Logo

२०८२ फाल्गुण २३ गते शनिवार

२०८२ फाल्गुण २३ गते शनिवार

आज दिनभरको १२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

आज दिनभरको १२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्


  • 596
    Shares

    आज दिनभरको १२ खबर एकै ठाउँमाः छोटकरीमा पढ्नुहोस्

    १. काठमाडौं महानगरले अन्तर्राष्ट्रिय महिला दिवस मनाउने, महिला नेतृत्वका अनुभव साटासाट गरिने

    ११६ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर काठमाडौं महानगरपालिकाले महिला नेतृत्वका अनुभव, सिकाई र सङ्घर्षका विषयमा महिला विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले शुक्रवार आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिनुभएको हो । फागुन २४ गते राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनु भयो । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसको राष्ट्रिय नारा ‘महिला बालबालिकाका लागि अधिकार न्याय र कार्यसहितको अवसर’ तय भएको छ । यसै सन्दर्भमा महानगरले ‘पावर इन एक्सनः हर टाइम इज नाउ’ शिर्षकमा कार्यक्रम गर्न लागेको प्रवक्ता मानन्धरले बताउनु भयो । कार्यक्रमको उद्घाटन अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले गर्नुहुनेछ । 

    २. धनुषामा ३ मा मत णना जारी

    धनुषा निर्वाचन क्षत्रे नम्बर ३ मा मत गणना जारी छ । मत पेटिका ओसारपसारको काम सकिएसँगै सर्वदलीय बैठक बसेर मत गणना शुरु गरिएको हो । जसमा रास्वपाका उम्मेदवारको अग्रता कायम छ । धनुषा ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा, नेपाली काँग्रेसका विमलेन्द्र निधी र नेकपा एमालेबाट जुलीकुमारी महतो प्रतिष्पर्धामा हुनुहुन्छ । मतगणना स्थल बाहिर समर्थकहरूको बाक्लो उपस्थिति रहेको छ । 

    ३. निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयोः गृहमन्त्री अर्याल

    गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताउनुभएको छ । निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र विगतको भन्दा निकै गुणस्तरीय भएको दाबी गर्दै उहाँले यसले राजनीतिक सुशासनको नयाँ मानक स्थापित गरेको बताउनुभएको हो । गृहमन्त्री अर्यालकाअनुसार यदि निर्वाचन हुन नसकेको भए देश, मानवता र संविधान सबै गम्भीर जोखिममा पर्ने अवस्था थियो । यस पटकको निर्वाचनमा रगतको एक थोपा पनि नबगेको उल्लेख गर्दै उहाँले वर्तमान सरकार गठन भएदेखि नै राजनीतिक हिंसाको अन्त्य भएको दाबी गर्नुभयो । विगतका निर्वाचनहरूमा धेरै ठाउँमा झडपका कारण मतदान स्थगन गर्नुपर्ने र पुनः चुनाव गराउनुपर्ने बाध्यता रहे पनि यसपटक देशभर एकैचोटी शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यसलाई चुनावी सरकारको ठूलो सफलता मान्दै उहाँले अब राजनीतिक सुशासनका लागि नयाँ मानक तय भएको स्पष्ट पार्नुभयो । 

    ४. रञ्जु दर्शनाले जितेपछि समीक्षा भन्छिन्ः ‘वैकल्पिक राजनीति मूलधारमा आयो’

    काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार रञ्जु न्यौपाने फराकिलो मतान्तरसहित विजयी हुनुभएको छ । उहाँको जितसँगै रास्वपाकी नेतृ समीक्षा बाँस्कोटाले वैकल्पिक राजनीति औपचारिक रूपमै मूलधारको परिवर्तनकारी शक्तिमा रूपान्तरण भएको बताउनुभएको हो । मतगणनास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ बाँस्कोटाले १० वर्ष लामो वैकल्पिक राजनीतिको अभियानले आज सार्थकता पाएको बताउनु भयो । काठमाडौं–१ मा रास्वपाको ‘घण्टी’ चुनाव चिन्हमा १५ हजार ४ सय ५५ मत प्राप्त गर्दै रञ्जु न्यौपाने विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेस (रुख) ले ६ हजार ३ सय ६४ मत प्राप्त गरेको छ । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (हलो) ले ३ हजार ९ सय ६२ र नेकपा एमाले (सूर्य) ले १ हजार ६१८ मत प्राप्त गरेका छन् । 

    ५ विराजभक्तः श्रेष्ठ भन्छन्ः ‘४६ सालयताका सबै भ्रष्टाचारका फाइल खोल्छौँ’

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले २०४६ सालयताका सबै भ्रष्टाचार प्रकरणहरुको फाइल खोलेर देशलाई न्याय दिने उद्घोष गर्नुभएको छ । शुक्रवार विजयी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो उद्घोष गर्नुभएको हो । उहाँले आफ्नो जितलाई पदभन्दा पनि ठूलो जिम्मेवारीका रूपमा लिएको बताउनु भयो ।  निकटतम प्रतिद्वन्द्वीभन्दा अत्याधिक फराकिलो बढी मत ल्याएर विजयी हुनुभएका श्रेष्ठले यो जित सुशासन, भ्रष्टाचार अन्त्य र परिवर्तनको पक्षमा जनताले दिएको बलियो जनादेश भएको प्रस्ट पार्नुभयो । देशभर देखिएको रास्वपाको लहर र जनताको उत्साहजनक समर्थनबारे बोल्दै उहाँले यो आम नागरिकको परिवर्तनप्रतिको चाहना भएको बताउनु भयो । 

    ६. अमेरिकी सेनाले चाँडै इरानी हवाई क्षेत्रमा ‘पूर्ण प्रभुत्व कायम गर्छः ह्वाइट हाउस

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेविटले अमेरिकी सेनाले आगामी केही घण्टाभित्र इरानी हवाई क्षेत्रमा पूर्ण र समग्र प्रभुत्व कायम गर्ने बताउनुभएको छ । ह्वाइट हाउसको दैनिक प्रेस ब्रिफिङमा लेविटले अमेरिका आगामी केही घण्टामा इरानी हवाई क्षेत्रमा पूर्ण र समग्र प्रभुत्व कायम गर्ने अपेक्षा गरेको बताउनु भयो । उहाँले इरानमा अमेरिकी स्थल सेना पठाउने हाल कुनै योजना नरहेको बताउनु भयो । यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि भविष्यमा यो विकल्पका लागि आफू खुला रहेको बताउनुभएको थियो । यसअघि अमेरिकी रक्षामन्त्री पिट हेगसेथले पेन्टागनको ब्रिफिङमा इरानविरुद्धको अमेरिका–इजरायल सैन्य कारबाही अझै प्रारम्भिक चरणमै रहेको बताउनुभएको थियो । 

    ७. क्षेत्रीय तनावका बीच इरान सीमामा ठूलो आप्रवासनको तथ्यांकलाई टर्कीले अस्वीकार

    टर्कीको रक्षा मन्त्रालयले बिहीबार बढ्दो क्षेत्रीय तनावका बीच इरानबाट टर्कीको सीमातर्फ ठूलो आप्रवासन आन्दोलन भएको भन्ने सामाजिक सञ्जालको दाबीलाई खारेज गरेको छ । मन्त्रालयका प्रवक्ता जेकी अक्टुर्कले साप्ताहिक पत्रकार सम्मेलनमा इजरायल र अमेरिकाले इरानमाथि आक्रमण गरेपछि शुरु भएको घटनाक्रमको सिलसिलामा इरानबाट सीमातर्फ ठूलो आप्रवासन भइरहेको दाबी गर्नुभयो । टर्कीको सशस्त्र बलले क्षेत्रीय घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ । उहाँले सबै सम्भावित परिदृश्यहरूको लागि तयारी गरिरहेको बताउनु भयो । उहाँले जनतालाई गलत धारणाहरू सिर्जना गर्न डिजाइन गरिएको भ्रामक सामग्रीलाई विश्वास नगर्न आग्रह गर्नुभयो । इरानसँग लामो सिमाना जोडिएको नेटो सदस्य टर्की हाल प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टीसँग शान्ति प्रयासलाई अगाडि बढाउन केन्द्रित छ । 

    ८. चीनले सन् २०२६ को आर्थिक वृद्धि लक्ष्य ४.५ देखि ५ प्रतिशत तोक्यो

    बिहीवार देशको शिर्ष विधायिकामा छलफलका लागि प्रश्तुत गरिएको सरकारी कार्य प्रतिवेदन अनुसार चीनले सन् २०२६ का लागि ४.५ प्रतिशतदेखि ५ प्रतिशतसम्मको आर्थिक वृद्धिको लक्ष्य राखेको छ र व्यवहारमा अझ राम्रो नतिजा ल्याउन प्रयास गर्नेछ । १४ औं राष्ट्रिय जनकंग्रेस (एनपीसी) को चौथो अधिवेशनको उद्घाटन बैठकमा उक्त प्रतिवेदन प्रश्तुत गरिएको थियो । उद्घाटन बैठकमा, सांसदहरूले राष्ट्रिय आर्थिक तथा सामाजिक विकासका लागि १५ औं पञ्चवर्षीय योजना (२०२६–२०३०) को मस्यौदा रूपरेखाको परीक्षण गरेका थिए । एकपटक स्वीकृत भएपछि यस योजनाले चीनलाई यस दशकको अन्त्यसम्म मार्गदर्शन गर्नेछ । जसले शताब्दीको मध्यसम्ममा सबै पक्षमा एक महान आधुनिक समाजवादी देश निर्माण गर्ने देशको दीर्घकालीन लक्ष्यलाई अगाडि बढाउनेछ । 

    ९.ट्रम्पद्वारा गृहमन्त्री क्रिस्टी नोएम बर्खास्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गृहमन्त्री क्रिस्टी नोएमलाई बर्खास्त गर्नुभएको छ । नोएमको नेतृत्वलाई लिएर दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) मा असन्तुष्टि बढ्दै गएको बीचमा यो निर्णय आएको हो । ट्रम्पको दोस्रो कार्यकाल शुरु भएपछिको यो पहिलो क्याबिनेट हेरफेर हो । यो घोषणा अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपतिले नोएमलाई बर्खास्त गर्ने विचार गरिरहेको रिपोर्ट गरेलगत्तै आएको हो । मिनियापोलिसमा संघीय कानून प्रवर्तन अधिकारीहरूले दुई अमेरिकी नागरिकको गोली हानी हत्या गरेपछि नोएम दुवै दलको दबाबमा हुनुहुन्थ्यो । नोएमसँग पहिले नै रुष्ट रहनुभएका ट्रम्प यस हप्ता कंग्रेसनल सुनुवाईको क्रममा उहाँको प्रदर्शनबाट आक्रोशित हुनुभएको थियो । मिनियापोलिसमा दुई अमेरिकी नागरिकको गोली हानी हत्या भएपछि नोएमले हालैका हप्ताहरूमा बढ्दो दबाबको सामना गरिरहनुभएको थियो । 

    १०. हिजबुल्लाहको रकेट प्रहारपछि लेबनानमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो

    लेबनानको जनस्वास्थ्य मन्त्रालयअन्तर्गतको जनस्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएअनुसार पछिल्लो २४ घण्टामा लेबनानभर भएका इजरायली आक्रमणमा २० जनाको मृत्यु भएको छ । २८३ जना घाइते भएका छन् । यससँगै सोमबारयता मृत्यु हुनेको संख्या ७२ र घाइतेको संख्या ४३७ पुगेको छ । लेबनानी अधिकारीहरूले जारी गरेको तथ्याङ्कअनुसार यस द्वन्द्वले विस्थापनको लहर पनि निम्त्याएको छ । जसमा विस्थापित हुनेहरूको संख्या ८३ हजार ८४७ अर्थात् १८ हजार ३३ परिवार पुगेको छ ।

    ११. हिजबुल्लाहद्वारा प्रतिरोधको वाचा, इजरायली सैन्य लक्ष्यहरूमा आक्रमण गरेको दाबी

    हिजबुल्लाहका महासचिव नईम कासिमले समूहले इजरायलविरुद्ध आफ्नो प्रतिरोध जारी राख्ने बताउनुभएको छ । यस भिडन्तलाई अस्तित्वको रक्षाको रूपमा वर्णन गर्नुभएको छ । कासिमले एक टेलिभिजन भाषणमा हिजबुल्लाहले समूह र इजरायल बीचको युद्धविराम सम्झौताको पालना गरेको थियो । जबकि इजरायलले यसको कुनैपनि प्रावधानप्रति प्रतिवद्ध हुन असफल भयो । हिजबुल्लाहले इजरायल र संयुक्त राज्य अमेरिकाले इरानका सर्वोच्च नेता अली खामेनीको हत्या गरेको र बारम्बार इजरायली आक्रमणहरू भएको भन्दै इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो । त्यसपछि इजरायलले समूहविरुद्ध व्यापक आक्रमण शुरु ग¥यो र दक्षिणी लेबनानमा स्थल सेना पठायो । 

    १२. नागरिकको लागि सरकार छ भन्ने जिम्मेवारी महशुस गराउँछौँः उपसभापति अर्याल

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिनुभएको छ । पार्टीकी काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उम्मेदवार रञ्जु न्यौपानेलाई बधाई ज्ञापन गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । प्रारम्भिक मतगणनामा रास्वपाको पक्षमा लहर आएको भन्दै उहाँले अब मुलुकमा भ्रष्टाचारको अन्त्य गर्दै समृद्धि ल्याउनुपर्ने जिम्मेवारी समेत रास्वपाको काँधमा आइसकेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी सबै जना मिलेर यो देशमा समृद्धि ल्याउनुपर्नेछ, सुशासन कायम गर्नुपर्नेछ । भ्रष्टाचार अन्त्य गर्नुपर्नेछ । जनतालाई डेलिभरी र डेभलपमेन्टको महशुस गराउनुपर्नेछ र जनतालाई मेरो लागि सरकार छ भन्ने अनुभूति गराउने जिम्मेवारी रास्वपामा आउँदै गरेको छ । साथ र सहयोगको लागि सबै मतदातामा धेरै धेरै धन्यावाद ।’

    प्रकाशित मिति :फाल्गुण २२ २०८२ शुक्रवार - २०:४१:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij