Logo

२०८२ भाद्र २७ गते शुक्रवार

२०८२ भाद्र २७ गते शुक्रवार

रुस– युक्रेन युद्ध : २ वर्षको लेखाजोखा 

रुस– युक्रेन युद्ध : २ वर्षको लेखाजोखा 


  • 2.1K
    Shares

    रुस– युक्रेन युद्ध : २ वर्षको लेखाजोखा 
    images
    २ वर्षभन्दा बढी भयो रुस युक्रेन युद्ध सुरु भएको । यसबिच दुबै देशले उल्लेख्य क्षति ब्यहोरेका छन् । यस युद्धमा दुवैतिर गरी ५ लाखभन्दा बढी सैनिक मारिएको अनुमान छ । रुसले कति सैनिक गुमायो, युक्रेनका कति मारिए भन्नेबारे दुवै पक्षको आ–आफ्नै दाबी छन् । रुसले युद्धमा मारिएका आफ्ना सैनिकबारे आधिकारिक विवरण सार्वजनिक गरेकै छैन । युक्रेनले युद्धमा मारिएका रुसी सैनिकको संख्या सार्वजनिक गरे पनि आफ्ना सैनिकबारे प्रस्ट विवरण ल्याएको छैन । 
     
    रुसी सेनाको विषयमा विभिन्न देश, संस्थाका भिन्नभिन्न अनुमान छन् । युक्रेनसँगको युद्धमा रुसका ५ लाखभन्दा बढी सैनिक मारिएको दाबी अमेरिकाले गरेको थियो । आज (शुक्रबार) मात्रै फ्रान्सका विदेशमन्त्री स्टिफन सेजर्नले युद्धमा मारिने रुसी सैनिकको संख्या करिब १ लाख ५० हजार हुन सक्ने बताएका छन् । दुई वर्षभन्दा बढी समयको अवधिमा घाइते, बेपत्तासहित गरी रुसका करिब ५ लाख सैनिक प्रभावित भएको उनको दाबी छ । 
     
    मृतक र घाइते गरी रुसले करिब ४ लाख ५० हजार सैनिक गुमाएको दाबी बेलायतले गरेको थियो । गत अप्रिलमा बीबीसीमा प्रकाशित एक रिपोर्टमा करिब ५० हजार रुसी सैनिक मारिएको उल्लेख थियो । गत फेब्रुअरीमा जेलेन्स्कीले १ लाख ८० हजार रुसी सैनिक मारिएको दाबी गरेका थिए । बिहीबार युक्रेनको सशस्त्र बलको जनरल स्टाफको रिपोर्टमा दुई वर्षको अवधिमा रुसले ४ लाख ७९ हजार ७ सय १० सैनिक गुमाएको दाबी गरिएको छ । 
    सेनाले रुसका ७ हजार ४ सय ३४ ट्याङ्क, १४ हजार ३ सय १३ बख्तरबन्द लडाकु वाहन, १६ हजार ६ सय ९१ अन्य वाहन र इन्धन ट्याङ्क ध्वस्त पारिदिएको छ युक्रेनी सेनाले दावी गरेको छ । यसैगरी, १२ हजार ३ सय ८७ आर्टिलरी सिस्टम, १ हजार ६२ मल्टिपल लञ्च रकेट सिस्टम, ७ सय ९३ एयर डिफेन्स सिस्टम, ३ सय ४९ एरोप्लेन, ३ सय २५ हेलिकोप्टर, ९ हजार ८ सय २६ ड्रोन, २६ सिप, बोट र एक पनडुब्बी रुसले गुमाएको दाबी युक्रेनी रिपोर्टमा  गरिएको छ । 
     
    त्यसैगरी यस युद्धमा युक्रेनतर्फपनि उल्लेख्य क्षति भएको छ । युद्धमा युक्रेन कमजोर बनिरहेका खबरहरू आइरहेका छन् । अमेरिकाले ठूलो सहायता रकम पारित नगर्दासम्म युक्रेन घुँडा टेक्नै लागेको थियो । तैपनि, युक्रेनको तुलनामा झण्डै चार गुणा बढी रुसी सैनिक मारिएको भन्दै एकपछि अर्को अनुमान र दाबी भइरहेको छ । युक्रेनको सरकारले युद्धमा हराएका वा मारिएका सैनिकको संख्या खुलासा गर्दैन । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले गत फेब्रअरीमा आफ्ना ३१ हजार सैनिक मारिएको र लगभग यसको आधा संख्यामा बेपत्ता रहेको बताएका थिए ।
    अमेरिकी अधिकारीको अनुमानमा गत अगस्टसम्म नै युक्रेनका ७० हजारभन्दा बढी सैनिक मारिएका थिए । रुसको कैदमा युक्रेनका हजारौँ सैनिक रहेको अनुमान गरिन्छ । यद्यपि, ठ्याक्कै कतिलाई रुसले बन्दी बनाएको छ भन्ने थाहा पाउन गाह्रो छ । किनभने रुसले युद्धबन्दीको सूची जारी गर्दैन । 
    https___archive-images.prod.global.a201836.reutersmedia.net_2022_04_08_2022-04-08T175320Z_18298_MRPRC2XGT9IPTF7_RTRMADP_0_UKRAINE-CRISIS-BORODYNKA.jpg
     
    जनस्तरमा रुसले भन्दा युक्रेनले धेरै ठूलो क्षतिको सामना गर्नुपरेको छ । आर्थिक हिसाबले पनि युक्रेन ठूलो मारमा परेको छ । युद्धका कारण युक्रेनको एकतिहाइ जनसंख्या विस्थापित भइसकेको छ । दुई वर्षमा करिब १ करोडभन्दा बढी युक्रेनियन अझै आफ्नो घर फर्किन सकेका छैनन् । करिब ४ करोड मानिस आन्तरिक रूपमा विस्थापित छन् । ६ करोडजति शरणार्थी युरोपसँगै विदेशमा आश्रय लिएर बसेका छन् । 
     
    युक्रेनी आकाशबाट रुसी मिसाइल र बम युक्रेनमा बर्षिरहेका छन् । हालै मात्र रुसले एकै रातमा दर्जनौँ मिसाइल हानेको छ । यसबाट चार पावर प्लान्टमा क्षति पुगेको छ । रुसी आक्रमणबाट युक्रेनको ७० प्रतिशत ऊर्जा उत्पादन सुविधाहरूमा क्षति पुगेको छ । युद्धबाट जुन क्षति भएको छ, यसको पुनर्निर्माणमा ४ सय ८६ विलियन डलरको लागत लाग्ने देखिएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले एक सरकारी बैठकमा यस्तो बनाएको युक्रिफर्मको रिपोर्टमा उल्लेख छ । 
     
    ‘युक्रेनको स्वतन्त्रताका लागि संघर्ष जारी छ,’ उनले भनेका छन्, ‘तर हामी पहिल्यैदेखि पुनर्निर्माणको योजना बनाइरहेका छौँ, साझेदारहरूलाई बोलाइरहेका छौँ, संसाधन खोजिरहेका छौँ ।’ स्मिहलले युद्धका क्रममा रुसले २ लाख ५० हजारभन्दा बढी आवासीय भवन, ४ हजार स्कुल, १ हजारभन्दा बढी अस्पताल र विभिन्न अन्य सुविधा नष्ट वा क्षतिग्रस्त पारिदिएको पनि बताए ।
     
    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सहयोगी देशसँग इजरायललाई जस्तै बलियो र एकीकृत साथ मागिरहेका छन् । ७ अक्टुबरमा प्यालेस्टाइनी विद्रोही समूह हमासले आक्रमण गरेपछि युद्धको घोषणा गरेको इजरायललाई अमेरिकासहित पश्चिमी देश र युरोपका देशले साथ दिएका थिए । गत अप्रिलमा इरानले इजरायलमाथि हानेका सयौँ मिसाइललाई असफल पार्न अमेरिका, बेलायत, अस्ट्रेलियासहितका देशले सघाएका थिए ।  
     
    एपीकी पत्रकार तारा कोप भन्छिन्, ‘युक्रेनको सबैभन्दा ठूलो आवश्यकता रुसका मिसाइल आक्रमण रोक्नु हो । राष्ट्रपति जेलेन्स्कीले पनि यसबारे बोलिरहेका छन् । उनलाई एयर शिल्ड चाहिएको छ । यस्तो एयर शिल्ड, जसले उनको शहरलाई रुसको मिसाइलबाट सुरक्षित राख्न सकोस् ।’ तर, नाटोबाट युक्रेनलाई बलियो साथ मिलेको छैन । यसको फाइदा रुसले उठाइरहेको छ । 
     
    अमेरिकामा पारित आर्थिक सहायताको बल प्राप्त गर्नुअघि नै रुस जति सम्भव हुन्छ, त्यति धेरै युक्रेनी भूमि कब्जा गर्ने कोसिसमा छ । थाकेका र हतियारको अभाव झेलिरहेका युक्रेनी सैनिक पश्चिमी सहयोगको प्रतीक्षामा निकै कठिनाइका साथ रुसी सेनाको सामना गरिरहेका छन् ।
     
    रुस पूर्वी युक्रेनको महत्त्वपूर्ण शहर चासिभ यार कब्जा गर्ने प्रयत्नमा छ । हालैका सातामा यो शहरनजिकै रुसले २५ हजारभन्दा बढी सैनिक तैनाथ गरेको छ । पश्चिमी सहयोग युक्रेनले हात पार्नुअघि नै सकेजति क्षेत्र कब्जा गर्ने कोसिसमा रुस छ । 
     
    हालै अमेरिकी सहायताको अनुमति पाए पनि गम्भीर प्रश्न छँदै छ, ‘त्यो सहयोगको बलमा युक्रेन कहिलेसम्म रुसविरुद्ध युद्ध लड्न सक्ला ?’ किनकि, अमेरिकी सहयोगबाट युक्रेन हतियारमा सशक्त हुनेछ । तर, हतियार मात्र होइन, युक्रेनलाई भारी मात्रामा सैनिक पनि चाहिएको छ ।

     

    प्रकाशित मिति :बैशाख २९ २०८१ शनिवार - ०६:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij