२०८२ फाल्गुण ४ गते सोमवार
काठमाडौं । मानिसहरू फलफूलभन्दा जुसलाई किन प्राथमिकता दिन्छन् ? यसका केही कारणहरू छन् । पहिलो कारण सुविधा नै हो । जुस तयार गर्न सजिलो हुन्छ ।
घरमा फ्रेश जुस बनाउनु वा बजारबाट प्याकेटेड जुस किन्नु दुवै छिटो र सहज छ । बच्चाहरू र व्यस्त व्यक्तिहरूका लागि यो आकर्षक विकल्प हो ।
कुन स्वास्थ्यको हिसाबले बढी स्वस्थकर ?
स्वास्थ्य अवस्थाअनुसार डाइट प्लान गर्दा फलफूल नै सेवन गर्नु फाइदाजनक हुने पोषणविद् बताउँछन् ।
‘जुस भन्दासिंगै फलफूल सेवन गर्नु नै बढी फाइदाजनक हुन्छ, किनकि यसले प्राकृतिक फाइबर र पूर्णपोषक तत्व प्रदान गर्छ, जसले दीर्घकालीन स्वास्थ्य लाभ दिन्छ’ ‘जुसलाई मात्र भर पर्नु हुँदैन ।’
फलफूल र जुसबीच मुख्य भिन्नता पोषणमा छ । जुस बनाउँदा फलफूलको फाइबर (रेशा) हराउँछ, जसले गर्दा यसको स्वास्थ्य लाभ घट्छ ।
एउटा लगभग १०० ग्रामको सिंगो स्याउमा करिब ५२ क्यालोरी र १४ ग्राम कार्बोहाइड्रेट हुन्छ । तर, एक गिलास स्याउको जुस बनाउन ३–४ वटा स्याउ चाहिन्छ, जसले गर्दा क्यालोरी १५०–२०० सम्म पुग्छ । यो कन्सन्ट्रेसनले जुसलाई उच्च ऊर्जा स्रोत बनाउँछ, तर फाइबर नहुँदा यो छिटो पचेर रगतमा सुगर बढाउँछ ।
सिंगो फलफूलमा फाइबर हुन्छ, जसले पाचन प्रक्रियालाई सुधार्छ, कब्जियत रोक्छ र कोलेस्टेरोल घटाउँछ । उदाहरणका लागि, एउटा सुन्तलामा ३–४ ग्राम फाइबर हुन्छ, तर जुसमा यो लगभग शून्य हुन्छ ।
विश्व स्वास्थ्य संगठनले दैनिक २५–३० ग्राम फाइबर सेवन सिफारिस गर्छ, जसलाई सिंगो फलफूलले पूरा गर्छ तर जुसले गर्दैन । फाइबरले खाएपछि अघाएको महसुस गराउँछ, जसले गर्दा अत्यधिक खाने इच्छा कम हुन्छ ।
जुसमा केही भिटामिन जस्तै भिटामिन सी रहन्छन्, तर जुस बनाउने प्रक्रियामा यी घट्छन् । सिंगो फलफूलमा भने यी तत्वहरू सुरक्षित रहन्छन् । सिंगो फलफूलको तुलनामा जुसमा भिटामिन सीको मात्रा २० देखि ३० प्रतिशत सम्म कम हुन्छ ।
पोषणविद् भट्टराईका अनुसार सिंगो फलफूल खाँदा फाइबरले सुगरको अवशोषण ढिलो बनाउँछ, जसले मधुमेह नियन्त्रणमा ठूलो मद्दत गर्छ ।
दुब्लो व्यक्तिका लागि जुस उपयोगी ?
जुस र फलफूलको सेवनले विभिन्न स्वास्थ्य अवस्थामा फरक प्रभाव पार्छ । दुब्लो व्यक्तिका लागि जुस उपयोगी हुन सक्छ, किनकि यसमा कन्सन्ट्रेटेड कार्बोहाइड्रेट र क्यालोरी धेरै हुन्छ ।
तौल बढाउने डाइट प्लानमा जुसलाई ‘स्वस्थ सुगर’ का रूपमा प्रयोग गर्न सकिन्छ । तर, मोटोपना वा वजन घटाउने व्यक्तिका लागि सिंगो फलफूल राम्रो छ, किनकि फाइबरले अघाएको महसुस गराउँछ र क्यालोरी कम हुन्छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij