२०८२ फाल्गुण २३ गते शनिवार
१. हाम्रो कुटनीति ‘विकास कुटनीति’ हुनेछ, लगानीकर्ताले नेताको आश्रय लिनुपर्दैनः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा बन्ने सरकारले असंलग्न परराष्ट्र नीतिलाई कडाइका साथ कार्यान्वयन गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त पार्दै उहाँले रास्वपाको कुटनीति अब ‘डेभलपमेन्ट डिप्लोमेसी’ (विकास कूटनीति) मा केन्द्रित हुने प्रष्ट पार्नुभएको हो । चितवनमा आयोजित धन्यवाद सभामा बोल्दै लामिछानेले सन्तुलित र एक अर्काप्रति पारस्परिक सम्मानपूर्वक परराष्ट्र नीतिमा अडिग रहने बताउनु भयो । लामिछानेले देशको निजी क्षेत्र र उद्योगी व्यवसायीहरुलाई अब राजनीतिक दल र नेताहरुको चाकडी गर्नुपर्ने दिनको अन्त्य भएको दाबी गर्नुभयो । स्वदेशमा लगानी गर्ने वातावरण बनाउन रास्वपाले विशेष नीति ल्याउने र त्यसले लगानीकर्ताको पूर्ण रक्षा गर्ने उहाँले दाबी गर्नुभयो ।
२. रास्वपाले विजय ¥याली नगर्ने, जितको उन्मादमा विपक्षीलाई गालीगलौज नगर्न कार्यकर्तालाई लामिछानेको निर्देशन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा प्राप्त ऐतिहासिक सफलतालाई उत्सवभन्दा पनि जिम्मेवारीका रुपमा लिएको बताउनुभएको छ । शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कुनैपनि विजय ¥याली र जुलुस नगर्ने घोषणा गर्नुभयो । चितवनका जनतालाई धन्यवाद दिँदै उहाँले अबको समय नाच्ने र गाउने भन्दा पनि काम गर्ने भएको बताउनु भयो । उहाँले आफ्ना नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई उच्च राजनीतिक संस्कार देखाउन निर्देशन दिनुभयो । जितको उन्मादमा विपक्षी दल वा फरक विचार राख्नेहरुलाई होच्याउने वा अपशब्द बोल्ने काम नगर्न उहाँले सचेत गराउनु भयो ।
३. रास्वपामा विधिको शासन हुन्छ, प्रहरी र प्रशासनलाई पार्टीले चलाउने दिन गएः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अब देशमा विधिको शासन कायम हुने बताउनुभएको छ । शनिवार चितवन क्षेत्र नम्बर २ बाट विजयी भएपछि मतदातालाई धन्यवाद दिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रहरी प्रशासनलाई पार्टीले चलाउने परम्पराको अन्त्य हुने उद्घोष गर्नुभयो । सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले जितेपछि कर्मचारी र प्रशासनलाई तर्साउने काम नहुने स्पष्ट पार्नुभयो । उहाँले कानून सबैका लागि बराबर हुने भन्दै रास्वपाका नेता कार्यकर्तालाई पनि आम नागरिक सरह नै नियम लागू हुने बताउनु भयो । आफूहरुले कसैसँग प्रतिशोध नलिने तर पुराना बेथितिको हिसाव भने पक्कै लिने उहाँको भनाइ छ । लामिछानेले आफ्ना शत्रु कुनै पनि राजनीतिक दल वा नेता नभएको प्रष्ट पार्नुभयो ।
४. निर्वाचन पराजयको सम्पूर्ण दोष बोक्न तयार छु, रास्वपाको उदय हाम्रै कमजोरीको परिणामः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पार्टीले भोगेको पराजयको जिम्मेवारी आफूले लिन तयार रहेको बताउनुभएको छ । निर्वाचनको परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मुलुकको नेतृत्व गर्नेगरी जनमत दिएको स्वीकार गर्दै शर्माले काँग्रेस लगायतका मूलधारका दलहरूप्रति जनताको विश्वास किन गुम्दै गयो भन्ने विषयमा गम्भीर समीक्षा हुने बताउनुभएको हो । उहाँले तत्कालीन महामन्त्री र हालको नेतृत्वको रूपमा पार्टीलाई रूपान्तरण गर्न नसकेको कमजोरी आफूले स्वीकार गर्ने स्पष्ट पार्नुभयो । शर्माले निर्वाचनमा सामेल भएर लोकतन्त्रलाई बलियो बनाउन मतदान गर्ने सम्पूर्ण मतदातालाई काँग्रेस पार्टीको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
५. कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरि मतपेटिकामा खसालेः आयोग
प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तिब्रता दिएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म देशभरबाट समानुपातिकतर्फ करिव ३ लाख मतगणना सम्पन्न भइसकेको छ । शनिवार न्युज एजेन्सी नेपालसँगको कुरकानीमा अयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका क्रममा कति मत बदर भयो भन्ने विषय आम चासोको विषय भएको बताउनु भयो । अझै मत गणना गर्न बाँकी रहेकाले अहिले नै बदर मतको यकिन तथ्याङ्क दिन नसकिने स्पष्ट पार्नुभयो । जिसीले अहिले छिटपुट रूपमा बदर मतका विवरणहरू आइरहेको भएपनि एकमुष्ट तथ्याङ्क आउन बाँकी रहेको बताउनु भयो ।
६. अब काँग्रेस नियमित महाधिवेशनमा जुट्छ, सरकारलाई राम्रो काममा सघाउँछौँः विश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने बताउनुभएको छ । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले छिट्टै केन्द्रिय कार्यसमितिको बैठक बसेर पराजयको बुँदा–बुँदामा समीक्षा गरिने जानकारी दिनुभयो । उहाँले काँग्रेसका समर्थक, शुभेच्छुक र सदस्यहरूलाई संयमता र परिपक्वताका साथ एकतामा बाँधिन आग्रह गर्नुभयो । विगतमा मुलुकले व्यहोरेका अनेकौं प्रतिकूलतालाई चिर्न सफल काँग्रेसले आफ्नै प्रतिकूलतालाई पनि सजिलै चिर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एकआपसलाई आरोप लगाइराखेर भन्दा पनि एक्यवद्ध र वस्तुगत भएर समीक्षा गरेर आगामी दिनको यात्रा तय गर्नुछ । केन्द्रिय समितिमा रहेका, नरहेका, निवर्तमान नेतृत्व र अलग नेतृत्व सबैसँग सल्लाह र समीक्षा गर्नेछौँ । नेपाली काँग्रेस पार्टीले यो प्रतिकूलतालाई चिन्नेछ, एकतावद्ध भएर सामना गर्नेछ र नयाँ सम्भावनाको विकास गर्नेछ । अब बन्ने सरकारले गर्ने राम्रा काममा साथ दिनेछ, कमजोरीहरूमा खबरदारी गर्नेछ र नेपाली काँग्रेस पार्टी नवीन ढंगले अगाडि आउनेछ ।’
७. २०७९ निर्वाचनले नै ‘खतराको साइरन’ बजाएको थियो, हामीले बुझेनौँ र बदलिन सकेनौँ’ः विश्वप्रकाश
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले २०७९ को निर्वाचनले नै मूलधारका दलहरूलाई ‘खतराको साइरन’ बजाइसकेको भएपनि त्यसलाई बुझ्न र आफूलाई बदल्न नसक्दा अहिलेको परिणाम भोग्नुपरेको बताउनुभएको छ । शनिवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले फागुन २१ को निर्वाचन परिणामलाई मात्रै हेरेर समीक्षा गर्दा अधुरो हुने बताउनुभएको हो । उहाँकाअनुसार त्यो बेलाको जनमतले दलहरूलाई ‘नेतृत्व बदल, सरकार बदल, शैली बदल’ भन्ने प्रष्ट सन्देश दिएको बताउनु भयो । दलहरूले आफूलाई रूपान्तरण गर्न नसकेकै मौका छोपेर नागरिकको असन्तुष्टिलाई मतमा बदल्न नयाँ दलको जन्म भएको उहाँको विश्लेषण छ । स्थानीय निर्वाचनलगत्तै खुलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ६ महिनामै प्रत्यक्षतर्फ ७ र समग्रमा २१–२२ सिट जितेर संसदमा पुग्नु सोही असन्तुष्टिको परिणाम भएको उहाँले बताउनु भयो ।
८. ‘जेन–जी’ पुस्ताको परिवर्तनको भोकलाई काँग्रेसले सम्बोधन गर्न सकेन, पपुलिजमलाई चिर्न चुक्यौँः उपसभापति शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको बताउनुभएको छ । नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर काँग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको उहाँले स्वीकार गर्नुभएको हो । जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको शुरुवात काँग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उहाँको भनाइ छ । रास्वपाले देशमा निराशा मात्रै छ र आफूहरू आएपछि सबै कुरा गर्न सकिन्छ भनेर स्थापित गर्न खोजेको लोकरिझ्याँइको भाष्यलाई चिर्न नसक्नु काँग्रेसको अर्को ठूलो कमजोरी भएको शर्माले बताउनु भयो ।
९.जेन–जी आन्दोलनको मर्म अनुसार काम गर्नेछुः उत्तमप्रसाद पौडेल
कास्की निर्वाचन क्षेत्र नम्बर २ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित उत्तमप्रसाद पौडेलले जेन–जी आन्दोलनको मर्मअनुसार काम गर्ने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिने क्रममा उहाँले निर्वाचनले दिएको म्याण्डेटलाई नेपाली जनता र देशको हितमा प्रयोग गर्ने बताउनु भयो । उहाँले देशलाई निकास दिनुपर्ने आजको आवश्यक्ता औँल्याउँदै सबै पक्षलाई समेटेर लैजाने प्रतिवद्धता जनाउनु भयो । आफूलाई मत दिने र नदिने सबैको प्रतिनिधित्व हुनेगरी काम गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘जित हार फरक कुरा हो, तर देशलाई निकास दिनुपर्ने आजको आवश्यक्ता रहेको छ । यो जटिल परिस्थितिमा जेनजी आन्दोलन पछि जुन हिसावको निर्वाचन भयो, यो निर्वाचनले दिएको म्याण्डेड के हो ? त्यसको मर्म के हो भन्ने हिसावले काम गर्ने र आम नेपाली नागरिक र नेपालको पक्षमा काम गर्नेगरि काम गर्नेछु, मतदान गर्नेलाई धन्यवाद दिन चाहन्छु, जसले मतदान गर्नुभएन, उहाँहरुको पनि प्रतिनिधित्व हुनेगरी अब आउने ५ वर्ष काम गर्ने प्रतिवद्धता जनाउँछु ।’
१०. मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आईतवार साँझसम्म मतपरिणाम आईसक्ने
प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगकाअनुसार मुगु जिल्ला बाहेक अन्य ७६ जिल्लामा मतगणना भइरहेको हो । मतपेटिका ढुवानीमा देखिएको समस्याका कारण मुगुमा भने मतगणना कार्य शुरु गर्न ढिलाई भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जी.सी. ले जानकारी दिनुभयो । उहाँकाअनुसार भौगोलिक विकटताका कारण मुगुमा मतपेटिका ढुवानी शनिवार विहान मात्रै सकिएको हो । हाल सर्वदलीय बैठक बसेको र अपरान्ह ४ बजेदेखि मतगणना सुचारु हुने जानकारी प्राप्त भएको उहाँले जानकारी दिनुभयो । यस्तै, सङ्खुवासभा र गोरखा जिल्लाका मतपेटिका पनि शनिवार बिहान मात्र हेलिकप्टरमार्फत ढुवानी गरिएको उहाँले जानकारी दिनुभयो । ती दुवै जिल्लामा अहिले मतगणना शुरु भइसकेको उहाँले बताउनु भयो । आयोगकाअनुसार मतगणनासँगै परिणाम आउने क्रम पनि जारी रहेको छ । हालसम्म आयोगको प्रणालीमा ५४ जिल्लाको मतपरिणाम प्राप्त भइसकेको उहाँले जानकारी दिनुभयो ।
११. हामी काम गर्छौं भनेर आएका छौँ, काम नै हाम्रो आवाज होः विना गुरुङ
कास्की निर्वाचन क्षेत्र नम्बर ३ वाट राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विना गुरुङले आफू राजनीतिक लाभका लागि नभई जनताको सेवा गर्न आएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित भएको प्रमाणपत्र लिएपछि उहाँले गाउँबस्तीमा पुग्दा देखिएका आमाबुबाको पीडा र आँशु पुछ्ने जिम्मेवारी आफूले महशुस गरेको बताउनु भयो । उहाँले मतदाताले दिएको निवेदन र समस्यासम्बन्धी पत्रहरू व्यवस्थित रूपमा फाइलिङ गरेर राखेको जानकारी दिनुभयो । ती सबै निवेदनहरुलाई अध्ययन गरेर जनताको आवाजलाई सदनमा उठाउने बताउनु भयो । गुरुङले आफूहरू काम गर्नकै लागि निर्वाचित भएर आएको उल्लेख गर्दै विकास र परिणाममुखी कामलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भयो ।
१२. अमेरिका–इजरायल हवाई आक्रमणमा १ हजार ३३२ इरानी नागरिकको मृत्यु
अमेरिका र इजरायलले गरेको हवाई आक्रमणमा १ हजार ३ सय ३२ इरानी नागरिक मारिएका छन् । हजारौं घाइते भएका छन् । न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुक्रवार पत्रकारहरूसँग कुरा गर्दै इरानका राष्ट्रसंघीय राजदुतले सो जानकारी दिनुभएको हो । अमेरिका र इजरायली शासनले इरान र इरानी जनतामाथि निरन्तर र बिना रोकटोक क्रुर तथा व्यापक आक्रमण गरिरहेका उनीहरुको आरोप छ । घना बस्ती भएका आवासीय क्षेत्रहरू र महत्वपूर्ण नागरिक पूर्वाधारहरूलाई जानाजानी लक्षित गरिएको छ । यी कार्यहरू स्पष्ट रूपमा युद्ध अपराध र मानवता विरोधी अपराध हुन् ।
१३. इरान विरुद्धको अमेरिकी–इजरायली सैन्य कारबाही असाधारण गल्तीः स्पेनका प्रधानमन्त्री
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले शुक्रवार इरान विरुद्धको अमेरिकी–इजरायली सैन्य कारबाहीलाई एक असाधारण गल्ती भएको बताउनुभएको छ । साथै, हाल जारी हवाई आक्रमणमा अमेरिकालाई आफ्नो देशका सैन्य आधारहरू प्रयोग गर्न अनुमति नदिएकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको आलोचनालाई पनि उहाँले अस्वीकार गर्नुभयो । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँगको भेटका क्रममा सान्चेजले यो युद्ध एक असाधारण गल्ती भएको र जसको मूल्य आफूहरुले चुकाउनुपर्ने बताउनु भयो । उहाँले यो द्वन्द्वका कारण बजारमा मूल्यवृद्धि शुरु भइसकेको समेत उल्लेख गर्नुभयो ।
१४. मध्यपूर्वको द्वन्द्वका बीच सम्भावित ऊर्जा जोखिमलाई लिएर दक्षिण कोरियाद्वारा शतर्कता जारी
मध्यपूर्वमा बढ्दो तनावले विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पु¥याउनसक्ने चिन्ता व्यक्त गर्दै दक्षिण कोरियाली सरकारले बिहीवार आफ्नो स्रोत सुरक्षा अनुगमन प्रणाली अन्तर्गत शतर्कता जारी गरेको छ । व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले कच्चा तेल र ग्यासको लागि चिन्ता स्तरको शतर्कता जारी गरेको छ । मन्त्रालयले यो कदम अनुगमन र पूर्वतयारीलाई बलियो बनाउने उद्देश्यले चालिएको एक पूर्व–सावधानीको उपाय भएको बताएको छ । विशेष गरी दक्षिण कोरिया मध्यपूर्वबाट आयात हुने तेल र ग्यासमा धेरै निर्भर छ । अधिकारीहरूले ऊर्जा आयातमा तत्काल कुनै अवरोध नआएको बताएका छन् । तर सरकारले यस क्षेत्रका घटनाक्रमहरूलाई नजिकबाट नियाल्नेछ र सम्बन्धित निकाय तथा कम्पनीहरूसँग समन्वय गर्नेछ । मध्यपूर्वको अस्थिरताले सिपिङ मार्ग वा ऊर्जा बजारलाई असर गरेमा प्रारम्भिक प्रतिक्रिया दिन सक्षम बनाउने उद्देश्यले यो शतर्कता जारी गरिएको मन्त्रालयले जनाएको छ ।
१५. लेबनानको सिडोनमा इजरायली हवाई आक्रमणः ५ जनाको मृत्यु, ७ घाइते
लेबनानको स्वास्थ्य मन्त्रालयकाअनुसार शुक्रवार दक्षिणी लेबनानी सहर सिडोनलाई लक्षित गरी गरिएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु भएको छ । अन्य सात जना घाइते भएका छन् । मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रले एक विज्ञप्ति जारी गर्दै हताहतीको यो प्रारम्भिक विवरण सार्वजनिक गरेको हो । यसअघि शुक्रबार लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले सिडोनस्थित अल–सिद्धिक मस्जिद नजिकै रहेको मकसेद भवनको माथिल्लो तला मुनिको भागलाई इजरायली युद्धक विमानले निशाना बनाएको जानकारी दिएको थियो । आक्रमण लगत्तै एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए । क्षतिको पूर्ण विवरण र मृतकहरूको पहिचान अझै आधिकारिक रूपमा पुष्टि हुन बाँकी छ । यसैबीच, इजरायली सेनाले बेरुतको दक्षिणी उपनगरहरूमा अर्को चरणको आक्रमण शुरु गरेको बताएको छ ।
१६. संयुक्त राष्ट्रसंघका प्रमुखको चेतावनीः मध्यपूर्वको अवस्था नियन्त्रण बाहिर जानसक्छ
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार मध्यपूर्वको अवस्था कसैको नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिनुभएको छ । मध्यपूर्वको बारेमा एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघका प्रमुखले अब लडाइँ रोक्ने र गम्भीर कूटनीतिक वार्तामा लाग्ने बेला आएको महासचिवको भनाइ उद्धृत गर्दै उहाँका प्रवक्ता स्टेफेन दुजारिकबले बताउनु भयो । महासचिवले अवस्था नियन्त्रण बाहिर जान सक्ने बताउनु भयो । उहाँले अब लडाइँ रोक्ने र गम्भीर कूटनीतिक वार्तामा लाग्ने बेला आएको बताउनु भयो ।
१७. पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम रास्वपाको पक्षमा आइरहेका बेला प्रवक्ता झाले आवश्यकता भन्दा बढी उत्साहित नभई त्यसलाई देशको समस्या समाधान गर्ने जिम्मेवारीको रुपमा बुझेर अघि बढ्न सिंगो पार्टी पंक्तिलाई आह्वान गर्नुभएको हो । धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदमा भारी मतले निर्वाचित भएलगत्तै उहाँले सञ्चारकर्मीमाझ मतदाताले आफूहरुलाई विश्वास गरेकाले उनीहरुलाई निराश हुन नदिने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । प्रवक्ता झाले आफू र आफन्तका लागि नभई देशका लागि राजनीति गर्न आएकाले त्यसमा सुधार हुँदै जाने कुरामा शंका गरिरहनु नपर्ने जिकिर समेत गर्नुभयो ।
१८. रास्वपाले जनताको युगौं युगदेखिको समस्या समाधान हुनेगरी काम गर्छः सोविता गौतम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले आफ्नो पार्टी नेतृत्वको नेपाली जनताको युगौँ युगदेखिको समस्या समाधान हुनेगरी काम गर्ने बताउनुभएको छ । चितवन क्षेत्र नम्बर ३ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएलगत्तै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नेतृ गौतमले आफ्नो पार्टीले अव सरकार बनाउने र मुलुक निर्माणको अभियानमा केन्द्रित भएर काम गर्ने समेत आश्वासन दिनुभयो । नेतृ गौतमले नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेर निर्वाचित गराएको उल्लेख गर्दै सोही विश्वासको आधारमा काम गर्ने समेत बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब धेरै बोल्ने समय छैन । अव सरकार निर्माण गर्ने र नेपाली जनताको मुद्दा समाधान गरेर युगौयुगसम्म पनि नेपाली जनताले अव गुनासो गर्नु नपर्नेगरी नेपाली समाज निर्माणमा प्रतिवद्ध रहने काम हुनेछ । अब संसद भवनमा गएर नेपाली जनताले अब समस्या भोग्नु नपर्ने गरी देश बनाउन म अगाडि बढ्नेछु ।’
–न्युज एजेन्सी नेपाल
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij