२०८२ भाद्र ९ गते सोमवार
आशिष चौधरीको निर्णायक गोलमा पाकिस्तानविरुद्ध जित निकाल्दै नेपालले साफ च्याम्पियनसिपमा सुखद अन्त्य गरेको छ। भारतको बैग्लोरस्थित श्री कान्तिरभा स्टेडियममा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको हो।
साफमा नेपालले पाकिस्तानलाई सन् २००८ मा हराएको थियो। नेपालले पाकिस्तानलाई १५ वर्षपछि हराएको हो। जितसँगै नेपालले अंकतालिकामा ३ अंक जाेड्दै तेस्रो स्थानमा रहेर साफको यात्रा अन्त्य गरेको छ। पाकिस्तान भने जीतविहीन भयो।
नेपालको जितमा खेलको ८० औं मिनेटमा आशिषले गरेको गोल नै निर्णायक बन्यो। आशिषले डिबक्स बाहिरबाट गरेको शसक्त प्रहारलाई पाकिस्तानका गोलरक्षकले रोक्नै कुनै मौका पाएनन्। राष्ट्रिय टोलीमा आशिषको यो डेब्यू गोल हो।
एक खेल अगावै समूह चरणबाट बाहिरिसकेका नेपाल र पाकिस्तान आजको खेलमा प्रतिष्ठाका लागि लडेका थिए।पहिलो हाफमा पाकिस्तानलाई केही दबाबमा राखेको नेपालले गोल गर्ने सुन्दर मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेन। पाकिस्तानका खेलाडीले विमल घर्तिमगरलाई पेनाल्टी डिबक्स एरिया नजिक फाउल गरेपछि रेफ्रिले नेपाललाई फ्रिकीकको अवसर दिएको थियो।
खेलको १३ औं मिनेटमा विमलको फ्री-किक पोष्टको माथिबाट बाहिरिँदा नेपालले अग्रता बनाउने मौका गुमायो। यसअघि शनिबार भारतसँग भएको खेलमा भने नेपाल २-० ले पराजित भएको थियो। समूह चरणको पहिलो खेलमा कुवेतसँग ३-१ को हार ब्यहोरेको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij