२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा वैशाख १३ गते पक्राउ परी मंगलबार मुद्दा दायर गरिएको नेपाली कांग्रेसकी सांसद माया राईले सहकारीको सञ्चालक समितिको बैठक पुस्तिकमा भएका हस्ताक्षर आफ्नै भएको स्वीकार गरेकी छन् । तर, हालसम्म आफूले उक्त सहकारीको कार्यालय नदेखेको र त्यहाँ आफू पुग्दा पनि नपुगेको दाबी गरेकी छन् ।
उनले उक्त सहकारीमा कार्यरत अन्य कर्मचारी, सञ्चालक सदस्य पदाधिकारीहरु कसैलाई नचिनेको नदेखेको बताएकी छन् । आफू काठमाडौँको हाडिगाउँमा डेरा गरी बस्दै सोही घरको अर्को डेरा कोठामा बस्ने भूपेन्द्र राई नामको व्यक्तिसँग चिनजान भइ राईले नै सहकारीको सदस्यमा राखिदिएको बताएकी छन् ।
आफूलाई सोध्दै नसोधी किन राखेको भन्दा राईले सदस्य पदमा बस्दा केही हुँदैन भन्ने आश्वासन दिलाइ आफ्नो नागरिकताको फोटोकपी समेत आवश्यक परेको भनी लिएर गएको बयान दिएकी छन् ।
आफू र राई उक्त घरमा डेढ वर्ष सँगै डेरामा बसेको र चिनजान तथा बोलीचाली राम्रो लागेकाले राजनीतिक सहयोग पनि गरेको बताएकी छन् । डेरा सरेर जानुअगाडि सहकारीको माइन्युटिङ निर्णयका फोटोकपीहरु डेरामै ल्याइ हस्ताक्षर गराएको उनको भनाइ छ ।
‘माइन्युटिङ निर्णय गरेको फोटोकपीहरु डेरा कोठामा नै लिएर आई मलाई देखाई दिदी यसमा तपाईंको नाम राखेको छ, उक्त तपाईंको नाम रहेको सम्पुर्ण कागजातहरुमा हस्ताक्षर गरी सहयोग गर्नुपर्यो भन्न आएको हुँदा मैले विश्वासको आधारमा मलाई सही गर्न दिएको सबै कागजातहरुमा डेरा कोठाबाट नै सहीछाप गरिदिएकी हुँ,’ उनले बयानमा भनेकी छन् ।
यस्तो छ प्रहरीसमक्ष उनले दिएको बयान
मिति २०८१।०९।२१ गते अनुसन्धान अभियोजन पश्चात सम्मानित काठमाडौं जिल्ला अदालतमा दायर भएको मिसिल संलग्न ६६९ जना निक्षेपकर्ताहरूले दिएको ८७ थान किटानी जाहेरी दरखास्त र पछि थप प्राप्त हुन आएको राम वालक पटेल सहित २० जना बचतकर्ता पीडितहरुले पेश गरेको ६ (छ)थान किटानी जाहेरी दरखास्तहरु पढी वाची सुनाउँदा व्यहोरा सुनी अवगत भयो।
मेरो काठमाडौं स्थित हाडी गाउँमा डेरा गरी बस्दा सोही घरको अर्को डेरा कोठामा बस्ने भुपेन्द्र राई नाम गरेको व्यक्तिसँग चिनजान भई कुराकानी हुँदै जाने क्रममा निजले मलाई निज काम गर्ने सहकारीको सदस्य पदमा राखिदिएको छ हैं भनि भन्न आएको हुँदा मैले किन मलाई नसोधी राखेको, मलाई सहकारी सम्बन्धी कुनै जानकारी नभएको र आफ्नो चासोको विषय पनि नरहेको भन्दा निजले केही हुँदैन दिदी म काम गर्ने सहकारीको सदस्य पदमा बस्दा, पछि केही भयो भने मलाई भन्नु भनि विश्वास दिलाएकोर त्यसको केही समय पछि निज भुपेन्द्र राईले मलाई सहकारीमा मेरो नागरिकताको छाँयाकपी समेत आवश्यक परेको छ भनि म सँग माग्न आएको हुँदा मैले निज भाईलाई चिनजनाको हिसावले राम्रै कामको लागि होला भनि आफ्नो नागरिकताको छाँयाकपी समेत दिएकी पठाएकी हुँ।
निजले मबाट लिएर गएको उक्त नागरिकताको छायाँकपी सहकारीमा लगी बुझायो, बुझाएन मलाई थाहा छैन । यसरी निज भुपेन्द्र राई र म एउटै घरको छुट्टा छुट्टै कोठाहरुमा डेरा गरी बस्दा निजले के कुन सहकारीमा काम गरेँ र उक्त सहकारीको नाम के थियो मलाई थाहा जानकारी थिएन। यसरी एकै घरमा डेरा गरी बस्दा चिनजान भएको र बोलीचाली पनि राम्रै लागेको हुँदा मैले निजलाई आफूले राजनीतिक तर्फबाट गर्नु पर्ने सहयोग समेत गरेको थिएँ । म र निज भुपेन्द्र राई उक्त घरमा करिव ढेड वर्ष जति सँगै बसेका थियौँ ।
यसरी एकै घरमा बस्दा निजलाई मैले अस्पतालको ल्याबमा काम गर्न सहजिकरण समेत गरिदिएको थिएँ। निजले पछि उक्त घरबाट डेरा सरी जानु भन्दा अगाडी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का माईन्युटिङ निर्णय गरेको फोटोकपीहरु डेरा कोठामा नै लिएर आई मलाई देखाई दिदी यसमा तपाईंको नाम राखेको छ, उक्त तपाईंको नाम रहेको सम्पुर्ण कागजातहरुमा हस्ताक्षर गरी सहयोग गर्नु पर्यो भनि भन्न आएको हुँदा मैले विश्वासको आधारमा मलाई सहि गर्न दिएको सबै कागजातहरुमा डेरा कोठाबाट नै सहिछाप गरिदिएकी हुँ। के कुन कागजातहरुमा सही छाप गरें, उक्त समयमा थाहा भएन । मैले उक्त कागजातहरु नपढी नहेरी म सँगै बस्ने निज भुपेन्द्र राई भन्ने भाइको कुरामा बिश्वास गरी हस्ताक्षर गरेकी हुँ। पछि निज डेरा सरी अन्तै गए पश्चात पनि पुनः मलाई फोन गरेर दिदि कँहा हुनुहुन्छ भनी फोन गरी सोध्न आएको हुँदा मैले फेरी हस्ताक्षर गर्न फोन गरेको होला, अव देखि हस्ताक्षर केही गर्दिन, मेरो नाम सहकारीबाट हटाईदिनु भनेँ र त्यस दिन देखि मेरो निज सँग कुनै किसिमको फोन सम्पर्क भएको थिएन, छैन ।
तर त्यसको करिव २ वर्ष पछि सहकारीमा काम गर्ने एकिन नाम थाहा नभएको कर्मचारीले मलाई फोन गरी साधारण सभा हुन लागेको छ, सहभागी हुन आउनुहोला दिदी भनि जानकारी गराउन आएको हुँदा म काठमाडौं ववरमहल स्थितमा रहेको कार्की बैंक्युट मा आफ्नो नाम विधिवत रुपमा हटाउन भनि सहभागी हुन गएकी हुँ । उक्त कार्की बैंक्युट मा पुग्दा निजहरुले मलाई स्टेजमा बोलाई अतिथि आशन ग्रहण गराई स्वर्णलक्ष्मी वहुउद्देश्यीय सहकारी संस्थाको वार्षिक साधरण सभा लेखिएको सिसाको मायाको चिन्ह दिएका थिए ।
पछि कार्यक्रमको समाप्ति अगाडी नयाँ निर्वाचित संचालक समितिहरुको नामावली सुनाउँदा आफ्नो नाम नभएको र निजहरुले मेरो नाम हटाएका रहेछन् भनि थाहा पाई म उक्त कार्यक्रमबाट निस्की गएकी हुँ । सहकारीमा संचालक सदस्य र संचालक सह सचिव पदमा आफ्नो नाम उल्लेख गरिदिएता पनि मैले स्वर्णलक्ष्मी सहकारीमा आवद्ध भई कुनै किसिमको खाता खोल्ने, ऋण प्रवाह गर्ने, लगानी गर्ने तथा अन्य महत्वपुर्ण निर्णयहरु गर्दा बैठक छलफलहरुमा सहभागी हुने जस्ता कुनै किसिमको कार्यहरु गरेको छैन । सहकारीमा काम गर्ने भुपेन्द्र राईले जवरजस्ती सहकारीको सदस्य र सह सचिव पदमा राखी निज आफैले म तत्कालिन समयमा बस्ने डेरा कोठामा बोकी ल्याएको सहकारीको माईन्युट लगायतका निर्णय कागजातहरुमा सहीछाप गर्न लगाएका हुन् ।
मैले हाल सम्म उक्त सहकारीको कार्यलय देखेको र पुगेको छैन । साथै सो सहकारीमा कार्यरत अन्य कर्माचारी, संचालक सदस्य पदाधिकारीहरु कोही कसैलाई चिनेको देखेको छैन । आफ्नो नाम हटाउन भनि सहकारीको वार्षिक साधरण सभामा उपस्थित हुन पुग्दा सहकारीका अध्यक्ष कल्पना कुमारी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै थिए । मैले सोही वेला निजलाई सहकारीको अध्यक्ष रहेको भनी चिनेकी हुँ। सहकारीमा आफ्नो नाम सदस्य र सह सचिव पदमा रहेता पनि आफ्नो कुनै भुमिका नरहेको हुँदा सहकारीको रकम अपचलन गरी हिनामिना गर्ने कार्यमा कुनै किसिमको संलग्नता छैन ।
सुमन खनाल समेतका ६६९ जना निक्षेपकर्ताहरूले सहकारीमा निक्षेप गरेको ८७ थान किटानी जाहेरी दरखास्तमा उल्लिखित जम्मा नगद रु. १,१९,४९,२१,२७०/– (अक्षरुपी एक अर्व उन्नाईस करोड उनन्पचास लाख एकाईस हजार दुई सय सत्तरी दुपैया मात्र ) विगो रकमर थप प्राप्त हुन आएको वालक पटेल सहित २० जना बचतकर्ताहरुले पेश गरेको ६ (छ) (जाहेरी नं. ९४ देखि ९९ सम्म) थान किटानी जाहेरी दरखस्तमा उल्लेखित जम्मा रकम रु. १६,७३, ३७१/– (अक्षरुपी सोह लाख त्रिहत्तर हजार तीन सय एकहत्तर रुपैया ) सहित कुल विगो रकम रु. १,१९,८६,५७,११३/– (अक्षरुपी एक अरव उनाईस करोड छ्या लाख सन्ताउन्न हजार एक सय तेह्र रुपैया ) ठगी गरी लिएको हाल थाहा हुन आएको हुँदा उक्त रकम अपचलन गर्ने कार्यमा संलग्न प्रतिवादी गितेन्द्र बाबु राई समेतका व्यक्तिहरुलाई नै कानुन बमोजिम कारवाही हुनुपर्दछ, मिसिल संलग्न बरामदी मुचुल्कामा उल्लेखित आ.व. २०७३।०७४ र २०७४।०७५ को संचालक समितिको बैठक पुस्तिका (रजिस्टर) भित्र रहेको मेरो हैसियत र नाम अगाडीको सबै हस्ताक्षरहरु मेरो आफ्नै हस्ताक्षर हुन्, हेरी चिनी सनाखत गरिदिएँ । उक्त प्रत्येक पानामा मेरो नाम अगाडी भएको हस्ताक्षर मैले प्रतिवादी भुपेन्द्र राईको अनुरोधमा गरेकी हुँ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij