Logo

२०८२ कार्तिक १४ गते शुक्रवार

२०८२ कार्तिक १४ गते शुक्रवार

रुस-युक्रेन युद्ध आठौं दिनमा प्रवेश, के-के हुँदैछ ?

रुस-युक्रेन युद्ध आठौं दिनमा प्रवेश, के-के हुँदैछ ?


  • 6.7K
    Shares

    रुस-युक्रेन युद्ध आठौं दिनमा प्रवेश, के-के हुँदैछ ?
    images

    रुसले युक्रेनमाथि गरेको आक्रमणको आज आठ दिन पुगेको छ । आठौं दिनमा भएका प्रमुख घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ । 

    अन्तर्राष्ट्रिय फौजदारी अदालतले युक्रेनमा युद्धअपराध भएको हुन सक्ने भन्दै अनुसन्धान थालेको छ । त्यसका लागि उसले प्रमाण पनि जुटाउन थालेको छ । 

    ३८ वटा मुलुकले युक्रेनमा भएका ज्यादतीका विषयमा औपचारिक रूपमा अदालतलाई जानकारी दिएका छन् । अदालतको इतिहासमा यो सबभन्दा ठूलो संख्याको जानकारी हो । 

    रुसले कृष्ण सागरमा रहेको रणनीतिक रूपमा महत्त्वपूर्ण शहर खेर्सोन नियन्त्रणमा लिएको दाबी गरेको छ । अमेरिकी गुप्तचर निकाय तथा युक्रेनी अधिकारीहरूले यसको खण्डन गरेका छन् । 

    तर फेसबूकमा एउटा पोस्ट गर्दै खेर्सनका मेयर इगोर कोलीखाइएभले नगर परिषदमा सशस्त्र बाहिरियाहरू रहेको बताए । 

    अजोभ सागरको महत्त्वपूर्ण बन्दरगाह शहर मारिउपोललाई रुसी सैनिकहरूले घेराबन्दी गरेका छन् । त्यहाँका मेयरले बताए, ‘हामीले घाइतेहरूलाई सडक र घरबाट उपचारका लागि लग्न पनि सकेनौं किनकि गोलीको वर्षा रोकिएको छैन ।’

    युक्रेनको राजधानी किएभमा रुसी सुरक्षाबलहरूले आक्रमण बढाएपछि भारी मात्रामा गोलीको वर्षा भइरहेको छ । रुसीहरूले किएभलाई घेराबन्दी गरिरहेका छन् । 

    रुसका प्याराट्रूपरहरू युक्रेनको दोस्रो ठूलो शहर खार्किभमा ओर्लेका छन् । त्यहाँ कैयौं दिनदेखि बमवर्षा गरिँदा दर्जनौं नागरिक मारिएका वा घाइते भएका छन् । 

    बुधवार थप चारजना मारिएको स्थानीय अधिकारीहरूले बताए । शहर अझै पनि आफूहरूको नियन्त्रणमा रहेको उनीहरूको दाबी छ ।

    युक्रेनको आपतकालीन सेवाका अनुसार, आक्रमण शुरू भएयता ३५० जना युक्रेनी सर्वसाधारणको ज्यान गएको छ भने २ हजारजना घाइते भएका छन् । सयौं यातायात संरचना, अस्पताल, किन्डरगार्टन र घरहरू ध्वस्त भएका छन् । 

    आक्रमणको पहिलो ६ दिनमा लगभग ७ हजार रुसी सैनिक मारिएको युक्रेनले दाबी गरेको छ । रुसको रक्षा मन्त्रालयले चाहिँ युक्रेनमा ४९८ जना रुसी सैनिक मारिएको जानकारी दिएको छ । 

    संयुक्त राष्ट्रसंघको साधारणसभाले युक्रेनमाथि रुसको आक्रमणलाई बहुमतले निन्दा गरेको छ र रुसलाई तत्कालै आफ्ना सैनिक फिर्ता बोलाउन भनेको छ । बुधवार १९३ सदस्यमध्ये १४१ ले निन्दा प्रस्तावको पक्षमा मत दिए । मतदानमा ३५ सदस्य अनुपस्थित रहे । रुस, बेलारुस, सिरिया, उत्तर कोरिया र इरिट्रियाले विपक्षमा मत दिए । 

    बिहीवार रुस र युक्रेनबीच दोस्रो चरणको वार्ता गरिने सम्भावना छ । सम्झौता वार्तामा संलग्न रुसका एक अधिकारीले युद्धविरामका विषयमा पनि कुरा गरिने बताएका छन् । 


     

    प्रकाशित मिति :फाल्गुण १९ २०७८ बिहिवार - ११:१५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij