२०८२ भाद्र २४ गते मंगलवार
काठमाडौँ । चौथो ओएस नेपाल म्यूजिक अवार्ड २०८० का उत्कृष्ट पाँचमा पर्न सफल २७५ जना कलाकर्मीहरूलाई प्रमाणपत्र वितरण गरिएको छ । नेपाली गीत, संगीत हाम्रो उच्च सम्मान भन्ने मूल नारासहित शनिबार राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहबिच कलाकारहरूलाई अवार्ड वितरण गरिएको हो ।
कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी तथा काठमाडौँ प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीसमेतको उपस्थिति रहेको थियो । सो अवसरमा बोल्दै मन्त्री मोदीले कलाकारहरू देशको गहना भएको र कलाकारिताको निरन्तर साधना गरेमा सफलता धेरै टाढा नभएको बताए । उनले उत्कृष्ट ५ मा पर्न सफल कलाकर्मीहरूलाई जितको शुभकामना समेत दिए ।
आफु २९ वर्षकै उमेरमा जनप्रतिनिधिका रूपमा चयन हुँदा युवा जोस जाँगर र उर्जा भरिएको र अहिले युवाहरूमा कलाकारिताप्रतिको उत्साह देख्दा खुशी लाग्ने उनले बताए ।
सम्बोधनका क्रममा उनले कलाकारहरूले देशको इज्जत राख्ने र इतिहास बोक्ने क्षेत्र भएका कारण तन मन दिएर यो क्षेत्रमा लाग्न सबैलाई आग्रह समेत गरेका छन् । विवेक कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बरिष्ठ गायक तथा हाल जिल्ला समन्वय समिति ललितपुरमा जिल्ला समन्वय अधिकारीको रुपमा कार्यरत दिनेश थानी, साहित्यकार सुरेन्द्र मर्हजन अमर, उपन्यासकार संघका अध्यक्ष शंकर भारती, आइटी इञ्जिनियर बिबेक श्रेष्ठ, चलचित्रका निर्देशक अमृतमान मर्हजन, लगायतको उपस्थिती रहेको थियो ।
सांस्कृतिक कार्यक्रमका लागि सहयोगीका रूपमा सुनिलस्मृति गाउँपालिका, कञ्चन गाउँपालिका, गल्याङ नगरपालिका, लुङग्री गाउँपालिका, ओमसतिया गाउँपालिका, सरावल गाउँपालिका, तिलोत्तमा नगरपालिका, पोखरा महानगरपालिका, माण्डवी गाउँपालिका रहेका छन् ।
आयोजक विवेक कार्कीले नेपाली संगीत उद्योगको पक्षमा आफू सधैँ उभिने , कलाकारको आयस्रोत बढाउन सहयोग गर्ने र नेपाली कलाकारलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता व्यक्त गर्दै विविधता र संस्कृतिको मूल्य मान्यता बोकेको नेपाली संगीतको संरक्षण र सम्बर्द्धनमा हामी सदैव प्रतिबद्ध रहेको आयोजक विवेक कार्कीले बताए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij