Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

आज विश्व कुष्ठरोग दिवस, नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी

आज विश्व कुष्ठरोग दिवस, नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी


  • 2.1K
    Shares

    • images
    आज विश्व कुष्ठरोग दिवस,  नेपालमा २५ सयभन्दा बढी कुष्ठरोगका नयाँ बिरामी
    images

    काठमाडौं । ७१ औं विश्व कुष्ठरोग दिवस आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ ।

    ‘कुष्ठरोगसम्बन्धी गलत धारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौं’ भन्ने मूल नाराका साथ जनवरी २८ अर्थात् आज नेपालभर विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । 

    नेपालमा अघिल्लो आर्थिक वर्ष २५ सय जना बढीमा कुष्ठरोग देखिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आर्थिक वर्ष २०७९/८० मा २५ सय २२ जनामा कुष्ठरोग पुष्टि भएको हो ।

    कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सूक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।

    उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ ।

    स्वास्थ्य सेवा विभागका इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनी सुरुकै अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने बताउँछन् ।

    महाशाखाले विभिन्न सरकारी तथा गैरसरकारी निकायसँगको सहकार्यमा गरेको अध्ययनमा आर्थिक वर्ष २०८९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा रहेका छन् ।

    मधेश प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् ९४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क छ ।

    जिल्लाअनुसार हेर्दा कुष्ठरोगी बढी भएको जिल्लामा झापा, मोरङ, सिराहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, पर्सा, पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके र कैलाली रहेका छन् । नयाँ बिरामीमध्ये महिला बिरामीको सङ्ख्या एक हजार ४९, बालबालिकाको सङ्ख्या एक सय ८१ रहेको देखिन्छ ।

    विभागका कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख डा प्रशन्न नापित सरकारले कुष्ठरोगमुक्त नेपाल निर्माणका लागि ‘राष्ट्रिय कुष्ठरोग रणनीति २०७८-२०८२’ निर्माण गरी कार्यान्वयनमा लागेको बताउँछन् ।

    रणनीतिको मुख्य उद्देश्य नै प्रदेश, जिल्ला र स्थानीय तहबाट कुष्ठरोग निवारण गर्ने उनको भनाइ छ । पछिल्लो समय तराई र विशेषगरी मधेश प्रदेशमा कुष्ठरोगका बिरामीको सङ्ख्या बढी देखिएपछि विभिन्न सरकारी तथा गैरसरकारी संस्था त्यस प्रदेशप्रति लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

    सन् १९७५ देखि नेपालको कुष्ठरोग क्षेत्रमा काम गर्दै आएको एनआरएल नेपालले अहिले मधेश प्रदेशको महोत्तरी, सर्लाही र धनुषा जिल्लामा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

    एनआरएल नेपालले कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) कार्यक्रमअन्तर्गत महोत्तरी, सर्लाही र धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा कुष्ठरोगका बिरामीसँगका सम्पर्क व्यक्तिको पहिचान गर्नुका साथै उनीहरूलाई सचेतनामूलक कार्यक्रम तथा औषधि वितरण गर्दै आएको छ ।

    एनआरएल नेपालका कार्यकारी निर्देशक विकासमान सिंह कुष्ठरोगमुक्त नेपाल घोषणा गर्ने लक्ष्यका साथ एनआरएल नेपालले काम गर्दै आइरहेको बताउँछन् ।

    कार्यकारी निर्देशक सिंह धनुषा, सर्लाही र महोत्तरीमा कुष्ठरोगी र उनीहरूका सम्पर्क व्यक्तिको पहिचान गरी चार लाखभन्दा बढी व्यक्तिलाई औषधि वितरण गर्ने लक्ष्यका साथ एनआरएलले काम गरिरहेको बताउँछन् ।

    यसबाहेक एनएलआरले पूर्वको कोशी र पश्चिमको सुदूरपश्चिम प्रदेशमा समेत कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ । ‘एनआरएलले स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गरेर कुष्ठरोगी र उनीहरूको सम्पर्क व्यक्तिको पहिचान गरी औषधि प्रदान गर्दै आइरहेको छ’, सिंह भन्छन् ।

    कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको अर्को संस्था द ल्याप्रोसी मिसन नेपालले मधेश प्रदेशको बारा, पर्सा र रौतहटमा कुष्ठरोगको क्षेत्रमा काम गर्दै आएको छ ।

    मिसनले तीनवटै सरकारको सहकार्यमा कुष्ठरोग रोकथामको क्षेत्रमा तीन जिल्लामा काम गर्दै आएको उनले बताउँछन् ।यसबाहेक उक्त मिसनले ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित आनन्दवन अस्पतालसमेत सञ्चालन गरी कुष्ठरोग निवारणको क्षेत्रमा काम गर्दै आएको छ ।

     

     

    प्रकाशित मिति :माघ १४ २०८० आइतवार - ११:२८:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij