२०८२ भाद्र ६ गते शुक्रवार
ताइवान । ‘मनी मुल’ मार्फत ठगी गरेको आरोपमा हङकङका ३० वर्षीय युवक ताइवानमा पक्राउ परेका छन्। शुक्रबार ताइवानी मिडियामा आएका समाचारहरूका अनुसार, सोमबार (३१ जुलाई) ताइवानको बान्कियाओ जिल्लाको ताइपेइस्थित एक सुपरमार्केटमा एक महिला शंकास्पद गतिविधि गरिरहेकी भेटिइन्।
अधिकारीहरूलाई उनको गतिविधि शंकास्पद लागेपछि ती महिलालाई ‘फलो’ गर्न थाले। तर अचम्मको कुरा, जब अधिकारीहरूले उनलाई अवरोध गरे उनी त महिला नभई पुरुष पो रहेछन् !
लगत्तै उनी पक्राउ परे। ‘वोङ’ नाम गरेका उनीसँग आठवटा एटीएम कार्ड र ताइवान डलर (TWD) २३,६६० (लगभग ५,८१० हङकङ डलर) पनि बरामद भएको छ।
हङकङमा ब्युटिसियनको रूपमा काम गर्दा आफूले प्रायः महिलाको ड्रेस लगाउने गरेकोले आफूलाई यही कपडा लगाउन सहज लागेको उनले बताएका थिए। अनुसन्धानका क्रममा वोङ ‘मनी लाउन्ड्रिङ’ मा संलग्न रहेको पाइएको छ। उनी यसभन्दा अघि पनि यस्तै प्रकारका अपराधमा पक्राउ परिसकेका थिए।
यसअघि पक्राउ पर्दा उनलाई अर्को प्रतिवेदन नआएसम्म देश छोड्न नपाउने गरी जिल्ला अभियोजक कार्यालयको रोहबरमा छोडिएको थियो। यद्यपि उनले आफ्नो धन्दा छोडेनन् र प्रतिदिन ४ हजार हङकङ डलरसम्मको कारोबार जारी राखे।
३१ जुलाईमा पक्राउ परेका उनलाई सम्पत्ति शुद्धिकरण तथा ठगीको आरोपमा ‘एन्टी–मनी लाउन्ड्रिङ ल’ अन्तर्गत मुद्दा चलाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij