Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

धनगढीको अपराजित यात्रा रोकियो, झापाको प्लेअफ सम्भावना कायमै

धनगढीको अपराजित यात्रा रोकियो, झापाको प्लेअफ सम्भावना कायमै


  • 2.3K
    Shares

    • images
    धनगढीको अपराजित यात्रा रोकियो, झापाको प्लेअफ सम्भावना कायमै
    images

    काठमाडौँ । धनगढी एफसीले जारी नेपाल सुपर लिग(एनएसएल) मा बुधवार झापा एफसीसँग हार व्यहोरेपछि अपराजित यात्रामा पनि पूर्णविराम लगाएको छ।

    दशरथ रंगशालामा प्लेअफमा स्थान बनाउन संघर्षरत झापासँग २–० को हार व्यहोरेसँगै धनगढीको अपराजित यात्रामा पूर्णविराम लागेको हो। झापाका लागि कप्तान अञ्जन बिष्ट र समिराज थोकरले गोल गरे।

    यो हारसँगै धनगढीको प्लेअफ यात्रा पनि कठिन बनेको छ। झापाले भने यो जितसँगै प्लेअफ यात्रा जीवन्त राखेको छ। सात खेलमा धनगढी १२ अंकसहित दोस्रो स्थानमा यथावत् छ। समान सात खेलमा झापा १० अंकसहित चौथो स्थानमा उक्लियो।

    अब धनगढीले अन्तिम खेलमा शुक्रबार शीर्ष स्थानको पोखरा थन्डर्ससँग खेल्नेछ। प्लेअफमा स्थान बनाउन धनगढीले कम्तीमा बराबरीको नतिजा निकाल्नुपर्नेछ। यता, झापाले भने एफसी चितवनसँग खेल्नेछ। झापाले भने प्लेअफमा स्थान बनाउन त्यो खेल जित्नैपर्नेछ।

    त्यसअघि खेलको पहिलो मिनेटमा नै झापाले सुन्दर अवसर सदुपयोग गर्न सकेन। होर्गे सान्चेजले १८ यार्ड बक्समा गरेको प्रयास विफल भएको हो। तेस्रो मिनेटमा धनगढीका अहमद हिजाजीको प्रहार आकासिँदा झापाको खतरा टरेको थियो। छैटौं मिनेटमा लेफ्ट साइडमा झापाका आवास लामिछानेले क्लियर गर्न नसकेको बललाई अभिषेकले नियन्त्रणमा लिँदै प्रहार गरे पनि झापाका गोलकिपर स्टेफन सुपिचले खतरा टारे।

    २०औं मिनेटमा गोलकिपर कुपिकले पुनः एकपटक टोलीको खतरा टारे। रामचन्द्र वाजीले मध्यभागबाट दिएको पास अघि बढाउँदै हिजाजीले पेनाल्टी बक्स बाहिरबाट गरेको सशक्त प्रहार झापाका गोलकिपर सुपिचले मुस्किलले बचाए। सुपिचबाट रिबाउन्ड आए पनि सुमित श्रेष्ठले क्लियर गरे।

    दुई मिनेटमा नै धनगढीका कमल श्रेष्ठको फ्रिकिक गोलकिपर सुपिचले मुस्किलले जोगाए। २४ औं मिनेटमा झापाले अर्को सुन्दर अवसर सदुपयोग गर्न सकेन। राइट साइडबाट लक्ष्मण रुचालको क्रस सान्चेजले नियन्त्रणमा राख्न नसक्दा झापाले अवसर खेर फाल्यो ।

    झापाका समान्डर ओचिलोभको २९औं मिनेटमा शसक्त फ्रिकिक पहिलो बार हुँदै बाहिरियो। झापाको अर्को उत्कृष्ट अवसरमा धनगढीका गोलकिपर मोहमद ताहाले पन्च गर्दै रोके। ४१ औं मिनेटमा सान्चेजले पेनाल्टी बक्समा डिफेन्डर देवेन्द्र तामाङलाई बिट गर्दै गरेको शसक्त प्रहार ताहाले उत्कृष्ट बचाउ गरेका हुन्। 

    त्यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो। झापाले ५४औं मिनेटमा गोल गर्दै अग्रता लियो। छिरिङ लामाले लेफ्ट साइडबाट गरेको क्रस बललाई झापाका कप्तान अन्जन विष्टले हेडरमार्पmत गोल गरे। धनगढीले ७० औं मिनेटमा फोडे फोफनाको हेडरबाट खेलमा फर्किने प्रयास सफल हुन सकेन।

    मिलन राईको क्रसमा फोडेको हेडर झापाका गोलकिपर सुपिचले बाहिर पठाइ दिए। झापाले ७७औं मिनेटमा अर्को गोल थप्दै अग्रता दोब्बर पार्‍यो। समिराज थोकरले सान्चेजको पासमा वान टच गर्दै गरेका हुन्। त्यसको दुई मिनेटपछि नै धीरज थतालीले रातो कार्ड खाएपछि झापा १० खेलाडीमा सीमित भयो।

    साइमन लिम्बूमाथि खराब ट्याकल गरेपछि उनले रातो कार्ड सामना गरेका हुन्। इन्जुरी समयको पहिलो मिनेटमा देवेन्द्रको फ्रिकिकले पोस्टको दिशा लिन सकेन। त्यसपछि थप गोल हुन नसकेपछि झापाले अपराजित धनगढीमाथि २–० को रबाफिलो जित निकाल्यो। यो नतिजासँगै जारी दोस्रो सिजन सबै टोलीले हार सामना गरेको छ।

    प्रकाशित मिति :पौष ५ २०८० बिहिवार - ०८:२८:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij