२०८२ चैत्र २ गते सोमवार
प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जवाफ दिएका छन्। आफूले बोलाएको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा नगएपछि बालेनलाई संकेत गर्दै सोमबार दिउँसो प्रधानमन्त्री ओलीले अबदेखि नबोलाउने टिप्पणी गरका थिए।
त्यसको जवाफमा साँझ बालेनले सामाजिक सञ्जाल मेटामार्फत ओलीलाई भ्रष्टाचारीको नाइके भएको आरोप समेत लगाएका छन्। उनले आफूले भ्रष्टाचार रोक्छु भन्दा देशका सबै पार्टीका सबै लागेर भ्रष्टचारी जोगाउन लागेको पनि आरोप लगाएका छन्।
उनले लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टचार रोक्छु भन्दा, देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ। त्यसको नाइकेको कार्यक्रममा म गइदिनु पर्ने? सरी केपी ओली, म तपाईंको भ्रष्ट प्रणालीलाई सहयोग गर्न सक्दिनँ।’

त्यसअघि दिउँसो ओलीले बालेनलाई लक्षित गर्दै भनेका थिए, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ की क्या हो। कोही कोही मान्छे हरेक फंग्सनमा राख्ने गर्दछौँ। कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् की जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने। यस्तो हुँदैन।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij