२०८२ फाल्गुण २३ गते शनिवार
विश्वको सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सकी लुसिल रान्दोँको ११८ वर्षको उमेरमा मृत्यु भएको छ। सिस्टर आन्द्रे नामबाट चिनिने उनको तुलोँस्थित नर्सिङ होममा मृत्यु भएको हो।
दक्षिणी फ्रान्समा १९०४ मा जन्मिएकी उनले दुई महायुद्ध झेलिन्। जिन्दगीको धेरैजसो समय उनले क्याथोलिक धर्मका लागि अर्पण गरिन्। सिस्टर आन्द्रेको जीवनकालमा फ्रान्समा २७ राष्ट्रप्रमुख फेरिए।
निकटस्थहरुका अनुसार उनी आफ्ना दुई दाजुभाइलाई अत्यन्त माया गर्थिन्। पहिलो विश्वयुद्धमा गएका दुवै जीवित फर्केकोमा उनी चकित थिइन्।‘यो दुर्लभ कुरा थियो,’ उनले भनेकी थिइन्, ‘किनभने सामान्यतः हरेक परिवारमा दुई जीवितभन्दा दुई मृतक हुन्थे।’
गत वर्षको अप्रिलमा एक अन्तर्वार्तामा उनले भनेकी थिइन्, ‘कामले ज्यान लिन्छ भन्छन् मान्छेहरु। तर, मलाई कामले जीवित राख्यो। १०८ वर्षसम्म मैले काम गरिरहेँ।’
पछिल्ला वर्षहरुमा ह्विलचेयरमा बस्ने र आँखा नदेख्ने भए पनि वृद्धहरुको स्याहार गरिरहन्थिन्। उनले हेरचाह गरेका कतिपय उनीभन्दा धेरै कान्छा थिए।
विश्वकै सबैभन्दा वृद्ध व्यक्ति रहेकी जापानकी ११९ वर्षकी काना तानाकाको मृत्युपछि गत वर्ष उनको नाम गिनिज वर्ल्ड रेकर्डमा दर्ज भएको थियो।
२०२१ मा कोभिड निको हुने सबैभन्दा वृद्ध व्यक्तिका नाममा पनि उनले कीर्तिमान राखेकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij