Logo

२०७९ आषाढ १३ गते सोमवार

images

बेमौसममा छचल्किएका रित्ता गाग्रीहरू

बेमौसममा छचल्किएका रित्ता गाग्रीहरू

माधव घिमिरे 'अटल'

१३ जेठ २०७९
  • 1.4K
    SHARES
  • images
    बेमौसममा छचल्किएका रित्ता गाग्रीहरू
    images

    चुनावको रन्कोले रन्थनिएको राजनीति शनै:शनै: शान्त अवस्थामा अवतरित हुँदैछ यतिखेर । गठबन्धनलाई ठगबन्धन करार गरेकाहरू एकाएक गायब बनेका छन् । चुनाव नौ दलीय अदृश्य वा अस्पष्ट गठबन्धन तथा पाँच दलीय प्रतिगमन विरोधी लोकतान्त्रिक गठबन्धनबीच प्रतिष्ठाको लडाइँ थियो । यसमा पनि मूलतः नेपाली कङ्ग्रेस र एमालेबीच नै कडा प्रतिस्पर्धा तथा टक्कर थियो किनकि एमालेका नजरमाअन्य दल भुसुनासरह थिए । सदाचार र सुशासनको कोमल पञ्जाभित्र भ्रष्टाचार र पाखण्डलाई प्रश्रय दिने अहङ्कारीको पक्ष लिने वा राज्यलाई संवैधानिक लिकमा ल्याउनेहरूलाई हाइहाइ गर्ने ? मूल सवाल यही थियो । निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टी आए पनि भिड्न सक्ने दम्भलाई धूलीसात पार्दै लगभग तुरिएको छ, यसपालिको स्थानीय तहको निर्वाचन । 'हरूवा गोरुको छेरूवा दाउ' भनेझैँ चुनावमा हत्या, हिंसा, डर-त्रास र अनियमितताका कारण आफ्नो पराजय भएको भन्ने हुङ्कार छ विजितहरूको ।

    थपिएका ३५ लाख मतदाताले टुक्कालाई लालमोहर त लगाएनन् लगाएनन्, अनेक पार्टी परित्याग गरी एमाले बनेका झुण्डले मात्रै मत दिएका भए पनि एमालेलाई आधासरो सिट जित्न कुनै हम्मे पर्दैनथ्यो । गठबन्धनलाई ज्योतिषको भय देखाउनेदेखि परमादेशी, परिवारवादमा लिप्त आदि इत्यादि सत्तोसराप गर्दै कलङ्कित गर्ने काम जमेरै भएको थियो । 'कम्मल ओढेर घिउ खाने' सिलसिलामा भ्रष्ट भनी डामिएकाहरूसँग गला मिलाउँदा समेत नौ दलीय रामपन्थी गठबन्धनले खासै लछारपाटो लगाउन नसकेको जनमतले प्रस्ट्याइसकेको छ । सीमापारको सीता खाएर सीमावारिकालाई पत्थर बर्साउनेदेखि अदालतले भ्रष्टाचारी ठहर गरेका पात्र एवम् प्रवृत्तिहरूसँग गठजोड गर्दा पनि ओली अभीप्सा अधुरै रह्यो । धुलोमा मिल्छन् भनेकाहरूले नै उल्टो धुलो चटाइदिए यती र ओम्नीका सारथिहरूलाई । टनको ढक केजीमा झर्यो र केजीका ढकहरू टन बन्ने मार्गतिर उन्मुख भए । र,भयो- के सोचेँ मैले, के भयो अहिले •••••••• !

    महानगरमा नतिजा शून्य हात लागेपछि र उपमहानगरमा अप्रत्याशित टाक्सिएपछि धाँधली र राज्यशक्तिको दुरुपयोग गरी हराइएको भन्ने बाहेक केही वहाना बाँकी रहेन अदृश्य गठबन्धनलाई ! साई पनि एमाले, मै पनि एमाले ••••••, सूर्य चिह्न फरर, एमालेको लहर-आयो एमाले भन्दै एउटा राजनीतिका बिद्रुप पात्रलाई देवत्वकरण गरेका किन्तु कर्णप्रिय सङ्गीत भरेका र काल्पनिक शब्दजालले ओतप्रोत गीतले पनि खासै आकर्षित गर्न सकेन उल्लेख्य जनमत । त्यसो त कथित लोकतान्त्रिक गठबन्धनले पनि खासै गर्व गर्ने कुनै ठाउँ राखेन । पदका निम्ति सिद्धान्त, आचरण सबै दाउमा राख्दा समेत एक तिहाइभन्दा बेसी सीटमा गठबन्धन कामयावी बनेन । पहिलो कुरा त गठबन्धनभित्रैका शक्तिलाई परास्त गर्न दुश्मनसँग साँठगाँठ गर्ने अकर्म मज्जैले बाहिरियो भने गठबन्धन भनेकै स्थानमा समेत मूल पार्टीका कार्यकर्ता र समर्थकले गठबन्धनमा धोकाधडी गरेको यत्रतत्र छरपस्टियो, एकाध ठाउँलाई अपवाद मान्ने हो भने पनि ।

    जुनकुनै हालतमा राष्ट्र निर्माण गर्छु र मेवाका निम्ति भन्दा सेवाका निम्ति राजनीति गर्छु भन्नेहरूको त चुनाव लड्न सक्ने सामर्थ्य तथा माहोल नै थिएन भने उम्मेदवारीका टिकट यातायातका साधनको टिकटझैँ बिक्री भएका घटनाहरू छ्याङ्छ्याङ्ती भए । अपवादलाई छाड्ने हो भने घात, प्रतिघात र अन्तर्घातबाट कुनै दल र गुट अछुतो रहन सकेन । पार्टीले गठबन्धन गर्ने र गुटले वागी उठाउने काम बग्रेल्ती भए । उम्मेदवारी दर्ता हुने अन्तिम घडीसम्म भएको पाँच दलीय गठबन्धनको माथापच्चीले जनता र स्वयम् हुनेवाला उम्मेदवार रन्थनिइरहे । मतदातालाई प्रशिक्षण गर्न नसक्दा सदर भन्दा बदर मतको सङ्ख्या अधिक भयो । पार्टी अनुशासन उल्लङ्घनका घटनाले त सीमा नै नाघ्यो । आफूले टिकट नपाए आफ्नै पार्टी हराउने र दुश्मनसँग गला मिलाउने खालका आँखा नै बिझाउने उपक्रम असङ्ख्य गोचर भए । संसदीय राजनीति कति फोहोरी खेल रहेछ र पदका लागि कतिसम्म निकृष्टता प्रदर्शन हुनसक्दोरहेछ भन्ने पुनर्पुष्टि पनि भयो सम्पन्न स्थानीय तहको चुनावमा । राज्यसत्ता विप्लव गर्न हिँडेका विप्लवहरूको सक्कली सामर्थ्य पनि प्रकट भयो यसपटक । यतिमात्र होइन, मैदानी भू:भागलाई अलग राष्ट्र बनाउने अभियन्ताको खास हैसियत पनि छर्लङ्ग भयो । अधिकांश ठूला दलका नेता भएका पालिकामा उनीहरूको दललाई उपविजेता बनाएर खाँटी सवक पनि सिकाए मतदाताले ।

    विक्षिप्त बर्बराहटलाई लालमोहर लगाएनन् र लट्ठिएनन् नक्कली चास्नीमा चोपिएका नाराले । बरू राजनीति नै नगरी समाज सेवा गरेका वा आफ्नो प्राविधिक विशिष्टता भएका एकाध स्वतन्त्र उम्मेदवारलाई अनुमोदित गरेर गतिछाडा बन्दै गएको राजनीतिलाई एकाध ठाउँमा ललकारे सचेत सहरी मतदाताले । थुतुनो जोगाउन शालीन सवक सिकाए भने परिवारवादको झ्याँको झारे । समाजसेवीलाई कुर्सीमा विराजमान गराए र दुच्छरलाई दम्भको घोडाबाट खसालिदिए । जातका नाममा, धर्मका नाममा, समुदायका नाममा तर मार्न पल्केका ढाडे बिरालालाई वास्तविक जनाकाङ्क्षा बुझाए । यी सबै सकारात्मकताका बाबजुद त्याग, बलिदान,सौर्य र समर्पण राजनीतिमा गौण पक्ष हुन् भनी स्थापित गर्न खोजिएका जब्बर मान्यता भने भावी दिनका निमित्त निकै महङ्गा र जोखिमपूर्ण सावित हुनेछन् । आइन्दा एउटा क्षेत्रमा ख्याति कमाई राजनीतिमा हाम फाल्ने उपक्रम ह्वातै बढ्नेछ र आइकन बनी जनसेवालाई प्राथमिकता दिन्छु भन्नेहरू एकाएक नेतृत्वमा उदाउने झिनो सम्भावना विकास भएको छ । दलीय प्रणालीलाई अवश्यमेव निम्छरो पार्नेछन् यस्ता अभ्यासले एकातिर भने अर्कातिर जेलनेलको सावाँब्याज उठाउनेहरूविरुद्ध शालीन विद्रोह सावित पनि हुनसक्छन् यी । जेहोस् आगामी दिनमा राजनीति धेरथोर सङ्लिने दिशातर्फ नै उन्मुख होला भनेर विश्वस्त हुने ठाउँ भने यथेष्ट छ ।

    images
    प्रकाशित मिति :जेठ १३ २०७९ शुक्रवार - ०९:३३:५८ बजे

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार