२०८२ भाद्र २३ गते सोमवार
काठमाडौँ । ताइवानका यातायातमन्त्री लिन चिया लुन्गले शुक्रबार भएको रेल दुर्घटनाको जिम्मेवारी लिएका छन् । दुर्घटनास्थलमा पुगेका मन्त्री लिनले आफु जिम्मेवारीबाट नभागेको बताउदै आफुले दिएको राजीनामा अस्वीकृत भएको बताएका छन् ।
मन्त्री लिनले सम्पूर्ण उद्धार कार्यको आफुले नेतृत्व गरिरहेको बताउदै उद्धार कार्य सकिएपछि आफुले घटनाको सम्पूर्ण जिम्मेवारी लिने बताएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ ।
उनले ताइवानका प्रिमियर सु टिसेंग चांगलाई फोन गरेर राजीनामा दिने प्रस्ताव गरेपनि उनले अहिले सबैध्यान उद्धारमा केन्द्रित गर्नुपर्ने भन्दै राजीनामा अस्विकार गरेको बताइएको छ ।
ताइवानको इतिहासमा अहिलेसम्मको सर्वाधिक भयानक रेल दुर्घटनाबाट ५१ जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ ।मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको थियो ।
खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् ।
छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए । तिब्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङ ९टनेल० भित्र प्रवेश गर्नैलाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो ।
पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ ।
उद्धारकर्ताहरुले सुरुङ भित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए । तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो ।
उक्त दुर्घटनामा परेका १७५ जनाभन्दा बढी व्यक्तिलाई अस्पतालमा भर्ना गरिएको थियो । मृतकहरुमा एक जना फ्रान्सेली नागरिक पनि रहेका थिए ।
ताइवानमा सन् २०१८ मा पनि ठूलै रेल दुर्घटना भएको थियो जसमा १८ जनाको मृत्यु भएको थियो । सन् १९९१ मा दुईवटा रेल एकआपसमा ठोक्किएर भएको अर्को दुर्घटनामा ३० जना यात्रुको ज्यान जानुका साथै ११२ जना गम्भीर घाइते भएका थिए ।
बम
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij