२०८२ फाल्गुण २९ गते शुक्रवार
काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गुणाकर भट्टले मध्यपूर्वी देशहरूमा देखिएको संकटले मुलुकको अर्थतन्त्रलाई प्रत्यक्ष रूपमा असर गर्ने बताएका छन्।
आर्थिक पत्रकार समाज (सेजन) ले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा द्वन्द्वका कारण कच्चा तेलको मूल्यवृद्धि भइरहेको र त्यसले नेपाली अर्थतन्त्रमा समेत प्रत्यक्ष असर गर्ने बताएका हुन्।
उनका अनुसार धेरै लामो समयसम्म द्वन्द्व रह्यो भने नेपालसहित विश्वभर नै जोखिम बढ्ने देखिन्छ। अन्तर्राष्ट्रिय अध्ययनहरूले देखाएअनुसार युद्धका कारण एक ब्यारल तेलको मूल्य १० प्रतिशतले बढेमा मुद्रास्फीति ०.४ प्रतिशतले बढ्छ। त्यसरी हेर्दा ०.१५ प्रतिशतले आर्थिक वृद्धि घट्ने अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।
उनका अनुसार द्वन्द्व लामो समय रहिरहे २५ प्रतिशतसम्म तेलको मूल्य बढ्ने खतरा छ। अहिले युद्धका कारण भारत, नेपाल लगायतका देशमा ग्यास होल्ड गर्ने प्रवृत्ति देखिएको छ। यसले विस्तारै अभाव बढ्न सक्ने उनले बताए।
युद्धका कारण खाद्यान्नदेखि ग्याससम्म जोहो गर्न मानिसहरू लाग्दा ती वस्तुको कृत्रिम अभाव खडा गर्न व्यवसायीहरू समेत लाग्न सक्ने भट्टले बताए। उनका अनुसार मुद्रास्फीति बढ्दा सबैभन्दा बढी असर तल्लो वर्गमा पर्छ। मूल्यवृद्धि भएलगत्तै गरिबी र आय असमानता बढ्ने खतरा रहेको उनले बताए।
उनले भने, “आर्थिक वृद्धि प्रभावित हुने जोखिम देखिएको छ। पुनर्निर्माणका काम थाल्ने भनिरहेका छौँ। लामो समयसम्म बजारमा पेट्रोलियम पदार्थको मूल्य कम रहेको अवस्था थियो भने अब त्यो अवस्था रहँदैन। अब पुनर्निर्माणका काम अघि बढाउन कठिन हुन्छ। कच्चा पदार्थ सहज रूपमा आपूर्ति गर्न सजिलो छैन। त्यसले निर्माणका काम प्रभावित हुन सक्छन्। सामान्य आर्थिक गतिविधि प्रभावित भएपछि मुलुकको आर्थिक वृद्धि पनि प्रभावित हुन्छ। भोलिका दिनमा यातायात, होलसेल र खुद्रा गतिविधि प्रभावित हुन थाल्नेछन्, जसले हाम्रो अर्थतन्त्रमा ठूलो योगदान दिएका छन्। युद्धबाट पर्यटन क्षेत्र पनि प्रभावित हुने देखिन्छ। आयात–निर्यात पनि प्रभावित हुन सक्छ।”
उनका अनुसार नेपालमा आउने मलमध्ये आधा हिस्सा मध्यपूर्वबाट आउने भएकाले त्यसको आयात प्रभावित भए कृषि उत्पादनमा असर पर्नेछ। कृषि, पर्यटनदेखि दैनिक आर्थिक गतिविधि प्रभावित हुँदा अर्थतन्त्रमा ठूलो संकट आउन सक्ने उनले बताए।
भट्टले द्वन्द्वका कारण मुलुकमा आउने रेमिट्यान्समा पनि गिरावट आउन सक्ने खतरा रहेको बताए। उनका अनुसार मध्यपूर्वी देशहरूमा मात्रै ४० प्रतिशत नेपाली कामदार कार्यरत छन्। उनीहरू प्रभावित भए रेमिट्यान्स घट्ने र आगामी दिनमा विदेशी मुद्रा सञ्चितिमा समेत गिरावट आउने खतरा रहेको उनले बताए।
विदेशी मुद्रा सञ्चिति कमजोर हुँदा आगामी दिनमा दातृ निकायहरूले पनि सहयोग गर्न हिच्किचाउन सक्ने अवस्था बन्न सक्ने उनले बताए।
युद्धका कारण वैदेशिक रोजगारी प्रभावित हुँदा नेपालमै रहने श्रमिकहरूको व्यवस्थापन ठूलो चुनौती बन्न सक्ने उनको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij