Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

गर्मीको औषधि : सातु र कागती पानीको सर्वत – डा.अरुणा उप्रेती 

गर्मीको औषधि : सातु र कागती पानीको सर्वत – डा.अरुणा उप्रेती 


  • 3.4K
    Shares

    • images
    गर्मीको औषधि : सातु र कागती पानीको सर्वत – डा.अरुणा उप्रेती 
    images

    काठमाडौँ । अक्षय तृतीयाले सिकाएको सातु र कागतीको सर्वतको महत्त्व बुझेर वर्षैभरि प्रयोग गरे भिटामिनको चक्की खान जरुरत पर्दैन । सानो छँदा अक्षय तृतीयामा सातु र सर्वत खान ठुलीआमा, सानीआमा, फुपू, काकीहरू कहाँ जान्थ्यौं । सातु र सर्वतले पेट भरिएपछि भातै खाइँदैनथ्यो । 

    त्यसबेला थाहै थिएन, हामीले त अति स्वस्थकर सातु र भिटामिनले भरिपूर्ण कागतीको सर्वत पो खाँदा रहेछौं । मलाई याद छ, गिँजाबाट रगत निस्कँदा हजुुरआमा कागती–पानी खानुहुन्थ्यो । 

    अमलाको सानो–सानो टुक्रा चुसिरहनुहुन्थ्यो । हजुरआमाको भान्छामा अमला सधैं हुन्थ्यो । त्यो बेला अमला बारीमा पाइन्थ्यो । अमला खाएर पानी पिए रगत बढ्छ भन्ने गरिन्थ्यो । अमला खाएपछि पानी पिउँदा गुलियो हुने भएकाले हामी खान्थ्यौं पनि । 

    बजारमा किन्दा पनि १० पैसाको २, ३ वटा अमला पाइन्थ्यो । अमला खाँदा भिटामिन सी पाइन्छ र यसले रोगसँंग लड्ने शक्ति बढाउँछ भन्ने वैज्ञानिक ज्ञान नभए पनि स्वास्थ्य राम्रो पार्छ भन्नेचाहिँ बज्यैलाई थाहा रहेछ ।

    बज्यै भन्नुहुन्थ्यो, ‘कागती, अदुवा र अमला भएको घरमा रोग पस्न पाउँदैन ।’अहिले हामी सबैको भान्छामा कागती, अदुवा र अमला पाइए पनि यसको राम्रोसँंग प्रयोग गर्नचाहिँ सकिएको छैन वा जानिएको छैन । 

    गर्मी लाग्यो, अब सबैले मानव स्वास्थ्यलाई खराब पार्ने, मुटुको रोग लगाउने, मोटो पार्ने चिसो पेय पदार्थ वा बजारमा राखिएको फलफूलको बिग्रेको रस खान सुरु गर्छन् । 

    साना–साना बालबालिकालाई पनि माया गरेर यस्ता वस्तु दिन्छन् । आमाबुबालाई थाहा हुँदैन कि उनीहरूले यस्तो पेय पदार्थ दिँदा महंँगो तर बालबालिकालाई ‘मन्दविष’ दिइरहेका छन् । 

    यस्ता मातापितालाई म भन्छु– अब गर्मी लागेको छ, साना नानीलाई साँच्ची नै माया गर्नुहुन्छ भने कागतीको सर्वत बनाएर, सातुसंँग खान दिनुस्, पुदिनाको अचार दिनुस्, अमला खान दिनुस् ।

    वैद्य पसलमा पाइने त्रिफलाको एउटा महत्त्वपूर्ण तत्त्व अमला हो । त्रिफला कब्जियत कम गर्नका लागि काम लाग्छ । कतिजनाले त्रिफला भिजाएर पनि प्रयोग गर्छन् । त्रिफलाले शरीरको रोग प्रतिरोध शक्ति बढाउँछ । 

    धेरैले सुनेको च्यावनप्राशको एक महत्त्वपूर्ण तत्त्व पनि अमला हो । अमला र कागती दुबैमा रहेको भिटामिन सी नष्ट नहोस् भनेर चाहिँ विचार गर्नैपर्छ ।

    धेरै तातोले भिटामिन सी नष्ट गर्छ । त्यसैले लेमन टी बनाउँदा, चिया बनाएर गिलासमा हालेर मात्र कागती निचोर्नु उत्तम हुन्छ । अमलालाई पनि सकेसम्म धेरै नपकाएर नै खानु वेश हुन्छ । 

    सजिलो उम्रिने र पाइने पुदिना (बाबरी) पनि एक उत्तम औषधी हो । ‘पुदिना हरा’ किनेर पेटको गडबडी ठिक पार्नेहरूले बारीको पुदिना किन प्रयोग नगर्ने ?

    धनियाँ र पुदिना पिसेर अचार बनाउँदा स्वास्थ्य र स्वाद दुवै पाइन्छ । गर्मीमा पुदिनाको चिया खान सकिन्छ । सहजै तरिकाले पाइने र गर्मीमा शीतलता दिने वस्तु अक्षय तृतीयाको दिन सुरु गरेर वर्षैभरि प्रयोग गरौं ।

    garmi ko medicine nibu.jpg

    प्रकाशित मिति :आषाढ ३ २०८० आइतवार - १०:३७:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij