समावेश गराएर अमेरिका पठाउने भन्दै रकम असुलिएको थियो । यो काम भने कांग्रेस नेता तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको पालमा भएको थियो । खाँणको पालामा पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै ठगी भएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।
भुटानी शरणर्थाी ठगी प्रकरणको उजुरी प्रहरीमा परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यसका आरोपीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । सो क्रममा हाइप्रोफाइल व्यक्तिहरुको संलग्नता रहेको खुलेको थियो । यो प्रकरणमा तीन चरणमा गरी ठगी, राज्य विरुद्धको अपराध, संगठित अपराधलगायतको कसुर लगाइएको थियो ।
पहिलो चरणमा ११३ जना पीडितबाट परेका २८ वटा जाहेरीहरुको अनुसन्धान गरी ३० जनालाई प्रतिवादी बनाउँदै १० जेठ २०८० मा मुद्दा दायर भएको थियो । त्यसबेला ३० जनाविरुद्ध २८ करोड, १ लाख ७४ हजार ५ सय बिगो मागदाबी गर्र्दै मुद्दा दायर भएको थियो ।
यो मुद्दा अदालतमा गइसकेपछि फेरि पूरक जाहेरी परेको थियो । पूरक जाहेरीको १८ जनाबाट ५ वटा जाहेरी प्रहरीमा परेको थियो । दोस्रो पटक आङटावा शेर्पा, सागर राई, केशवप्रसाद दुलाल, सानु भण्डारी रामशरण केसी, गोकुल थापा र उनकी श्रीमती रमा थापाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । त्यतिबेला २ करोड १७ लाख ९२ हजार बिगो कायम गर्दै मुद्दा दर्ता गरिएको थियो ।
पहिलोपटक मुद्दा दर्त गरिएका ३० जना र दोस्रो पटक मुद्दा दर्ता पाँच जना पहिल्यै प्रतिवादी थिए भने गोकुल र रमालाई पनि प्रतिवादी बनाएपछि भुटानी शरणार्थीका प्रतिवादीको संख्या ३२ पुगेको हो । २०८१ असारमा बेचन झा पक्राउ परेपछि प्रतिवादीको संख्या ३३ पुगेको थियो ।
यसअघि बेचनलाई यकिन नाम ठेगाना नखुलेको भन्दै मुद्दा दायर भएको थिएन । उनीसँगै पक्राउ परेका रामबहादुर थापा बादलका छोरा प्रतिक भने यसअघि नै प्रतिवादी बनेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij